विकास र सुशासनलाई जोड दिँदै गौतमको प्रतिबद्धतापत्र सार्वजनिक
हेटौंडा-नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार बिजय गौतमले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गौतमले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनले प्रतिबद्धतापत्रमा भौतिक पूर्वाधार, सुशासन, कृषि, स्वास्थ्य, पर्यटनलगायत विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् । ग्रेटर हेटौंडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने, हेटौंडा उपमहानगरलाई महानगरपालिका बनाउन प्रयत्न गर्ने, कर्रा र राप्ती खोलामा करिडोर निर्माण गरी यातायात सेवा सुचारु गर्ने उनको प्रतिबद्धता रहेको छ । राजमार्ग ऐन अन्तर्गत हेटौंडा नगरको विस्तार गर्दा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्न पहल गर्ने उल्लेख गरिएको छ ।
‘राईगाउँ–क्यान्टिन मोटर बाटो, निजगढ–दोभान–फापरबारी–ललितपुर हुँदै काठमाडौँ जाने बाटो, शहिद रुद्र मार्ग कान्तिलोकपथ जोड्ने मोटर बाटो निर्माणलाई प्राथमिकता दिएको छु’ गौतमले भने, ‘टोलदेखि वडा कार्यालय, वडा कार्यालयदेखि पािलका केन्द्र जोड्ने बाटोलाई विशेष जोड दिनेछु ।’ त्यसैगरी, हेटौंडा–गढी–बकैया–बागमती जोड्ने सडकको स्तरोन्नति गर्न पहल गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच, सबै वडामा इन्टरनेट सेवा विस्तार र एकीकृत नमुना बस्ती विकास कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिइने बताइएको छ ।
यसैगरी गौतमले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासनका लागि खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डिजिटल सेवा विस्तार, ई–सेवा प्रणाली सुदृढीकरण तथा जनप्रतिनिधि– जनता प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन् । त्यसैगरी उनले प्रतिबद्धता पत्रमा आधुनिक कृषिप्रविधि, सिचाई सुविधा विस्तार गरी उत्पादन बृद्धि गर्ने उल्लेख गरेका छन् । गढी, बकैया, बागमती र हेटौडाका विभिन्न क्षेत्रमा व्यावसायिक कृषि जोन विकास, सिँचाइ सुविधा विस्तार र पशुपालन प्रवद्र्धनमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।
हेटौंडा औद्योगिक क्षेत्र विस्तार, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन र युवालाई सहुलियत ऋणमार्फत उद्यमशीलता विकास गर्ने योजना अघि सारिएको छ । पर्यटनतर्फ ऐतिहासिक मकवानपुरगढी दरबार संरक्षण, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन, होमस्टे विकास र आन्तरिक पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । गुणस्तरीय सामुदायिक विद्यालय, प्राविधिक तथा सीपमूलक शिक्षाकेन्द्र स्थापना र विपन्न वर्गका लागि छात्रवृत्ति व्यवस्था गर्ने घोषणा गरिएको छ ।
स्वास्थ्यक्षेत्रमा गाउँपालिका स्तरमा सुविधासम्पन्न स्वास्थ्य केन्द्र, आमा–बाल तथा ज्येष्ठनागरिक लक्षित कार्यक्रम र हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारमा प्राथमिकता दिने उल्लेख छ । युवा तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनःस्थापना र नवप्रवर्तनमा सहयोग, महिलाको नेतृत्व विकास, उद्यमशीलता र आर्थिक सशक्तिकरण, एक वडा एक महिला उद्यम कार्यक्रम, विधवा तथा एकल महिलाका लागि शिक्षा, सीप र रोजगारी सिर्जना, सामाजिक सुरक्षा कोष वृद्धि, दलित, जनजाति, अपा·ता भएका व्यक्ति र अल्पसंख्यक अधिकार सुनिश्चित गर्ने योजना उल्लेख गरिएको छ ।
तामाङ, चेपांग, राई–दनुवार, माझी समुदायको संस्कृतिको संरक्षण, शिशु स्याहार केन्द्र स्थापना र बालअधिकारको सुरक्षा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । वन, नदी र प्राकृतिक स्रोत संरक्षण, बागमती, बकैया र मकवानपुरगढीमा बाढी–पहिरो नियन्त्रण र तटबन्ध निर्माण, वातावरणमैत्री विकास र हरित अभियान, चुरेक्षेत्र संरक्षण, लालपुर्जा वितरणमा उच्च प्राथमिकता, हरित उर्जा प्रवद्र्धन र ‘एक सामुदायिक वन, एक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा समेटिएको छ । मध्यवर्ती क्षेत्र र आरक्षको समस्या समाधानलाई पनि उनले प्राथमिकतामा राखेका छन् । गौतमले भ्रष्टाचार, कमिसन र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै सुशासन, विकास र समृद्धिसहितको स्थिर सरकार निर्माणका लागि मतदाता समक्ष आफूलाई मतदान गर्न अपिल गरेका छन् । संविधानमा समयानुकूल आवश्यक संशोधन र सामाजिक न्यायसहितको समावेशी लोकतन्त्र सुदृढ गर्न मत निर्णायक हुने विश्वास व्यक्त गरे ।







