विश्व रक्तदाता दिवसमा बृहत् रक्तदान आयोजना हुँदै
हेटौंडा-‘रक्तदान, जीवनदान’ भन्ने मूलमर्म र नारालाई आत्मसात् गर्दै विश्व रक्तदाता दिवसको अवसरमा यही जेठ ३१ गते हेटौंडाको बुद्धचोकमा बृहत् खुलारक्तदान कार्यक्रम आयोजना हुने भएको छ । बिहान ७ बजेबाट सुरु हुने कार्यक्रम खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवानपुरको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी (रक्तसंचार केन्द्र) मकवानपुरको सहकार्यमा हुन लागेको हो । कार्यक्रमको जानकारी दिँदै खड्का समाज मकवानपुरका अध्यक्ष दीपक खड्काले सम्पूर्ण खड्का बन्धु तथा आमनागरिकलाई रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै रक्त अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रमबारे व्यापकरुपमा जानकारी फैलाइदिन अनुरोध गरेका छन् ।
रक्तदाता समाज मकवानपुरका अध्यक्ष पूर्णप्रसाद अर्यालले विश्व रक्तदाता दिवसको शुभकामना व्यक्त गर्दै बुद्धचोकमा आयोजना हुने खुलारक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाउन सम्पूर्ण मकवानपुर वासीलाई आह्वान गरेका छन् । उनले नियमित रक्तदानले बिरामी, दुर्घटनाग्रस्त तथा आकस्मिक उपचार आवश्यक परेका व्यक्तिको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमको तयारीबारे जानकारी दिँदै रक्तसंचार केन्द्रका प्रमुख टंक दाहालले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले रक्तदान कार्यक्रममा सहभागी हुने रक्तदातालाई खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिने जानकारी दिए ।
रक्तदान केवल सामाजिक उत्तरदायित्वमात्र नभई मानवजीवन बचाउने पवित्र अभियान भएकाले सबैले उत्साहपूर्वक सहभागिता जनाउन उनले आग्रह गरे । रक्तदानमा सहभागी हुन आयोजकले नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृसंगठन, सामाजिक संघसंस्था, व्यवसायी, कर्मचारी तथा सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ ।रक्तअभावको समस्यालाई न्यूनीकरण गर्दै मानवसेवाको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले समाजमा रक्तदानप्रतिको सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा आयोजना हुन लागेको बृहत् रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा अरुलाई पनि प्रेरित गर्न आयोजक संस्थाहरुले सम्पूर्ण नागरिकमा हार्दिक अनुरोध गरेका छन् । एक व्यक्तिले गरेको रक्तदानले धेरैको जीवन बचाउन सक्ने भएकाले ‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने सन्देशलाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरिएको छ ।







