एसईईमा मकवानपुरका २ हजार ९८ उत्तीर्ण

साझाकुरा
२०८१ असार १५, शुक्रबार १०:२६

हेटौंडा- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयले यस वर्षदेखि रिटोटलिङका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको हो ।कुन माध्यमबाट कसरी अनलाइन आवेदन दिने भन्ने खुलाइएको छैन । यसबारे बोर्डले छिट्टै सूचना जारी गरेर जानकारी दिने बोर्डले जनाएको छ । साथै शिक्षक विकास तथा समन्वय इकाई वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पनि सोझै निवेदन दिन सकिने छ । रिटोटलिङका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने हुन्छ ।

परीक्षाफल चित्त नबुझे, नतिजा नखुले, अनुपस्थित देखाए वा प्राक्टिकल मार्क्स नदेखाए रिटोटलिङ गर्न सकिनेछ ।माध्यमिक शिक्षा परीक्षामा मकवानपुरका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतीजा अनुसार मकवानपुरबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्नाहुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख दिनानाथ गौतमले बताए ।

मकवानपुरको नतीजा राष्ट्रिय नतीजा भन्दा कमजोर देखिएको छ । राष्ट्रिय नतीजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य छन् । मकवानपुरबाट एसईईमा सहभागी ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड) भएका छन् । मकवानपुरबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेको इकाईप्रमुख गौतमले जानकारी दिए ।

एसईईमा एउटा विषयमा मात्रै एनजी हुने ७ सय ३० जना र २ वटा विषयमा एजी हुने ६ सय २५ विद्यार्थी छन् । २ वटा विषयसम्म एनजी हुने विद्यार्थीले ग्रेडवृद्धिका लागि मौका परीक्षा दिन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षाको तालिका समेत सार्वजनिक गरेको छ ।हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुल हेटौंडाकी छात्रा रीतिका छत्कुली एसईई परीक्षामा मकवानपुर जिल्ला प्रथम भएकी छन् । शिक्षा विकास तथा समन्वय इकाईं मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ७ सय ५२ जनामध्ये उत्कृष्ट भएकी हुन् । उनी देशभरको सर्वोत्कृष्ट १८६ विद्यार्थीमध्ये समेत पर्न सफल भएकी हुन् ।

मनहरी गाउँपालिका भित्रका तीनवटा सामुदायिक विद्यालयका एकजना विद्यार्थीले पनि एसईई परीक्षा उत्तीर्ण गरेनन् । मनहरी गाउँपालिका–२ को सीता मावि, वडा नं ३ को महेन्द्रज्योति मावि र वडा नं ४ को पशुपतिनाथ मावि यो वर्षको नतिजामा निल देखिएको हो । राष्ट्रिय रोटरी माविबाट १०६ जना परीक्षार्थीमा २९ जनाले एसईइै पास गरेका हुन् । मनहरी–८ को महेन्द्रकिरण माविका ८९ जनामध्ये १९ जना उत्तीर्ण भएका छन् । बालजीवनज्योति माविका ४६ जनामा ७ जना पास भएका छन् । मनहरी–५ को भोजसिद्ध माविबाट २९ जनाले परीक्षा दिएकोमा १ जना उत्तीर्ण भएका छन् ।

पालिकाभरबाट कूल ४७७ परीक्षार्थीले परीक्षा दिएकोमा ११३ जना मात्रै उत्तीर्ण भएका हुन् । पास प्रतिशत २३ दशमलब ६९ मात्रै रहेको छ । यस्तै कैलाश गाउँपालिकाभित्रका २ वटा सामुदायिक विद्यालय निल गएको छ । कैलाश गाउँपालिकाभित्रका १९९ जनाले परीक्षा दिएकोमा ११ जना मात्र पास भएका छन् । एसईईको नतिजामा ग्रामीण क्षेत्रका विद्यालय कमजोर देखिएका छन् ।थाहा नगरपालिकाको २८.९६ प्रतिशत परीक्षार्थी एसइई उत्तीर्ण भएका छन् । परीक्षामा थाहाका विभिन्न १७ विद्यालयबाट ५ सय ११ परीक्षार्थीले परीक्षा दिएकोमा १ सय ४८ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । पालुङ इङ्लिस आवासीय माविबाट ८१.८२ प्रतिशत, सरस्वती विद्यामन्दिर बज्रवाराहीबाटे ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ सबैभन्दा बढी नाट्यश्वर मावि टौखेलबाट ४५.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

थाहामा सबैभन्दा कम विद्यार्थी उत्तीर्ण मत्स्यनारायण माविको भएको छ । मत्स्यनारायणबाट ८.३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नगरमै सबैभन्दा बढी ७३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी गराउने बागेश्वरी माविबाट २५ जना उत्तीर्ण भएका छन् । सबैभन्दा कम पालुङ मोडर्न इङ्लिस स्कूलले ५ जना सहभागी गराएकोमा २ जना उत्तीर्ण भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*