‘नीति, नेतृत्व र युवा सहभागिता’ विषयक प्यानल छलफल : ‘नेतृत्वको निर्माण विचारले गर्छ, उमेरले गर्दैन’

साझाकुरा
२०८२ बैशाख ३०, मंगलवार ११:४१

हेटौंडा- नेकपा एमालेका मुख्यसचेतक महेश बर्तौलाले देशको युवाशक्ति राजनीतिबाट बेखबर बन्न नहुने बताएका छन् ।प्रदेश युवा परिषद् बागमतीको आयोजनामा सञ्चालित प्रदेश युवा सम्मेलन अन्तर्गतको ‘नीति, नेतृत्व र युवा सहभागिता’ विषयक प्यानल छलफलमा उनले युवाहरु देशको राजनीतिप्रति सचेत हुनुपर्ने बताए । दलका शीर्ष नेतृत्वहरु राजनीतिबाट बाहिरिँदै गर्दा देश ‘कम्पास हराएको जहाज’ जस्तो हुनसक्ने भएतापनि युवा राजनीतिबाट टाढा हुँदा देश ५० वर्ष पछाडि जानसक्ने उनको भनाई छ । ‘देशको राजनीतिलाई सकारात्मक ढंगले सौचौँ, राजनीतिबाट भएको परिवर्तनलाई थप व्यवस्थित बनाउँदै लगौँ’ बर्तौलाले आग्रह गरे ।

मुख्यसचेतक बर्तौलाले पछिल्लो समय युवा पुस्ताले राजनीतिलाई घृणाको दृष्टिकोणले हेर्ने गरेको गुनासो गरे । देशको आर्थिक, सामाजिकलगायत सबै क्षेत्रको विकासको नेतृत्व राजनीतिले गर्ने उनकोे धारणा छ । नेतृत्वको आलोचना मात्रै नगर्न पनि उनले आग्रह गरे । मुख्यसचेतक बर्तौलाले जिम्मेवारी बोधका साथ युवापुस्ताले नेतृत्वलाई काउन्टर दिनुपर्ने बताए । दलहरु जनताबाट अनुमोदित हुने र नेताहरु कार्यकर्ताबाट अनुमोदित हुने व्यवस्था बमोजिम नै सबै दलहरु अगाडि बढिरहेको उनले बताए ।

‘हरेक ५ वर्षमा नेताले जनताको बीचमा गएर आफ्नो सान्दर्भिकता पुष्टि गर्नुपर्छ’ उनले भने, ‘अबको योग्य मान्छे म हुँ भन्ने ठाउँबाट युवा पुस्ताले सोच्नुपर्छ ।’ त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारलेराजनीतिबाटै देशको आर्थिक, सामाजिक परिवर्तन सम्भव भएको बताए । देशको राजनीतिलाई व्यवस्थित गर्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उनको भनाई छ । ‘हामीले देशको राजनीतिलाई कसरी व्यवस्थित गर्ने भन्ने सपना देख्नुपर्छ’ उनले बताए, ‘त्यही सपनाबाट नै देशमा देखापर्ने हरेक समस्याको समाधान निकाल्न सकिन्छ ।’

सहमहामन्त्री परियारले राज्यको हरेक तहमा युवाको नेतृत्व आवश्यक छ भन्ने विषयमा प्रमुख राजनीतिक दलहरु एकमत रहेको जिकिर गरे । २०७४ सालको निर्वाचनमा २१ वर्षदेखि ४० वर्ष उमेर समूहका ३९ प्रतिशत युवाको स्थानीय तहमा प्रतिनिधित्व रहेको उनले बताए । युवा पुस्तालाई आर्थिक उपार्जनको बाटोमा लैजानुपर्ने समेत उनको भनाई छ । मुलुकमा परिवर्तन सम्भव छ भन्ने भावना युवापुस्ताले सिर्जना गर्नुपर्ने उनको धारणा छ । सहमहामन्त्री परियारले सरकारले युवाको क्षेत्रमा नीति नियम बनाए पनि पर्याप्त भने हुन नसकेको बताए ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का सांसद् पूर्णबहादुर घर्तीले नेतृत्वको निर्माण उमेरले नभई विचारले गर्ने बताए । अहिले नेपालमा लोकतान्त्रिक पद्दतिद्वारा नेतृत्व चयन हुने व्यवस्था भएकोले ओली, देउवा, प्रचण्ड बारम्बार नेतृत्वमा रहन्छ भन्नु उचित नभएको उनकोे भनाई छ । सांसद् घर्तीले शीर्ष नेतृत्वलाई लोकतान्त्रिक विधिबाटै पराजित गर्न युवा पुस्ताले उत्कृष्ट सिद्धान्त र विचार प्रतिपादन गर्नुपर्ने बताए । समयको अधिकतम सदुपयोग गरेर आपूmलाई देश र जनताप्रति समर्पित गर्न उनले युवालाई आग्रह गरे ।

सांसद् घर्तीले लामो संघर्ष गरेकै कारण शीर्ष नेताहरु नेतृत्व तहमा पुगेको बताए । उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट महिला, दलित, युवा पर्याप्त सन्तुष्ट हुन नसकेका बताए । यसबाट नेतृत्वकर्ताले अझ बढी जिम्मेवारी बोधका साथ काम गर्नुपर्छ भन्ने प्रष्ट भएको उनको बुझाई छ । राज्य व्यवस्था सञ्चालकले गरेको गतिविधिलाई आशावादी दृष्टिकोणले हेर्नुपर्ने उनले बताए ।

नयाँ संविधान जारी भएपछि सरकारले युवाको क्षेत्रमा के कस्ता नीतिहरु ल्याए, के कस्ता कानुनहरु निर्माण गरे त्यसलाई बहसको विषय बनाउनुपर्ने उनको भनाई छ । कार्यक्रमको सहजीकरण अग्रज पत्रकार दिलभुषण पाठकले गरेका थिए । सम्मेलनको अन्तिम दिन आज मंगलबार मुख्यमन्त्रीसँग युवा संवाद् अन्तरक्रिया हुनेछ । सम्मेलनमा ७ वटै प्रदेशबाट ३ सय भन्दा बढी युवाको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*