च्यालेन्ज कप फुटबलः एनजेजेवाईसीको विजयी सुरुवात
हेटौंडा- हेटौंडा स्पोर्टस् मुण्डियालको आयोजनामा सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमरा (एनजेजेवाईसी) ले विजयी सुरुवात गरेको छ । हेटौंडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबलाई सडनडेथमा ७–६ गोलले हराउँदै नवजागृतिले विजयी सुरुवात गरेको हो ।
निर्धारित खेल समय २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट भएको हो । जितसंगै नवजनजागृति प्रतियोगिताको क्वाटरफाइलमा प्रवेश गरेको छ । नव जनजागृति सेमिफाइलन प्रवेशका लागि मंसिर ८ गते वीरगञ्ज स्पोर्ट्स एकेडेमीसंग प्रतिस्पर्धा गर्नेछ ।बुधबार दुई खेल हुनेछ । पहिलो खेल बिहान १० बजे रिगल हेटौंडा रिसोर्ट र थाहा नगरपालिकाबीच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे न्यू डाँफे युथ क्बल र पदमपोखरी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधाग रुपमा उत्कृष्ट हुने पाँच जना खेलाडी तथा प्रशिक्षकलाई नगद ५÷५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा मकवानपुरका ११ सहित १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मङ्सिर १३ गते हुनेछ ।