अख्तियार हेटौंडामा राजस्व हिनामिनाको उजुरी बढ्दोे

साझाकुरा
२०८१ मंसिर २५, मंगलवार ११:०६

हेटौंडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा पछिल्लो समय राजस्व हिनामिनाको उजुरी बढ्दो छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म परेका उजुरीमध्ये अधिकांश उजुरी राजस्व हिनामिनाको रहेको पाइएकोे हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कार्यालयप्रमुख उमाकान्त आचार्यले चालु आवको चार महिनाको अवधिमा एक हजार ६६० उजुरी परेकोमा एक हजार ७६ उजुरी राजस्व हिनामिनाको रहेको जानकारी दिए । उनका अनुसार, अख्तियारको कार्यालय हेटौंडामा दर्ता भएको उजुरीमध्ये ७०० फर्छ्यौट भएको छ भने ९६० फर्छ्र्यौट हुन बाँकी छ ।

कार्तिक मसान्तसम्म गैरकानुनी लाभहानीका १८८, विविध १२६, सार्वजनिक खरिद निर्माण १००, भूमि ४९, शैक्षिक प्रमाणपत्र १०, गैर कानुनी सम्पत्ति ९ र घुस, रिस्वतसम्बन्धी २ वटा उजुरी दर्ता भएको उनले बताए । आयोगमा फेसबुक, समाचारपत्र, आयोगको वेबसाइड, भाइबर, हुलाक सेवा, इमेल, मोवाइल एप, हेलो सरकार, टेलिफोन, राष्ट्रिय सतर्कता केन्द्र, प्रमुख जिल्ला अधिकारी र लिखित निवेदन पर्ने गरेको पाइएको छ ।

तीमध्ये लिखित, इमेल र हुलाकबाट उजुरी आउनेको संख्या धेरै रहेको आयोगको तथ्यांकमा उल्लेख छ । आयोगको कार्यालय हेटौंडाले मकवानपुरसहित रौतहट, बारा, पर्सा, चितवन, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखालाई कार्यक्षेत्र बनाएर उजुरी लिने र आवश्यक कारबाही गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*