भारतबाट फूल आयात नरोकिँदा किसान चिन्तत

निशा गुरुङ
२०८० कार्तिक २३, बिहीबार ०८:५५

हेटौंडा- फूलैफूल र झिलिमिलिको चाडपर्व दिपावली (तिहार) नजिकिएसँगै हेटौंडा बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।तिहार नजिकिएसँगै हेटौंडाको बजार क्षेत्रमा सयपत्री, मखमली फूल, थरीथरीका रंग र झिलिमिलि बिजुलीको बिक्री बढेको छ । तिहार अगाडिबाटै सर्वसाधारणहरुले घरलाई फूल र झिलिमिलिले सजावट गरेर मनमोहक बनाउने गर्दछन् । तिहारमा फूलको प्रयोग भने लक्ष्मीपूजा, गोवद्र्धन पूजा र प्रमुखतः भाइटीकाका दिन बढी हुने गरेको छ । हेटौंडा बजारमा भारतबाट आयातित सपयत्री र मखमली फूलसँगै प्लाष्टिकका कृतिम फूलहरु छपक्कै छ । यसले हेटौंडा उपमहानगरभित्र लाखौं लगानी गरेर व्यवसायिक खेती गरिरहेका किसानहरुलाई प्रत्यक्ष असर पु¥याउने निश्चित छ ।

व्यावसायिकरुपमा फूल खेती गर्ने किसानहरुको मुख्य बजार दशैं र तिहार चाडपर्व हो । तर, यही चाडपर्वको मुखमा भारतबाट प्राकृतिक र कृतिमजन्य प्लाष्टिकका फूल भित्रिएसँगै स्थानीय किसानहरु चिन्तित बनेका हुन् । कतिपय सहरहरुमा भारतीय फूलको आयातमा रोक लगाउँदासमेत हेटौंडा उपमहानगरमा भने यसबारे कुनै छलफल नै नभएको पाइएको छ । उपमहानगरले भारतीय फूल आयात रोकेर स्थानीय पुष्प व्यवसायीहरुको संरक्षण गर्नु प्रमुख दायित्व रहेको स्थानीय किसानहरु बताउँछन् ।

विगत ५ वर्षदेखि हेटौंडाका विभिन्न क्षेत्रमा व्यावसायिक फूल खेती हुँदै आएको छ । हेटौंडामा किसानले लगाएको सयपत्री फूल यतिबेला बारीमा ढकमक्क फूलेर बजार लैजान तयार भएका छन् । हेटौंडा उपमहानगरपालिकामा मात्रै २० देखि २५ जना किसाले व्यावसायिक फूल खेती गर्दै आएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले जानकारी दिए । हेटौंडाका १६, १७ र १८ नम्बर वडाको हर्नामाडी, हटियामा, इन्द्रसरोबरको हुमानेभञ्ज्याङ, भीमफेदीको माथिल्लो क्षेत्र, थाहा नगरपालिका, मकवानपुरगढीको बुढीचौरलगायत चिसो क्षेत्रमा व्यावसायिक फूल खेती बढ्दै गइरहेको छ । हेटौंडा–६, १२, १३, १४ नम्बर वडालगायतका स्थानका २० बिगाहा क्षेत्रफलमा फूलखेती भइरहेको छ ।

तिहारका लागि फूल बजार ल्याउने तयारी भइरहँदा भारतबाट आयातित फूलको बारेमा उपमहानगरले चासो देखाउनुपर्ने किसानहरुले आवाज उठाउन थालेका छन् । देशका विभिन्न स्थानीय सरकारले तिहारका लागि प्लाष्टिकबाट बनेका माला बिक्री–वितरणमा धमाधम प्रतिबन्ध लगाइरहेको अवस्थामा हेटौंडा उपमहानगर भने मौन देखिन्छ । जसका कारण हेटौंडामा फूल खेती गरेका किसानहरुलाई समस्या परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का कृषक बालकृष्ण चौलागाईंले विगतका वर्षदेखि नै व्यावसायिक फूलको खेती गर्दै आएको र भारतबाट आयातित फूलले समस्या बनाएको बताउँछन् ।

अन्य स्थानीय तहले प्लाष्टिकबाट बनेका माला बिक्री–वितरणमा प्रतिबन्ध लगाइरहँदा हेटौंडा उपमहानगरले भने किसानका बारेमा नसोचेको चौलागाईले आरोप लगाए । उनले भारतबाट आएका प्लाष्टिकका माला बिक्रि वितरणमा रोक नलगाउँदा आफूहरुलाई समस्या परेको सुनाए । ‘स्थानीय सरकारलाई जनताको विषयमा कुनै चिन्ता छैन । उहाँहरु चुनावमा निर्वाचित भइसकेपछि पाँचवर्ष जोगिहाल्यो ।’, उनले भने, ‘देशका धेरै स्थानीय सरकारले प्लाष्टिकजन्य मालामा बिक्रि लगाउँदा हेटौंडा उपमहानगरलाई भने कुनै चिन्ता छैन ।’,

विगत ५ वर्षदेखि फूल खेती गर्दै आएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले स्थानीय सरकारलाई भारतीय प्लाष्टिकजन्य फुल बिक्रि वितरणमा रोक लगाउन आग्रह गरिने बताए । प्लाष्टिकजन्य फूलले पनि धेरथोर प्रभाव पार्ने हुँदा यसका लागि स्थानीय सरकारसँग छलफल गरिने उनको भनाइ छ । उनै घलान पनि हेटौंडाको १२ नम्बर वडामा १ विगाहा क्षेत्रफलमा व्यावसायिक फूल खेती गर्दै आएका छन् ।

हेटौंडा उपमहानगरका प्रवक्ता एवम् हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले हेटौंडामा तिहारका लागि फूल उत्पादन गरिरहेका किसानहरुका बारेमा बैठकमा कुरा उठेको बताए । तर, हेटौंडाका किसानले उत्पादन गरेको फूलले मात्रै नधान्ने हुँदा यो वर्ष भारतबाट आएका प्लाष्टिकका फूल बिक्रि वितरणमा प्रतिबन्ध नलगाएको बताए । ‘यो विषयमा कुरा नउठेको होइन । तर, उत्पादित फूलले मात्रै नधान्ने हुनाले पनि यसपटक भारतीय प्लाष्टिकका फूल बिक्रि वितरणमा रोक नलगाइएको हो ।’, उनले भने, ‘हेटौंडामा फूल खेती गर्ने किसानहरुले पनि उपमहानगरमा त्यस्तो कुनै मागहरु ल्याउनु भएन त्यसकारण पनि हामीले आधिकारिक निर्णय गर्न सकेनौं ।’, प्रवक्ता न्यौपानेले किसानले उत्पादन गरेको फूललाई प्रर्वद्धन गर्न आगामी वर्षमा संरक्षणमुखी नीति नै बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

सयपत्री फूलको सुगन्धले चाडपर्वको माहोललाई थप उल्लासमय बनाउने गरेको छ । १२ महिना फूल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । मकवानपुरमा ढकमक्क फूलेका सयपत्री र मखमली फूलहरुले तिहारलाई स्वागत गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*