भाइस गर्भनरमा अधिकारीको उमेद्वारी घोषणा

साझाकुरा
२०८१ चैत्र ९, आईतवार १२:४४

हेटौंडा-लायन्स क्लब अफ हेटौंडाका पूर्वअध्यक्ष एमजेएफ लायन सुदर्शनप्रसाद अधिकारीलाई लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका लागि सेकेण्ड भाइस गर्भनर पदका लागि सर्वसम्मत उम्मेदवार घोषणा गरिएको छ ।शनिबार एरिया–२ का एरिया चिफ किसन घिसिङको अध्यक्षतामा बसेको बैठकले एरिया–२ बाट अधिकारीलाई एकल उम्मेदवारको रुपमा सर्वसम्मत समर्थन प्रदान गरेको हो । प्रारम्भमा एरिया–२ बाट तीनजना आकांक्षी रहेका भएपनि अंकिता सुमार्गी र जेपी यादवले अधिकारीलाई समर्थन गर्दै मार्ग प्रशस्त गरेका थिए ।

बैठकमा जेपी यादवले अधिकारीको प्रस्तावकको भूमिका निभाए भने अंकिता सुमार्गी समर्थकका रुपमा रहे । बैठकमा लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका पूर्वगभर्नर एमजेएफ लायन शम्भु नकर्मी, गभर्नर तासीडोल्मा तुम्बाहाङफे, सचिव गौरी चिमरियालगायत विभिन्न अध्यक्ष, पदाधिकारी र सदस्यको उल्लेखनीय उपस्थिति थियो ।

अध्यक्ष घिसिङको नेतृत्वमा अधिकारीलाई खादा र मालापहिरन गर्दै सबैले आउँदो वैशाख ६ गते हुने जिल्ला अधिवेशनमा सफलताको शुभकामना व्यक्त गरे । अधिकारीले आफूलाई एकल उम्मेद्वार चयन गरेकोमा धन्यवाद व्यक्त गर्दै भने, ‘लामो समयदेखि लायन्स क्लबमा निरन्तर क्रियाशील छु । गाउँदेखि सहरसम्म सामाजिक सेवाका विभिन्न अभियानमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छु । तपाईंहरुको विश्वास र समर्थनले मलाई अझ जिम्मेवार बनाएको छ । मेरो अनुभव र समर्पणलाई उत्कृष्ट काममार्फत् प्रमाणित गर्नेछु ।’

वैशाख ६ गते हुने अधिवेशनमा सबैलाई सहभागी भई मतदान गर्न अनुरोध गर्दै आफूलाई भारी मतले विजयी गराउन उनले अपिल गरे । अधिकारीले नेपालमा लायनवादलाई अझ सशक्त बनाउन दृढ प्रतिबद्धता व्यक्त गर्दै आफू चुनावी मैदानमा उत्रिएको बताए । लायन्स क्लब इन्टरनेशनल ३२५ एसअन्तर्गत पर्ने हेटौंडा क्षेत्र (एरिया–२) बाट आगामी लायनेष्टिक वर्ष २०२५÷२०२६ का लागि सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा अधिकारीको उम्मेदवारीलाई लायन्स क्लब अफ हेटौंडाले सर्वसम्मत समर्थन गरेको हो । नेपालकै चौथो क्लबको रुपमा स्थापित लायन्स क्लब अफ हेटौंडाले लामो समयपछि यो पदमा उम्मेदवारी दिने अवसर पाएको अध्यक्ष तुल्सी रिजालले जानकारी गराए ।

अधिकारीको व्यक्तिगत पहलमा हेटौंडा–९ कर्रामा लायन्स प्राकृतिक चिकित्सालय भवन निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष रिजालले जानकारी गराएका छन् । अधिकारीले आगामी दिनमा लायन्स क्लब ३२५ एस डिस्ट्रिक्टको नेतृत्व गर्दै सामाजिक सेवामा नयाँ आयाम स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*