राजधानी, रोजगारी र सुविधाले बढायो आकर्षण, जनघनत्वमा निरन्तर वृद्धि : बसाइँको केन्द्र बन्दै हेटौंडा

साझाकुरा
२०८३ जेष्ठ २६, मंगलवार ०९:५३

हेटौंडा- विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर आउनेको संख्या बढ्दै जाँदा हेटौंडाको जनघनत्वमा पनि निरन्तर वृद्धि भइरहेको छ । पछिल्ला वर्षका तथ्यांकले हेटौंडाउपमहानगर प्रदेशकै महत्वपूर्ण बसाइँ गन्तव्यकारुपमा विकसित भइरहेको देखिन्छ ।हेटौंडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा १ हजार २४ परिवार बसाइँसराइ गरी हेटौंडा आएका थिए ।

आव २०८०÷८१ मा ९५९ परिवार र २०८१÷८२ मा ८१९ परिवार यहाँ बसाइँसराइ गरेर आए ।चालु आव २०८२÷८३ को वैशाख मसान्तसम्म मात्र ५९३ परिवार हेटौंडामा स्थायी बसोबासका लागि आइसकेका छन् । यसको तुलनामा हेटौंडाबाट अन्यत्र बसाइँ सर्ने परिवारको संख्या कम देखिन्छ । आर्थिक वर्ष २०७९÷८० मा ५६६ परिवार, २०८०÷८१ मा ५८६ परिवार, २०८१÷८२ मा ४८०परिवार तथा चालु आर्थिक वर्षको वैशाखसम्म ३५३ परिवार मात्र हेटौंडाबाट अन्यत्र बसाइँसराइ गरेका छन् ।

विशेषगरी तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाबाट हेटौंडा आउनेको संख्या उल्लेख्य रहेको छ । बसोबासका लागि आउने अधिकांश परिवारले उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ७, ८, ९ लाई आफ्नो गन्तव्य बनाउने गरेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । यसले ती क्षेत्रमा जनघनत्वको चाप पनि तुलनात्मक रुपमा बढी रहेको छ ।

‘राजधानी, रोजगार, शिक्षा र मौसमले बसोबासयोग्य सहर बन्यो’

हेटौंडा किन आकर्षक बनिरहेको छ ? भन्ने प्रश्नको उत्तर खोज्दा अवसर र सम्भावनाका धेरै पक्ष देखिएका छन् । क्षेत्रफलको दृष्टिकोणले देशकै ठूलो आद्योगिक क्षेत्रले रोजगारीका अवसर सिर्जना गर्नु, देशकै ठूलो व्यापारिक वीरगञ्ज नाकाबाट नजिक भएकाले व्यापारिक गतिविधिको विस्तार, संघीय राजधानी काठमाडौंसँगको सहज पहुँच, शिक्षा तथा स्वास्थ्य सेवाको उपलब्धता जस्ता पक्षले हेटौंडालाई बसोबासका लागि उपयुक्तस्थानका रुपमा उभ्याएको जानकारहरु बताउँछन् ।

मकवानपुर बहुमुखी क्याम्पसका स्वास्थ्य, जनसंख्या तथा शिक्षा विभाग प्रमुख तथा सहप्राध्यापक उमेश अर्यालका अनुसार हेटौंडामा बसाइँसराइ बढ्नुका पछाडि विभिन्न समयका फरकफरक कारण छन् । अर्यालकाअनुसार तराई आन्दोलनपछि हेटौंडालाई सुरक्षित स्थानकारुपमा हेरेर यहाँ बसोबास गर्न आउनेको संख्या बढेको थियो । पछिल्लो समय भने सुरक्षामात्र नभई समग्र सम्भावनाको केन्द्रकारुपमा हेटौंडालाई हेर्न थालिएको छ । उनकाअनुसार नगरपालिका हुँदै उपमहानगरपालिका बनेपछि, बागमती प्रदेशको राजधानीको कायम भएपछि हेटौंडाप्रति मानिसको आकर्षण थप बढेको हो । प्रदेश राजधानीकारुपमा विभिन्न सरकारी कार्यालय, सेवाकेन्द्र र आर्थिक गतिविधि विस्तार हुनुले अवसरको खोजीमा रहेका मानिसलाई हेटौंडाले तानेको अर्याल बताउँछन् ।

उनको बुझाइमा मकवानपुरका विभिन्न गाउँपालिकाबाट उपमहानगरको क्षेत्र विस्तार भएपछि जनसंख्या स्वाभाविक रूपमा बढेको छ । तराईका जिल्लाबाट विद्यालय तह र उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी तथा अभिभावक हेटौंडा आउन थालेपछि बसोबासको क्रमपनि बढ्दै गएको छ । हेटौंडाका ठूला विद्यालय आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, श्रमिक मावि, बालज्योति र सिद्धार्थ माविमा सर्लाहीदेखि पर्सासम्मका विद्यार्थीको चाप छ । हेटौंडाको मौसमलाई पनि बसोबास आकर्षणको एउटा महत्वपूर्ण आधार मानिएको उपप्राध्यापक अर्याल बताउँछन् । जाडो र गर्मी दुवै समयमा यहाँको मौसम सहज मानिन्छ । तराई र पहाडको बीचमा भएकाले हेटौंडा भौगोलिक तथा वातावरणीय हिसाबले अनुकूल रहेको र यही कारणले पनि यहाँ स्थायी बसोबास गर्न चाहनेहरुको संख्या बढेको उनले बताए ।

सेवा र पूर्वाधार व्यवस्थापनको चुनौती थपि“दै

बढ्दो जनसंख्यासँगै सेवा तथा पूर्वाधार व्यवस्थापनको चुनौती पनि थपिँदै गएको छ । यही अवस्थालाई ध्यानमा राखेर हेटौंडा उपमहानगरपालिकाले विकास र सेवा व्यवस्थापनका कार्यक्रमलाई अघि बढाएको जनाएको छ । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाकाअनुसार उपमहानगरलाई बसाइँको गन्तव्य बनाएर आउने नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै योजनाबद्धरुपमा काम भइरहेको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी तथा व्यवस्थित बसोबासलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिँदै आएको उनको भनाइ छ । विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएपछि विद्यालय भवन, कक्षाकोठा तथा गुणस्तरीय शिक्षामा लगानी गरिएको उनले बताइन् । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था तथा दुई वडामा अस्पताल सञ्चालनमा ल्याइएको छ । हेटौंडा अस्पतालको सेवा विस्तारमा समेत उपमहानगरले सहकार्य गर्दै आएको छ । व्यवस्थित बसोबासका लागि उपमहानगरपालिकाले जग्गा वर्गीकरण गरी बसोबास क्षेत्र निर्धारण गरेको छ ।

तोकिएको क्षेत्रभित्रमात्र आवास निर्माण गर्न सकिने व्यवस्था लागु गरिएको छ । यसले बढ्दो जनसंख्या व्यवस्थापन र योजनाबद्ध शहरीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख लामा बताउँछिन् । यससँगै सरसफाइ, स्वस्थ वातावरण र सुन्दर सहर निर्माणलाई पनि उपमहानगरपालिकाले प्राथमिकतामा राखेको छ । नगरभित्र सञ्चालन हुने प्लानिङमा आवश्यक सुविधा सुनिश्चित गर्ने गरी नियम तथा कानुनी व्यवस्थासमेत लागू गरिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*