‘मानवअधिकार कार्यान्वयनमा सरकार जिम्मेवार हुनुपर्छ’

साझाकुरा
२०८० श्रावण २१, आईतवार ११:३५

हेटौंडा-अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)को आयोजनामा मानवअधिकार तथा महिलाअधिकारको दुई दिने तालिम समापन भएको छ ।मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका–१९ का स्थानीय महिला तथा पुरुषलाई मानवअधिकार, महिलाअधिकार तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम १९ साउन शुक्रबारबाट सुरु भएको थियो ।

जिल्ला अदालत मकवानपुरका न्यायधीश ऋषिराम निरौलाले मानवअधिकारको बारेमा आफ्नो अनुभव बताए । उनले दोधार भएका कुराहरु बारे स्पष्ट हुनुपर्ने र तालिममा सिकेका कुरालाई पनि सिकाउन आग्रह समेत गरेका छन् । तालिम प्राप्तिपछि कार्यान्वयनका लागि स्थानीय तहमा गएर समूहमा थप छलफल गर्नुपर्ने, आयआर्जनका लागि केही वस्तु र सामग्री मागेर नभई सीप र ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सके दिगो रुपमा र स्थायित्व कायम हुनेनिरौलाले उल्लेख गरे ।

तालिममा इन्सेकका महासचिव डा.रघुनाथ अधिकारीले लैगिंक समानताको मध्यनजर गर्दै सबै कार्यक्रममा महिलाको पनि सहभागिता हुन जरुरी रहेको बताए । अवसर र पहुँचको अभावका कारण अझै पनि महिला, दलित र विपन्न वर्ग अधिकारको पहुँचबाट पिछडिएको महासचिव डा. अधिकारीले सुनाए । बञ्चित रहेका वर्गलाई विकासको मूल प्रवाहिकरणसँगै मानवअधिकारमैत्री विकास हुनुपर्नेमा जोड दिए । आर्थिक उन्नयन बिना मानवअधिकार प्राप्त हुन नसक्ने हुँदा सचेतना शिक्षाका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने उनको भनाई छ ।

राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले नागरिक अधिकार र राजनीतिक अधिकारको साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विकासमा सचेत रहनुपर्नेमा जोड दिए । मानवअधिकारको विकासमा सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुने उनको भनाइ छ । मानवअधिकार अराजकता होइन, यसमा अधिकारसँगै कर्तव्य पनि निर्वाह रहने उनले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष नरनाथ सुवेदीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरुको उपलब्धी, सिकाई, चुनौती र दिगोपनका विषय निकै महत्वपूर्ण रहेको बताए । मानवअधिकार उल्लंघनको विषय सबैले वडा कार्यालयमा जानकारी गराएमा यसको कानुन बनाउन र कार्यन्वयन गर्न सजिलो हुने सुवेदीको भनाई छ । मनहरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रकाश थापाले मानवअधिकारको कुरामा सबैले जानकारी लिनु उपयुक्त रहेको बताए ।

अधिकारको साथसाथै शिक्षा, स्वास्थ्य र सामाजिक कुरामा पनि ध्यान दिनुपर्नेमा उनले बताए । हरेक तालिममा महिलाको साथसाथै पुरुषलाई पनि सहभागी गराउन सकेमा दुवैले समान रुपमा मानवअधिकार बारे बुझ्न पाउने उनको आग्रह थियो । मनहरी–१ का वडाध्यक्ष शिवप्रसाद खनालले हरेक कुरामा अगाडि बढ्न आफैंमा सक्षम बन्न जरुरी रहेको बताए । महिलाअधिकारको तालिममा पुरुषलाई पनि सहभागी गराउनु पर्नेमा खनालले जोड दिएका छन् ।

तालिममा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानवअधिकारलाई सुदृढ बनाउनको लागि मानवअधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिका लागि मानवअधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारहरुसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरु गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताए । डब्लुपिडिकी फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईंले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण गर्नको लागि महिला र पुरुष दुवै समन्वय र सहकार्य गर्दै महिलालाई आयआर्जनमूलक कार्यमा आफैं आत्मनिर्भर हुनुपर्ने बताएकी छन् ।

इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानवअधिकार समूहका सदस्यलाई दिइएको यस तालिमले स्थानीयस्तरमा हुने मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाको पहिचान गर्न सहज हुने बताए । यस्तै, स्थानीय पालिका मानवअधिकारमैत्री बन्नुपर्नेमा उनले जोड दिए । संयोजक भण्डारीले वडामा आयआर्जनमा आवद्ध महिला समूहलाई मानवअधिकार महिला अधिकार घरेलुहिंसाको पहिचान न्याय प्रक्रियामा पहुँच र नेतृत्व विकासको पाटोमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*