उम्मेदवारले सार्वजनिक गरेका प्रतिबद्धता प्राय : उस्तै
हेटौंडा-यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर १ का प्रमुख दलका उम्मेदवारले सार्वजनिक गरेका प्रतिबद्धतामा प्रायः उस्तै एजेन्डा देखिएका छन् । सुशासन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सबै उम्ेदवारका साझा विषय बनेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले सुशासन र लोकतन्त्रको रक्षा, ‘विद्युतीय सुशासन’मार्फत छरितो र भ्रष्टाचारमुक्त सेवाप्रवाह तथा स्थिर राजनीतिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेकी छिन् । पूर्वाधारतर्फ रातोमाटेदेखि राप्तीपुल हुँदै चौकीटोलसम्म वैकल्पिक सडक सञ्चालन, त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि भैंसेसम्म १६ मिटर सडक कायम गरी पर्यटकीय मार्ग विकास, बागमती–सिन्धुली सडक र फास्ट ट्रयाक निर्माणमा समन्वय तथा सबै पालिकामा केन्द्रीय प्रसारण लाइन र इन्टरनेट सेवा विस्तार गर्ने प्रतिबद्धता उनको ९ बुद्धे संकल्पपत्रमा उल्लेख छ ।
अघिल्ला निर्वाचनमा पराजय भोगेपनि विकास निर्माणमा आफूले देखाएको तत्परतालाई मतदाताले विश्वासका रुपमा लिएको डीनाको दाबी छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राख्दै ग्रेटर हेटौंडा चक्रपथ, नदी करिडोर, मुख्य तथा सहायक सडक स्तरोन्नति तथा ग्रामीणक्षेत्रमा शतप्रतिशत विद्युत् र खानेपानी पहुँच विस्तारलाई प्राथमिकतामाराखेका छन् । सुशासनतर्फ भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन, डिजिटल सेवा विस्तार र जनप्रतिनिधि–जनता प्रत्यक्ष संवाद सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । निर्वाचनमा जनताले खोजेको युवा र नयाँ अनुहार आफू रहेको उनको भनाइ छ ।
जनताका प्रश्नको चित्तबुझ्दो जवाफ दिँदै घरदैलोका क्रममा मन र मत जित्न सकेको गौतमको दाबी छ । नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले मकवानपुरमा निर्माण रोकिएका अधुरा सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण, स्वास्थ्य तथा शैक्षिक पूर्वाधार सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । हेटौंडा औद्योगिक क्षेत्रभित्र थप उद्योग स्थापना गर्ने र मयूरधाप औद्योगिक क्षेत्रलाई गति दिने उनको एजेण्डा छ । कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउने, युवालाई प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्ने, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने तथा हेटौंडा अस्पतालमार्फत स्वास्थ्य सेवा विस्तार गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ । क्षेत्र नम्बर १ का भूमिसम्बन्धी समस्या समाधानलाई मुख्य प्राथमिकता बनाउने उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा क्षेत्र नम्बर १ का निवर्तमान सांसद दीपकबहादुर सिंहले स्थानीय तहलाई बलियो बनाउने, संघीयता खारेज गर्ने र राजसंस्था पुनःस्थापनाको एजेण्डासहित घरदैलो अभियानमा सक्रिय रहेका छन् । जनतासँगको ‘मन–मुटुको गठबन्धन’का कारण अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गरेको र अहिले पनि जनतासँगको सम्बन्ध अझै प्रगाढ रहेको उनको दाबी छ । साढे दुईवर्षमा गरेका कामका आधारमा जनताले मत दिने उनको विश्वास रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र औद्योगिक विकासलाई मुख्य एजेण्डाका रुपमा अघि सारेको छ ।
पारदर्शी शासनप्रणाली, गुणस्तरीय सार्वजनिक सेवा र अवसरमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य पार्टीको रहेको बताएको छ । स्वास्थ्य र शिक्षामा जनताको सहज पहुँच, बन्द कलकारखाना सञ्चालन तथा पर्यटन प्रवद्र्धन आफ्ना प्रमुख प्राथमिकता रहेको क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतमले बताएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी रहेको छ । मतदाता विवरणअनुसार यस क्षेत्रमा १ लाख ५८ हजार ४ सय ३५ मतदाता रहेका छन् ।
फेरिएको चुनावी शैली
विगतका आमनिर्वाचनको तुलनामा यसपटक राजनीतिक दल र उम्मेदवारको चुनावी प्रचारशैली फेरिएको छ । हिजोका दिनमा भव्य मञ्च, तडकभडक र ठुला आमसभालाई प्राथमिकता दिने दल तथा उम्मेदवार यसपटक घरदैलो र व्यक्तिगत भेटघाटमै मतदाता फकाउनमा केन्द्रित देखिएका छन् ।मकवानपुरका दुवै निर्वाचन क्षेत्रका उम्मेदवार मतदाताको घरदैलो र सामूहिक भेटघाटमा व्यस्त रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य प्रमुख दलले हालसम्म शीर्ष नेताको उपस्थितिमा ठुला आमसभा आयोजना गरेका छैनन् । उम्मेदवारले फागुन ३ गतेसम्म आन्तरिक तयारी र कार्यकर्ता भेला सकेर अहिले मतदाताको दैलोमा पुगेर मतदाता फकाउने अभियानलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार ‘डीना’ शुक्रबार हेटौँडा उपमहानगरपालिका–२ र ४ मा मतदातासँगको भेटघाटमा व्यस्त रहेकी छिन् । उनले लामो भाषणभन्दा मतदाताका अपेक्षा सुन्ने र आफ्ना योजना सुनाउने कार्य प्रभावकारी हुने भएकाले घरदैलोलाई प्राथमिकता दिएको बताइन् ।
‘मतदातासँग मन जोड्ने र एकअर्काप्रति रहेका भ्रमचिर्ने अभियानमा छु, त्यसैले प्रत्यक्ष भेटघाट नै उत्तम लागेको छ,’ उनले भनिन् । यस्तै, नेकपा (एमाले) का क्षेत्र नं. १ का उम्मेदवार रानाले पनि प्रचारको माध्यम घरदैलो नै रोजेका छन् । एमाले प्रचारप्रसार समितिका संयोजक नवीन सिग्देलले यसपटक आमसभाभन्दा कार्यकर्ता परिचालन र घरदैलोलाई नै प्राथमिकता दिइएको जानकारी दिए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर पुलामीले पनि विजय गौतमलाई उम्मेदवार बनाएर घरदैलो अभियान चलाइरहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सिंहका तर्फबाट राप्रपा क्षेत्र नं. १ का अध्यक्ष उमेश थापाले आमसभाको विकल्पमा मोटरसाइकल ¥याली र घरदैलोलाई जोड दिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम तथा उज्यालो नेपाल पार्टीले पनि घरदैलोमार्फत् मतदातासँग मत मागिरहेका छन् । श्रमसंस्कृति पार्टीले भने सोमबार हेटौंडामा आमसभा गर्ने तयारी गरेको छ ।







