मकवानपुरमा कुपोषणका कारण एक वर्षमा ४ जनाको मृत्यु

साझाकुरा
२०८१ असार २४, आईतवार १२:२०

हेटौंडा- कुपोषणका कारण मकवानपुरको कैलाश गाउँपालिकामा चालु आर्थिक वर्षमा चार बालबालिकाको मृत्यु भएको छ । पाँच वर्षमुनिका २ बालिका र २ बालकको मृत्यु भएको हो ।गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण यादवले गत साउनदेखि माघसम्म वडा ३, ४ र ७ का कुपोषणले ग्रस्त चार बालबालिकाको मृत्यु भएको बताए । जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा बालबालिका, सुत्केरी तथा गर्भवतीमा कुपोषणको दर उच्च देखिएको छ । राक्सिराङमा भने यस वर्ष कुपोषणका कारण ज्यान गएको घटना नभएको पालिकाका स्वास्थ्य शाखाप्रमुख विजय कापरीले बताए ।

अशिक्षा र गरिबीको चपेटामा रहेको चेपाङ समुदायमा कुपोषणको समस्या घट्न नसकेपछि त्यसको पहिचान र उपचारका लागि कैलाश गाउँपालिकाले चालु आवदेखि कुपोषण निराकरण अभियान चलाउँदै आएको छ । पालिकाले कडा शीघ्र कुपोषण भएकालाई बहिरंग स्वास्थ्य उपचार केन्द्र नै स्थापना गरी तथा मध्यम शीघ्रकालाई नियमितरुपमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।पालिकाले ‘कुपोषणरहित गाउँपालिका, हाम्रो अभियान’ सहित हरेक टोलमा पुगेर कुपोषितको ‘खोज र उपचार गर’ अभियान चलाएको हो । अभियानअन्तर्गत गाउँपालिकामा चालु आवमा ३४ महिला र ४८ बालबालिकामा कुपोषण पाइएको थियो । जसमध्ये २६ जना कडा शीघ्र कुपोषित र ५६ जना मध्यम शीघ्र कुपोषित रहेका भेटिए । गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्यचौकीका कर्मचारी र स्वास्थ्यस्वयंसेविका १० वटै वडामा परिचालन गरी एक साताको अभियान चलाएर कुपोषित गर्भवती र सुत्केरी महिला र बालबालिकाको खोजी गरिएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख यादवले बताए ।

अशिक्षा, गरिबी र बालविवाहका कारण गाउँपालिकामा कुपोषण बढिरहेको कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तानको भनाइ छ । कुपोषितको उपचारका साथै उनीहरुलाई आयआर्जनमुखी काममा जोड्न तरकारीको बीउ वितरण, उन्नत जातको बाख्रा वितरण पनि गरिएको अध्यक्ष मुक्तानले बताए । कैलाशसँगै जोडिएको चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ गाउँपालिकामा पनि कुपोषित बालबालिका उल्लेख्य छन् । यहाँ ५ वर्षमुनिका ९८ बालबालिका कुपोषणले ग्रस्त छन् । पालिकाले उनीहरुका निम्ति पोषणको व्यवस्था गरेको छ ।

गतवर्ष बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको अध्ययनअनुसार मकवानपुरमा ११ महिना उमेरसम्मका १ सय ४७ र १ वर्षदेखि २३ महिना उमेरका ७६ बालबालिका कुपोषणले ग्रसित रहेको पाइएको थियो । वागमती प्रदेशका १३ जिल्ला मध्ये ११ महिनासम्मका बालबालिकामा सबैभन्दा धेरै कुपोषित ललितपुरका छन् । बागमती प्रदेशमा २३ महिनासम्मका १ लाख ५४ हजार ७ सय ५९ बालबालिका रहेकामा २ हजार ५ सय ९५ जना कुपोषणले ग्रसित छन् । कुपोषणग्रस्त बालबालिका मध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ रहेको निर्देशनालयले जनाएको छ ।

बालबालिकालाई कुपोषण बाट मुक्त गर्नका लागि सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको भए पनि अधिकांश अभिभावकले बालभिटा नखुवाउने गरेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । मकवानपुरको स्थानीय तहमा लक्ष्य र तथ्यांक अनुसार बालभिटा खाने बालबालिकाको संख्या ज्यादै न्यून छ । स्थानीय तहले बालभिटा खपत नभएपछि म्याद नाघेर नष्ट गर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*