हेटौंडा बसपार्क नजिक सेनेटरी प्याड भेन्डिङ मेसिन जडान

साझाकुरा
२०८२ पुष ३, बिहीबार १३:१५

हेटौंडा-किशोरी तथा महिलाको स्वास्थ्य र सम्मानित महिनावारी व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हेटौंडा जेसीजले सार्वजनिकस्थानमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । जेसीआई हेटौंडाको पहलमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क नजिक रहेको सामुदायिक प्रहरी सेवा उपकेन्द्र परिसरमा मेसिन जडान गर्दै निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको हो ।

कार्यक्रमका प्रमुखअतिथि सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडाका प्रमुख प्रदीप कँडेलले सार्वजनिकस्थलमा यस्ता सुविधाको विस्तारले आकस्मिक अवस्थामा महिलालाई सहजता प्रदान गर्ने भन्दै यसले महिनावारी सम्बन्धी लाज र संकोच कम गर्न सहयोग पुग्ने बताए । जेसीआई हेटौंडाका कार्यक्रमसंयोजक जेसी राहुल दासले यात्रुको चहलपहल बढी हुने स्थानमा आवश्यक सामग्री सजिलै उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरिएको जानकारी दिए ।

उनका अनुसार यो अभियान महिलामैत्री समाज निर्माण तर्फको सानो तर, प्रभावकारी कदम हो । मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२० का शाखाअध्यक्ष राजेन्द्र बानियाँ, जेसीजका पदाधिकारी, सामुदायिक प्रहरी सेवा उपकेन्द्रका प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । जेसीआई हेटौंडाका महासचिव सञ्जकुमार न्यौपानेका अनुसार करिब ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड भेन्डिङ मेसिन तथा प्याड सामुदायिक प्रहरी सेवा उपकेन्द्रलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहभागीले महिलाको स्वास्थ्य, सुरक्षा र गरिमासँग जोडिएका यस्ता सामाजिक पहललाई अन्य सार्वजनिक स्थानसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*