भूकम्प प्रभावितलाई बागमतीका कर्मचारीको १ करोड २५ लाख

साझाकुरा
२०८० कार्तिक २२, बुधबार ११:३०

हेटौंडा- जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई राहत, उद्दार र पुनःस्थापनामा बागमती प्रदेशका कर्मचारीहरुले सहयोग गर्ने भएका छन् ।बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले गत कात्तिक १७ गते गएको भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका प्रभावितहरुको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो । बैठकले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठुलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत् प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको ३ दिनको तलब, अधिकृत स्तरका कर्मचारीको २ दिनको तलब र अन्य सबै कर्मचारीको १ दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिए । उनका अनुसार उक्त रकम संकलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ । प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिव, अधिकृत र अन्य कर्मचारीहरुको उक्त दिनको तलब रकम अनुमानित १ करोड २५ लाख रुपैयाँ हुन आउने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*