चार महिनामै अल्पमतमा जम्कट्टेल, एमालेको समर्थन फिर्ता

साझाकुरा
२०८१ असार २६, मंगलवार ०९:३६

हेटौंडा-नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल चार महिनामै अल्पमतमा परेका छन् ।नेपाली कांग्रेससँगको एकवर्ष लामो गठबन्धन तोडेर एमालेसँग सत्तासाझेदारी गरेका मुख्यमन्त्री जम्कट्टेल चार महिनामै अल्पमतमा परेका हुन् । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । जम्कट्टेललाई आफ्नै दल माओवादी केन्द्रको २१, एमालेको २७, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ५७ सांसदमध्ये ५६ जना सांसदले विश्वासको मत दिएका थिए । एमालेले समर्थन फिर्ता लिएसँगै उनी सोझै अल्पमतमा परेका हुन् ।

बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७, राप्रपाका १३, नेमकिपाका ३ सांसद छन् । नयाँ सत्तासमिकरणका लागि सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमालेसँग गरेर मात्रै ६४ सांसद छन् । सरकार बनाउन यी दुई दलसँग स्पष्ट बहुमत रहेको छ ।मुख्यमन्त्रीको कुर्सीमा रहेका जम्कट्टेल कुनै राजनीतिक घटनाक्रममा परिवर्तन नआए सम्भवत महिनादिनमा सरकारबाट बाहिरिने सम्भावना छ । सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प छैन । उनी एमाले सरकारबाट बाहिरिएसँगै सोझै अल्पमतमा परेका हुन् । प्रदेशको साँढे ६ वर्षमा निरन्तर सत्तामा रहेका उनी अब प्रमुख प्रतिपक्षीको कित्तामा पुग्नेछन् ।

सोमबार बागमती सरकारलाई दिएको समर्थ र एमालेका पाँचजना मन्त्रीले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा बुझाएका थिए । २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समिकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । चैतमा एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भयो ।सरकारमा माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय, एमालेले पाँच, एकीकृत समाजवादीले ३ र हाम्रो नेपाली पार्टीले एउटा मन्त्रालय सम्हालिरहेको छ । समाजवादीलाई चैतमा थप एउटा मन्त्रालय दिइएको थियो । सोमबारसम्म एमालेले मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन कायम राखेका छन् ।

नयाँ सत्तासमिकरण बनेसँगै बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । केन्द्रीय समिकरण अनुसार बागमतीमा पनि सरकार गठन हुने भएकाले नयाँ गठबन्धनमा अन्य दल सहभागी हुने वा नहुनेबारे अहिले नै टुंगो लागिसकेको छैन ।मुख्यमन्त्री जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानीमन्त्री एकालाल श्रेष्ठले राजीनामा बुझाए । प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रोपटक सरकारबाट बाहिरिएको छ ।

२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्तासमीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो । त्यो सरकार साँढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिए । २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्तासमिकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भयो ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*