युनिलिभरको चुक्तापुँजी बढ्ने हल्लामात्र

साझाकुरा
२०८१ असार ५, मंगलवार ११:४१

हेटौंडा हेटौंडा–३ बसामाडीमा उद्योग रहेको युनिलिभर नेपाल लिमिटेडले केही समय अघि अधिकृत पुँजी बढाएरपछि चुक्तापुँजी बढाउने वा नबढाउने भन्ने विषयमा तीब्र बहस सुरु भएको छ ।
कुनैपनि कम्पनीले अधिकृतपुँजी वृद्धिको निर्णय गर्नासाथ त्यसले चुक्तापुँजी पनि बढाउँछ भन्ने लगानीकर्तामा भ्रम उत्पन्न भएको छ । त्यसो त, चुक्तापुँजी वृद्धि गर्ने घोषणा गरेका कम्पनीले साधारण सभामा अधिकृतपुँजी पनि बढाउने एजेन्डा पेश गरेका हुन्छन् । तर, अधिकृतपुँजी वृद्धि गर्दैमा चुक्तापुँजी बढ्छ वा बढाउनुपर्छ भन्ने कुरा कहीँकतै उल्लेख भएको छैन । जानकारहरुका अनुसार अधिकृतपुँजी बढाएपछि चुक्तापुँजी बढाउनुपर्ने बाध्यता पनि हुँदैन । तर, यस्तो भ्रम अहिले युनिलिभर नेपाल लिमिटेडको लगानीकर्तामा देखिएको छ ।

यो कम्पनीले ३० करोड रुपैयाँ रहेको अधिकृतपुँजी बढाएर २ अर्ब १४ करोड रुपैयाँ पु¥याएपछि लगानीकर्तामा बहसको विषय बनेको हो । यही कुरालाई लिएर लगानीकर्तामाझ युनिलिभरले पनि अब चुक्तापुँजी बढाउँछ भन्ने हल्ला बजारमा व्यापक चलिरहेको छ । अब युनिलिभरले पुँजी बढाउन हकप्रद वा बोनस सेयर दिन्छ भनेर कतिपयले सेयर कारोबार गरेको पाइन्छ । तर, यसरी अधिकृतपुँजी वृद्धि गरेकै भरमा कम्पनीले चुक्तापुँजी पनि बढाउँछ वा बढाउँनुपर्छ भन्ने कुरामा कुनै पनि सत्यता नरहेको सेयर बजारका जानकार अधिवक्ता ज्योति दाहाल बताउँछन् ।

‘यदि युनिलिभरले चुक्तापुँजी बढाउनलाई अधिकृतपुँजी बढाएको हो भने त पहिला नै यसको ३० करोड रुपैयाँ अधिकृत पुँजी थियो । जुन हाल कायम चुक्तापुँजीको ३ गुणा बढी हो । हाल युनिलिभरको चुक्तापुँजी ९करोड २० लाख ७० हजार रुपैयाँ रहेको छ । यसको मतलब यो भन्दा अगाडि नै यसले ३ गुणासम्म चुक्तापुँजी बढाउन सक्ने थियो,’ उनले भने ।

‘कम्पनीको रिजर्भमा ४ अर्ब रुपैयाँ भन्दा धेरै छ । ऋण छैन, अब यस्तो कम्पनीले धेरै पुँजी बनाएर गर्ने के ? अहिले अधिकृतपुँजी बढाउनलाई सरकारले छुट दिएको छ, शुल्क लाग्दैन । यसैकारण यो कम्पनीले पनि छुटको सुविधालिएको हो जस्तो लाग्छ । कि होल्डिङ कम्पनी ल्याउनलाई पुँजी बढाएको हुनसक्ला । तर, चुक्तापुँजी नै बढाउनको लागि अधिकृतपुँजी बढाएको हो भन्न चाँहि मिल्दैन,’ अधिवक्ता दाहाल भन्छन् । तर, अधिकृतपुँजी बढाउने निर्णयकै आधारमा अब चुक्तापुँजी पनि बढ्ने र यसका लागि कम्पनीले बोनस सेयर वा हकप्रद वितरण गर्छ भन्ने निष्कर्षमा भने पुगिहाल्न नहुने जानकारहरुको भनाई छ ।

त्यसो त, युनिलिभर जस्तै बोटलर्स नेपाल (तराई) को अधिकृत पुँजी ३ अर्ब १२ करोड १० लाख रुपैयाँ छ । तर, यो कम्पनीले चुक्तापुँजी बढाउने कुनै किसिमको घोषणा गरेको छैन । यसको पुँजी आर्थिक वर्ष २०७२÷७३ मा पनि त्यही थियो र अहिले पनि त्यही नै छ । जबकी यसको चुक्तापुँजी जम्मा १२ करोड १० लाख रुपैयाँमात्र छ । यसबाट के बुझ्न सकिन्छ भने चुक्तापुँजीको तुलनामा अधिकृतपुँजी अनुपात निकै बढी हुनसक्छ । यस्ता कम्पनीले आवश्यक नपरी चुक्तापुँजी बढाउँदैनन् ।

युनिलिभर लिमिटेडले आवश्यक नपरी ३० करोडबाट २ अर्ब १४ करोड अधिकृतपुँजी पु¥याएको होइन भन्ने तर्कहरु धैरैले गरिरहेका छन् । चुक्तापुँजी कम भएको हुनाले उसको सेयर सप्लाई पनि धेरै छैन । सप्लाई नभएसम्म मूल्य राम्रोसँग बढ्न सक्दैन । यसमा आधिकारिक सूचना नआएसम्म यस्तै हुन्छ भन्न नसकिने जानकारहरु बताउँछन् । हल्लै हल्लाको भरमा कुनै पनि कम्पनीको सेयर खरिदबिक्री गर्नु जोखिमयुक्त हुनसक्छ । यस्तै कुरालाई बढी प्राथमिकतामा राखेर केही स्वार्थ समूहले मूल्यमा ठूलो उतारचढाव ल्याउन सक्छन् ।

कम्पनीले कर्जा तिर्न, नयाँ आयोजनमा लगानी गर्न वा नियामकले निर्देशन दिएको खण्डमा क्यापिटल बढाउने गर्छन् । अन्यथा, व्यापार व्यवसाय पनि राम्रो चलिरहेको छ, नाफा र लाभांश वितरण क्षमता पनि राम्रो छ भने त्यस्ता कम्पनीले थप पुँजी बढाएको भने कमै देखिन्छ ।यस विषयमा कम्पनीलाई के पुँजी बढाउन साच्चै आवश्यक छ वा छैन ? भनेर लगानीकर्ता स्वयमले नै अध्ययन गर्नुपर्ने बताइएको छ । कतिपय अवस्थामा कम्पनीले कुनै मेसिनरी, पार्टपुर्जा खरिद गर्न वा कम्पनीका केही योजना कार्यान्वयन गर्न पनि अधिकृतपुँजी बढाइराख्ने निर्णय गर्न सक्छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*