कुलेखानी जलाशयमा पानीको सतह बढ्यो

साझाकुरा
२०८१ असार २५, सोमबार १३:१९

हेटौंडा- कुलेखानी जलाशयमा पानीको सतह २४ घन्टामा करिब साढे ८ मिटर बढेको छ । जलाधार क्षेत्रमा शुक्रबार रातीदेखि शनिबार अपरान्हसम्म अविरल वर्षा भएकाले २४ घन्टामै जलाशयमा साढे ८ मिटर पानी संकलन भएको हो ।शुक्रवार बेलुका कुलेखानी जलाशयको सतह १ हजार ४ सय ८५ दशमलब ६६ मिटर थियो भने शनिवार वबेलुका १ हजार ४ सय ९३ दशमलब ३५ मिटर पानीको सतह पुगेको थियो । दामन, पालुङ, चित्लाङ, मार्खु, फाखेल, वज्रवराही लगायत जलाधार क्षेत्रमा शुक्रवार रातीदेखि भारी वर्षा भएकाले २४ सै घन्टामा जलाशयको सतह साढे ८ मिटर वढेको कुलेखानी प्रथम जलविद्युत् केन्दका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

आइतबार जलाधार क्षेत्रमा वर्षा नभएकाले जलाशयमा प्रतिघन्टा १० सेन्टिमिटर पानीको सतह वढेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशयको सतह यो वर्ष १ हजार ४ सय ८३ दशमलव ८६ सेन्टिमिटरसम्म झरेको थियो । सुख्खायाममा दैनिक झण्डै एक मिटर नै पानीको सतह घट्ने गरी कुलेखानी सञ्चालन गरिएको थियो ।विद्युत् आपूर्ति सन्तुलन गर्न र विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्ने गरिन्छ । विगत २ दिनदेखि कुलेखानी सञ्चालनमा ल्याइएको छैन । पाँचसय मिटर चौडाई र सात किलोमिटर लम्वाई रहेको कुलेखानी जलाशय वर्षायाममा भर्ने र सुख्यायाममा विद्युत् उत्पादन गर्न पानी खपत गर्ने गरिन्छ ।

कुलेखानी जलाशयमा संकलन गरिएको पानी एक हजार ४ सय ८३ मिटर सतहमा झरेपछि विद्युत उत्पादनका लागि पानी प्रयोग गर्न सकिँदैन । कुलेखानी जलाशयमा समुन्द्री सतहबाट एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । २०७२ सालको भुकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दाबढी पानीको संकलन गर्दा बढी जोखिम हुने प्राविधिकहरुले बताएका छन् । जसले गर्दा गतवर्ष एक हजार ५ सय २७ मिटर पानी संकलन गरिएको थियो ।

एक हजार ५ सय ३० मिटर पानी जलाशयमा संकलन हुँदा ४७ मिटर संकलित पानी विद्युत् उत्पादनमा लागि प्रयोग गर्न सकिन्छ भने एक हजार ५ सय २७ मिटरमात्र पानी संकलन भएको अवस्थामा ४४ मिटरमात्र पानी विद्युत उत्पादनका लागि उपयोग गर्न सकिन्छ । कुलेखानी प्रथमबाट ६० दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुनेगर्छ । यो नेपालको एकमात्र जलासययुक्त आयोजना हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*