जम्कट्टेल सरकारलाई निम्तिएको संकट

साझाकुरा
२०८१ असार २२, शुक्रबार ११:५२

हेटौंडा- नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नेपाली कांग्रेससँग सरकार गठनको सहमति गरेपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मुख्यमन्त्री पद धरापमा पर्ने भएको छ ।प्रदेशसभाको दोस्रो कार्यकालका लागि २५ पुस २०७९ देखि मुख्यमन्त्रीको कुर्सीमा रहेका जम्कट्टेल कुनै राजनीतिक घटनाक्रममा परिवर्तन नआए सम्भवत महिना दिनमा सरकारबाट बाहिरिने सम्भावना छ । सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प छैन । उनी एमाले सरकारबाट बाहिरिएसँगै सोझै अल्पमतमा पर्नेछन् । प्रदेशको साढे ६ वर्षमा निरन्तर सत्तामा रहेका उनी अब प्रमुख प्रतिपक्षीको कित्तामा पुग्नेछन् ।

यद्यपि, बागमतीमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । एमालेका पाँच मन्त्रीले कार्यभार सम्हालिरहेका छन् । केन्द्रीय निर्देशनअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने र राजीनामा दिने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । लुम्बिनीमा भने एमालेले बिहीवार सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिएका छन् ।बागमतीबाट पनि एमाले केही समयमै सरकारबाट बाहिरिने नेताहरुको भनाई छ । बागमतीका हाल एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीका गठबन्धन सरकार छ । माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय, एमालेले पाँच, एकीकृत समाजवादीले ३ र हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालय सम्हालिरहेको छ ।

बागमतीमा नयाँ सत्ता समीकरणमा बाहिर आएको सहमतिअनुसार नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने जनाइएको छ । यद्यपि, यसलाई नै अन्तिम निर्णय मान्न नसकिनेमा एमाले र कांग्रेसकै नेताहरु बताउँछन् । जम्कट्टेलले मुख्यमन्त्रीबाट बिदा भएर नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढेसँगै सरकारको नेतृत्व कसले लिने भन्ने विषय टुंगो लाग्ने एमालेका एक सांसदले जानकारी दिए ।११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् । बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

मुख्यमन्त्री जम्कट्टेलले १८ महिनामा तीन पटक विश्वासको मत लिएर सत्ता टिकाएका छन् । अब भने उनले विश्वासको मत पाउने कुनै राजनीतिक आधार देखिँदैन । सत्तासमीकरण परिवर्तनसँगै जम्कट्टेलले ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए । एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।

उनले पहिलोपटकमा १०५ जना सांसद, दोस्रो पटकमा ६७ जना सांसद र तेस्रो पटक ५६ जना सांसदको विश्वासको मत पाएका थिए । तेस्रोपटक विश्वासको मत लिँदा एकीकृत समाजवादीकी रमा आलेमगरलाई मन्त्री बनाउने सर्तमा उनले निर्धारित समय भन्दा ४ घण्टा ढिला बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका थिए । एक सांसदको अनुपस्थितिमा विश्वासको मत लिन नसक्ने अवस्थाबाट गुज्रिएका मुख्यमन्त्री जम्कट्टेलले मगरलाई विनाविभागीय मन्त्री नियुक्त गरेर समर्थन लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*