मकवानपुरमा ग्यास वितरणप्रणालीलाई सहज बनाउन सरोकारवालाबीच छलफल

शिवबुवा र नारायणी अटोलाई २४ घण्टे स्पष्टीकरण
साझाकुरा
२०८२ चैत्र ३, मंगलवार १३:२५

हेटौंडा- मकवानपुरमा खाना पकाउने ग्यासको वितरणप्रणालीलाई व्यवस्थित र सहज बनाउन सरोकारवालाबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको बैठकमा ग्यासको सहज वितरण र अनुगमनका विषयमा छलफल भएको हो । प्रजिअ अधिकारीले व्यवसायीले आपतकालीन अवस्थामा मानवता, नैतिकता र इमान्दारितालाई बिर्सन नहुने उल्लेख गर्दै उपभोक्तासम्म ग्यास सहजरुपमा पुग्ने व्यवस्था गर्न आग्रह गरेका छन् । उनले ग्यास वितरण विवरण प्रशासनमा बुझाउन ग्यास उत्पादक तथा डिलरहरुलाई निर्देशन दिए ।ग्यासको पारदर्शी वितरण सुनिश्चित गर्न ग्यास उत्पादक कम्पनीले डिलरलाई तथा डिलरले सबडिलरलाई पठाएको ग्यासको विवरण पनि दैनिकरुपमा प्रशासनलाई पठाउनुपर्ने बताए । मकवानपुर जिल्लामा कुनियत राखेर ग्यास लुकाउने, बढी मूल्यमा बिक्री गर्ने लगायत कार्य गरेको पाइएमा कार्वाही गरिने प्रजिअ अधिकारीले चेतावनी दिए । ग्यास अभावको गुनासो बढेपछि प्रशासनले नापतौल तथा उद्योग वाणिज्य कार्यालयसँग समन्वय गरी दुई टोली बनाएर संयुक्त अनुगमन गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत गुणप्रसाद न्योपानेले अनुगमनका क्रममा केही स्थानमा ग्यास स्टक गरेर राखिएको र आधिकारिक दर्ता नभएका सबडिलरमार्फत् वितरण भइरहेको पाइएको बताए ।

ग्यासको माग उच्च भएपनि मकवानपुरमा ग्यासको चरम अभाव भैसकेको अवस्था नरहेको बताइएको छ । मकवानपुरमा ७० प्रसतशत भन्दा बढी ग्यास सप्लाई गर्दै आएको सहारा ग्यासले महिनामा करिब २८ हजार सिलिन्डर ग्यास माग हुने गरेकोमा फागुनमा मात्रै ३२ हजार सिलिन्डर माग भएको प्रबन्धक खड्गबहादुर थापालेबताए । हाल माग बढेपछि उत्पादन र वितरण दुबै बढाइएको उनले बताएका छन् । ग्यास व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष दिलिसगोविन्द जोशीले उपभोक्तासम्म सेवासहज बनाउन डिलरमार्फत सबडिलरको व्यवस्था गरिएको बताएका छन् । उपभोक्ता हितसंरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले केही क्षेत्रमा ग्यास बढी गएको र चाप भएका क्षेत्रमा कम पुगेको गुनासो आएको बताउँदै बिल काटेर पारदर्शीरुपमा बिक्री गर्न आग्रह गरेका छन् । बैठकमा संकटका बेला ग्यासको विकल्पकारुपमा विद्युत् प्रयोग बढाउन पनि सुझाव दिइएको थियो । जिल्लामा रहेका २२ वटा ग्यास डिलर तथा त्यस अन्तर्गत करिब ४ सय सबडिलर रहेका छन् ।

बैठकमा प्राथमिकता निर्धारण गरेर ग्यास वितरण गर्न आग्रह गरिएको छ । ज्येष्ठनागरिक, अशक्त व्यक्ति र डेरामा बस्ने विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गरिएको थियो । सबै उपभोक्तालाई समान रुपमा वितरण गर्न तथा बिक्रीको स्पष्ट अभिलेख राख्नसमेत सरोकारवालालाई निर्देशन दिइएको छ । बैठकमा आन्तरिक राजस्व कार्यालय, ग्यास उत्पादन कम्पनी, ग्यास डिलर एसोसियसन, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ, मकवानपुर उद्योग वाणिज्य संघलगायतका निकायका प्रतिनिधिहरु सहभागी थिए ।

शिवबुवा र नारायणी अटोलाई २४ घण्टे स्पष्टीकरण

आयल निगमबाट पेट्रोल खरिद गरी संचय गरेर बिक्री नगर्ने २ वटा पेट्रोल पम्पलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्पष्टीकरण सोधेको छ ।हेटौंडामा संचालित शिबवुवा आयल सेन्टर प्रालि र नारायाणी अटो ट्रेडलिंकलाई ईन्धनको मूल्यबृद्धि हुन्छ भन्ने सूचनाका आधारमा ईन्धन संचयगरी उपभोक्तालाई बिक्रीबितरण नगरेको भन्दै २४ घण्टाभित्र जबाफ पेश गर्न स्पष्टीकरण सोधिएको हो । दुईवटा पेट्रोल पम्पले पेट्रोल उपलब्ध हुँदा समेत डिजलमात्रै बिक्री गरी पेट्रोल बिक्री नगरेको जन गुनासो पछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीले अनुगमन गरेका थिए ।शिववुवा आयल सेन्टरले ४ हजार लिटर र नारायणी अटो ट्रेडलिंकले ३ हजार लिटर पेट्रोल खरिद गरी संचय गरेको पाइएपछि प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको हो । आइतबार नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका ब्यवसायीले रातको १२ बजेपछि निगमले बढाएको मूल्यमा बिक्री गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*