रास्वपा सभापति लामिछाने आज हेटौंडा आउने
हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्न आज मंगलबार हेटौंडा आउने भएका छन् । पार्टीको बागमती प्रदेश स्तरीय अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्न लामिछाने जेठ २६ गते आज हेटौंडा आउने कार्यक्रम तय भएको रास्वपा मकवानपुरले जनाएको छ ।रास्वपामकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकका अनुसार जेठ २६ गते बिहान ८ बजेदेखि सुरु हुने अधिवेशनको उद्घाटन समारोहमा प्रमुखवक्ताका रुपमा सभापति लामिछाने सहभागी हुनेछन् । पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताको समेत सहभागिता रहने अधिवेशनको सम्पूर्ण तयारी अन्तिमचरणमा पुगेको उनले जानकारी दिए ।
पार्टीले बागमती प्रदेश अधिवेशनलाई संगठन सुदृढीकरण र आगामी राष्ट्रिय महाधिवेशनको तयारीसँग जोडेर महत्वपूर्ण कार्यक्रमका रुपमा लिएको छ । अधिवेशनमार्फत् प्रदेशस्तरको नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना, संगठन विस्तार र राजनीतिक अभियानबारे पनि छलफल हुने बताइएको छ । जिल्ला सभापति पाठकका अनुसार अधिवेशनमा पार्टीको आगामी रणनीति, संगठन विस्तार, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जनसरोकारका विषयमा विशेष छलफल हुनेछ । सभापति लामिछानेले उद्घाटन सत्रलाई सम्बोधन गर्दै समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी योजना र संगठन सुदृढीकरणका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ ।
हालै बागमती प्रदेशका विभिन्न जिल्लामा सम्पन्न जिल्ला अधिवेशनपछि रास्वपाले प्रदेशस्तरीय संगठन निर्माणलाई तीव्रता दिएको हो । मकवानपुरसहित अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने प्रदेश अधिवेशनलाई ती जिल्ला अधिवेशनको निरन्तरता र संगठनात्मक एकीकरणको अवसरकारुपमा हेरिएको छ । रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसअघि हुने बागमती प्रदेश अधिवेशनलाई पार्टीभित्रको संगठनात्मक पुनर्संरचना र नेतृत्व विकासको महत्वपूर्ण कडीकारुपमा लिइएको छ ।
जिल्ला सभापति पाठकका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिको सहभागिता रहनेछ । उद्घाटन समारोहमा पार्टीका केन्द्रीय पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला तहका नेता कार्यकर्ताको उपस्थिति रहने कार्यक्रम तय गरिएको छ । रास्वपा मकवानपुरले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको जनाएको छ ।







