पानी व्यवस्थापनमा अब्बल हेटौंडा उपमहानगरपालिका
हेटौंडा- हिउँदको समयमा पानीको खोजीमा भैतारिनु पर्ने हेटौंडेलीको बाध्यता टरेको छ । पानीको श्रोत कमिका कारण उपमहानगर क्षेत्रमा बासोबास गर्ने बासिन्दाले पानीको खोजीमा घण्टौं यात्रा गर्नुपर्ने बाध्यता टरेको हो ।पानीको व्यवस्थान गरिरहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको सहज आपूर्तिका लागि काम गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाको दक्षिण क्षेत्रमा बासोबास गर्ने स्थानीय हिउँदको समयमा पानीको लागि चुरेको खोँचसम्म पुग्नुपर्ने बाध्यता अहिले टरेको छ । केही समयअघिसम्म पानीको जोहोका लागि छिमेकी जिल्ला बारासम्म जानुपर्ने बाध्यता टरेको स्थानीयले बताए ।
पहिला त निकै समस्या व्यहोर्नु पथ्र्यो, बिगत केही वर्षदेखि पानीको लागि गनुपर्ने संघर्ष टरेको हेटौंडा–१५ चेपाङ बस्तिकी माया चेपाङले बताइन् । उनले भनिन् । एक गाग्री पानीका लागि घण्टौं लगाएर मुहान खोज्दै बल्ल तल्ल पानी ल्याउँथ्यौं, पानीका लागि एक बिहान पुरै जान्थ्यो अहिले त्यो समस्या भने टरेको छ ।पहिले तत्कालीन चुरियामाई गाविसमा बढि मात्रामा खानेपानीको समस्या हुने गरेको थियो । उपमहानगर मातहत रहेको खानेपानी व्यवस्थापन बोर्डले पानीको व्यवस्थापन मिलाएपछि अहिले हेटौंडामा खानेपानीको समस्या हट्दै गएको छ । बोर्डले अहिले हेटौंडा उपमहानगरपालिकाका १२ र १३ नम्बर वडा बाहेक १७ वटा वडामा २९ हजार सातसय नौवटा धारमार्फत् नियमित खानेपानीको व्यवस्थापन मिलाउँदै आएको जनाएको छ । पानीको श्रोतको व्यवस्थापन मिलाउँदै १ मुहान, ४० डिप ट्युवेल र १० वटा समवेलमार्फत् दैनिक तीन करोड ७५ लाख लिटर पानी उत्पादन गर्दै आएको बोर्डले जनाएको छ ।
एक दशक अघिसम्म बिहान बेलुका गरी न्युनतम समय आउँदा हुने हेटौंडाको मुख्य क्षेत्रमा पानीको समस्या रहँदा तत्कालीन खानेपानी संस्थानमा लाग्ने लाईन अहिले कथाजस्तै लाग्ने गरेको छ । बोर्डले अहिले बजार क्षेत्र बाहेकका ठाउँमा दैनिक ८ घण्टा नियमित खानेपानी बितरण गर्दै आएको छ । बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकार संगको सहकार्यमा पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि पाएको छ । अहिले विभिन्न वडाहरुमा पाइपलाइन बिस्तार, पुराना संरचनाको स्तरोन्नति, ट्यांकी निर्माण तथा मुहान संरक्षणको काम निरन्तररुपमा भैरहेको बोर्डका अध्यक्ष प्रताप बिष्टले बताए ।
उनले उपमहानगरले नीतिअनुसार उपमहानगरमा बासोबास गर्ने नागरिकलाई स्वच्छ पानी खुवाउन निरन्तर काम गरिरहेको बताए । पानीको गुणस्तर मापनका लागि ल्यावको व्यवस्थापन मिलाउँदै काम गरिरहेको उनको भनाइ छ । बोर्डले नगरको तीव्र शहरीकरणको बढ्दो मागलाई सम्बोधन गर्दै दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८२÷०८३ को वैशाख मसान्तसम्म पानी महशुल १२ करोड १५ लाख मध्येमा ११ करोड ८७ लाख रुपियाँ संकलग गरिसकेको जनाएको छ । हिउँदको समयमा चुरे क्षेत्रमा पानीको श्रोत सुक्ने भएकाले विषेश गरी तराई प्रदेशका छिमेकी जिल्लाहरु बारा, पर्शामा बढि मात्रामा पानीको समस्या हुने गरेको छ ।
नगरबासीलाई स्वच्छ पानी खुवाउदैछौं : प्रमुख लामा
सहजरुपमा खानेपानी खुवाउने काममा उपमहानगर लागि रहेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । खानेपानीकै कारण नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यअनुसार धाराबाटै सीधै पिउन मिल्ने गरी खानेपानीको व्यवस्थापन मिलाउन खोजिएको जानकारी दिइन् ।उपमहानगरले खानेपानीको सुविधाका लागि खानेपानी पाईप बिस्तार, ओभरहेड टंकी निर्माण, उपभोक्ता समितिमार्फत् भएका कामलाई सहयोग गरी पानीको सेवा दिने कामलाई अघि बढाउँदै लगेको जानकारी दिइन् ।
खानेपानीको व्यवस्थापनका लागि उपमहानगरले ठूलो लगानी गरेको उनले बताइन् । पर्याप्त आर्थिक श्रोत नभए पनि विभिन्न निकायसँगको समन्वयमा खानेपानीको पूर्वाधार निर्माण तथा व्यवस्थानको काम गरिरहेको जानकारी दिइन् । अहिलेको जनघनत्वअनुसार खानेपानीको नियमित वितरणको लागि पूर्वाधारको रहेपनि नगरमा थप हुनसक्ने जनघनत्वलाई ध्यान दिएर पूर्वाधार निर्माणको काम भएको नगर प्रमुख लामाले बताइन् ।
उपहानगर क्षेत्रमा बसोवास गरेका नागरिकलाई निःशुल्क खानेपानी खुवाउने काम गरेका थियौं । गत चैत्रमा भएको जेन्जी आन्दोलनपछि बितरणमुखी काम नगर्न भनिएअनुसार रोकिएको छ । उपमहानगरमा सहलगानीमा खानेपानीको पूर्वाधार निर्माणको काम भइरहेको बताइन् । दीगो ढंगबाट पानीको आपूर्तिलाई व्यवस्थापन मिलाउन बोर्डसँगको सहकार्यमा काम अघि बढाइको जानकारी दिइन् ।








