मकवानपुरमा बन्दैछ ‘फास्ट ट्रयाक’को सुरुङ र अग्ला पुल

साझाकुरा
२०८० मंसिर ४, सोमबार ११:४२

हेटौंडा- अधिकांश भूभाग मकवानपुरमा पर्ने राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस सडक आयोजना (फास्ट ट्रयाक)को सुरुङ निर्माण तीव्रताका साथ अघि बढेको छ ।मकवानपुरको ‘समृद्धि ढोका’ भनिने फास्ट ट्रयाक बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकामा पर्दछ । आयोजना अन्तर्गत मकवानपुरको भीमफेदीस्थित महादेवटार, धेद्रे र बकैयाको लेनडाँडामा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीचराष्ट्रिय गौरवको काठमाडौं–तराईरमधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारीत समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको हो । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको यो आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।

नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले यो आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताए । आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढंगले प्रगति भइरहेको पहाडीको भनाइ छ । मकवानपुरको महादेवटार,धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेको पहाडीले जानकारी दिए ।

हालसम्म निर्माणाधीन सुरुङको कुल लम्बाइ ६ दशमलव ४ सय १५ किलोमिटरमध्ये तीन दशमलव १ सय ३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारीदिए । उनका अनुसार ३ दशमलव ३ सय ५५ किलोमिटर लामो महादेवटार सुरुङमा एक दशमलव ४ सय ९० किलोमिटर निर्माण भएको छ । यस्तै एक दशमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा ८ सय ६ मिटर तथा एक दशमलव ४३ किलोमिटरको लेनडाँडासुरुङमा ८ सय ५७ मिटर निर्माण भइरहेको हो ।

सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ ‘पाइल’मध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ । द्रुत मार्गमा ८२ मिटर अग्ला ‘टावर’ तथा चार सय मिटरभन्दा लामा पुल निर्माण हुनेछन् ।

सेनाले उक्त आयोजनालाई निर्धारीत समयमै सम्पन्न गर्नेगरी १३ वटा प्याकेज बनाई निर्माणलाई अगाडि बढाएको छ । प्याकेज नम्बर १ देखि ७ सम्मका प्याकेज निर्माणाधीन अवस्थामा छन् । आयोजनाको पुरक विस्तृत परियोजना प्रतिवेदन समयमै स्वीकृत नहुँदा आयोजनाको बाँकी जग्गा अधिग्रहण एवं वातावरणीय प्रभाव मूल्यांकन तथा रुख कटानमा जटिलता थपिएको सेनाले जनाएको छ । यसअघि स्वीकृत विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा आयोजनाको दुवैतर्फका प्रवेशबिन्दु तथा विश्रामस्थलमा इन्टरचेञ्ज तथा टोल प्लाजाको व्यवस्था नभएकाले सेनाले पूरक विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृतिका लागि पठाएको थियो ।

सरकारले विसं २०७४ वैशाख २१ गते काठमाडौं र तराई– मधेसलाई जोड्ने यो रणनीतिक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । विसं २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेबाराको निजगढबाट यो आयोजनाको शिलान्यास गरेका थिए । सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृतगरेको थियो । डिपिआरअनुसार द्रुतमार्गको कुल लम्बाइ ७० दशमलव ९ सय ७७ किलोमिटररहेको छ । आयोजनामा ६ वटा सुरङमार्ग रहेका छन् । सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ०५५ किलोमिटर रहेको छ ।

देविचौरमा एक, सिसौटारमा शून्य दशमलव ३९, चन्द्रामभिरमा दुई दशमलव २५, महादेवडाँडामा तीन दशमलव ३ सय ५५, धेद्रेमा एक दशमलव ६ सय ३० र लेनडाँडामा एक दशमलव ४ सय ३० किलोमिटर लामा सुरुङ निर्माण हुनेछन् । अहिले महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । द्रुतमार्ग ‘एसियन हाइवे’ मापदण्डको हुनेछ । सो सडकमा दुईपाङ्ग्रेसवारी गुडाउन निषेध गरिनेछ । आयोजनामा १२ दशमलव ८ सय ८५ किलोमिटर लम्बाइका विभिन्न ८९ वटा पुल निर्माण गरिनेछ । मकवानपुरको बुदुनेमा सडककोदुवै किनारामा दुई विश्रामस्थल हुनेछन् । ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहनेछ ।

द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिनसक्ने ‘इन्टरचेञ्ज’को व्यवस्था हुनेछ । सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन । यस्तै यो सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एक÷एक वटा ‘टोल प्लाजा’ हुने सेनाले जनाएको छ । कूल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिनेछ । आयोजना वि.सं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*