रामेश्वर रानाको प्रतिबद्धतापत्र सार्वजनिक : रोकिएका र अधुरा विकासे कार्य सम्पन्न गर्ने

साझाकुरा
२०८२ फाल्गुन १६, शनिबार १४:४१

हेटौंडा- नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै रानाले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । पत्रमा वैदेशिक हस्तक्षेप अन्त्य गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, लोकतन्त्रको सुदृढीकरण गर्दै समाजवादतर्फ उन्मुख हुने, पूर्णसुरक्षाको ग्यारेन्टी गर्ने उल्लेख गरिएको छ । मकवानपुरमा रोकिएका र अधुरा रहेका विकास निर्माणका कार्य सम्पन्न गर्ने, युवामा सीपमुलक विकास गर्दै रोजगारीको सृजना गर्ने, कृषिक्षेत्रलाई निर्वाहमूखीबाट व्यावसायिकरुपमा विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पहल गर्ने रानाको प्रतिबद्धता रहेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र उद्योग थप गरी मयुरधापको नयाँ औद्योगिक क्षेत्रको कामलाई तीव्रता दिई थप उत्पादन र रोजगारी सृजना गर्ने, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल गर्ने, आधुनिक सहरको विकास गरी उचित व्यवसायिक वातावरण बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनको प्रतिबद्धतापत्रमा स्वास्थ्य बीमा सेवा पुनः बढाउन र अझै व्यवस्थित गर्ने, हेटौंडा अस्पतालमा सेवासुविधा वृद्धि गरी जनतालाई स्वास्थ्यसेवा सहज र थप प्रभावकारी बनाउने, सबै सामुदायिक क्याम्पस र विद्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गर्ने, गुणस्तरीय प्रविधियुक्त शिक्षा प्रदान गर्ने, मकवानपुरलाई उत्कृष्ट पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने विषय समेटिएको छ ।

पत्रकार सम्मेलनमा रानाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । रगतसँग साटेर ल्याएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षागर्ने जिम्मेवारी नेकपा एमालेको रहेको उनले स्पष्ट पारे । जेनजी आन्दोलनपछि अभिभावकबिहिन देखिएको मुलुकलाई संवैधानिक बाटोमा लैजान, राजकीय कानुनी प्रबन्ध गर्नु आफ्नो प्राथमिकतामा रहेको उम्मेदवार रानाले उल्लेखगरे । उनले निर्वाचनबाट नयाँ जनादेश लिएर मुलुकमा देखिएको दण्डहिनताको अवस्था अन्त्य एमालेले गर्ने जिकिर गरे । जनताको हक सुरक्षित नगरी हेटौंडाको सडक विस्तार गर्न नहुने उनको धारणा छ ।

उम्मेदवार रानाले प्रभावितलाई आवश्यक क्षतिपूर्ति र उचित व्यवस्थापन गरेरमात्र सडक विस्तार गर्नुपर्ने उल्लेख गरे । सडकलाई यथास्थितिमा राख्न नहुनेमा उनको जोड थियो । उम्मेदवार रानाले एमालेले सपनामात्र देखाउन नभई व्यवहारमा पनि काम गरेर देखाएको दाबी गरे । उनले नेपालको भूमिलाई कसैले राजनीतिक खेलमैदान बनाउन पाइँदैन भन्ने मान्यता एमालेको रहेको बताए । ६३ वर्षीय राना नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा
छन् । उनी लामो समयदेखि जिल्लालाई स्थायी राजनीतिक कर्मक्षेत्र बनाएर संगठन निर्माणमा केन्द्रित नेता हुन् ।

रानाको राजनीतिक प्रवेश २०३६ सालको आन्दोलनबाट भएको हो । त्यसको एक वर्षपछि २०३७ सालमा उनले अनेरास्ववियुबाट संगठित राजनीति सुरु गरे । त्रिभुवन माध्यमिक विद्यालयको प्रारम्भिक कमिटी हुँदै जिल्ला र केन्द्रसम्मको संगठनात्मक यात्रा तय गरेका रानाले विद्यार्थी राजनीतिमै नेतृत्वदायी भूमिका निर्वाह गरे । २०३८ सालमा अनेरास्ववियु मकवानपुर जिल्ला उपाध्यक्ष र २०३९ सालमा जिल्ला अध्यक्ष बनेका उनी २०४२ सालमा केन्द्रीय सदस्यमा पुगे । २०४९ सालमा हेटौंडा नगरपालिका–११ को वडाध्यक्ष निर्वाचित हुँदै उनले कार्यकारी जिम्मेवारीको अभ्यास गरे । त्यसपछि २०५४ सालमा जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भए ।

२०६४ सालको संविधान सभा निर्वाचनमा उम्मेदवार बने पनि उनी पराजित भए । रानाले चुरे संरक्षण अभियानको सुरुआत, मकवानपुरमा सडक सञ्जाल विस्तार र एकीकृत जिल्ला विकासमा काम गरेका छन् । उनले चीन, भारत र बंगलादेशलगायत देशको विकास र अभ्यासको अध्ययन गरेका छन् । जिल्लामा स्वच्छ छवि र सादगी जीवनशैली, संगठनात्मक अनुभव, स्थानीय विकासमा प्रत्यक्ष योगदान, पार्टीप्रति निरन्तर निष्ठा, वैचारिक नेतृत्व र कार्यकर्ता र स्थानीय जनतामाझ भरोसायोग्य छविकारुपमा उनी परिचित छन् । क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् ।

मतदाताको उत्साहले जित सुनिश्चित छः राना
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रानाले चुनावी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । शुक्रबार उनले यसक्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका–४ र १० नम्बर वडाका मतदातामाझ पुगेर भेटघाट गरेका हुन् ।हेटौंडा–४ कर्राचोकबाट सुरु भएको घरदैलो कार्यक्रममा रानाले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका हुन् । एमालेका शालीन नेता रानाको उपस्थितिले मतदातामा उत्साह थपिएको स्थानीयको भनाइ छ । दिउँसो हेटौंडा–१० न्युरेनी, भुटनदेवीरोड, बसपार्कलगायत क्षेत्रमा पुगेका रानालाई घडा थापेर, फूलमाला र टीका लगाएर स्वागत गरिएको थियो ।

मतदाता भेटघाटका क्रममा रानाले मकवानपुर क्षेत्र नम्बर १ मा एमालेकै जित सुनिश्चित रहेको दाबी गरे । आफ्नो उम्मेदवारीप्रति देखिएको उत्साह नै जितको बलियो आधार भएको उनले बताए । ‘म घरदैलोमा पुग्दा मतदाता हातमा माला र अबिर बोकेर ढोकामा कुरेर बस्नुभएको हुन्छ,’ उनले भने, ‘मतदाताको मायाले नै उम्मेदवार जित्छ । मलाई देखाइएको माया, सद्भाव र साथले एमाले विजयी हुन्छ भन्नेमा कुनै दुविधा छैन ।’ रानाले पछिल्लो समय केही निर्वाचन क्षेत्रमा नयाँ पार्टीको चर्चा चलेपनि मकवानपुरमा त्यस्तो अवस्था नरहेको जिकिर गरे । कसैले नचिनेका अनुहार, मतदाता माझ आफ्नो एजेण्डा स्पष्टरुपमा प्रस्तुत गर्न नसक्ने र भूगोल नबुझेका उम्मेदवारलाई मकवानपुरवासीले मत नदिने उनको भनाइ छ ।

मकवानपुर–१ अन्तर्गतका वडामा भ्रमण गर्दा एमालेको माहोल सकारात्मक रहेको उनले बताए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन उम्मेदवार कमल थापालाई एमालेले दिएको मत परिणामलाई आधार बनाएर अरु दलले जित्ने भ्रम फैलाए पनि त्यसले कुनै असर नपर्ने उनको तर्क छ । मकवानपुरको विकासका लागि आफूले गरेको योगदानलाई मतदाताले मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै उनले सूर्यचिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा उनले आगामी पाँच वर्षसम्म आफ्नो मतको कदर गर्ने प्रतिबद्धतासहित सूर्य चुनावचिन्हमा मतदान गर्न अपिल गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*