निर्मल माविको अभिभावकसँग प्रत्यक्ष संवाद
हेटौंडा- हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयले अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएको छ । विद्यालयमा आयोजित ५० औँ वार्षिक अभिभावकभेलामा शैक्षिक नीति, कार्यक्रम तथा आय–व्यय सार्वजनिक गर्दै अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा–१९ का वडाअध्यक्ष नरनाथ सुवेदी प्रमुखअतिथिकारुपमा सहभागी थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष इन्दिरा तामाङसहित विभिन्न व्यवस्थापन समिति सदस्यको उपस्थिति रहेको थियो । भेलामा प्रधानाध्यापक प्रबोध बिडारीले चालु शैक्षिक वर्षको नीति तथा कार्यक्रम र आय–व्यय विवरण प्रस्तुत गर्दै पारदर्शितालाई संस्थागत बनाउने प्रयास गरिएको बताए । आगामी शैक्षिक वर्षका योजना प्रस्तुत गर्दै विद्यालयको गुणस्तर अभिवृद्धिमा अभिभावकको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओलीले स्वर्णमहोत्सवको आय–व्यय प्रतिवेदन सार्वजनिक गरेका थिए, जसले विद्यालयका गतिविधिमा आर्थिक पारदर्शिताको अभ्यासलाई थप बलियो बनाएको छ । कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन गर्नुकासाथै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । अन्जना बस्नेतको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गर्दै विद्यालय अभिभावक सहकार्यलाई अझ सुदृढ बनाउने प्रयास गरिएको छ । स्वागत मन्तव्य सहायक प्रधानाध्यापक सुनिल लामाले व्यक्त गरेका थिए भने कार्यक्रमको समापन पूर्वअध्यक्ष इन्दिरा लामाले गरेका थिए ।







