चुनाव लड्न बागमती प्रदेशका ६ सांसद्ले दिए राजीनामा
हेटौंडा- बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न ६ जना प्रदेशसभा सदस्यले राजीनामा बुझाएका हुन् । नेपाली कांग्रेसबाट दोलखा १ (क) का कुन्दनराज काफ्ले, नेकपा एमालेबाट काठमाडौं ७ (ख) का प्रकाश श्रेष्ठ र ६(ख) का अमनकुमार मास्के, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं २ (क) का सुनिल केसी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सिन्धुपाल्चोक २(ख) का युवराज दुलाल र काठमाडौं ७ (क) का बसन्त मानन्धरले राजीनामा दिएको उपसभामुख अप्सरा चापागाईले जानकारी दिइन् । ६ जना प्रदेशसभा सदस्यले सोमबार नै पदबाट राजीनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको र प्रक्रिया अगाडि बढिसकेको उनले बताइन् ।
पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका दोलखाका काफ्लेले सोमबार हेटौंडा–१० स्थित प्रदेशसभामै उपस्थित भएर उपसभामुख चापागाईंलाई राजीनामा बुझाएका हुन् भने मास्के, श्रेष्ठ, दुलाल, मानन्धर र केसीले प्रदेशसभाको इमेलमा राजीनामा पठाएका हुन् । राजीनामा दिएपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै काफ्लेले दोलखाका जनताको भावनाअनुसार नै संघमा चु्नाव लड्न आपूmले राजीनामा दिएको बताएका छन् । पार्टीबाट टिकट पाउने सुनिश्चित भइनसकेको बताउँदै उनले पार्टी र राष्ट्रको समस्या समाधान गर्न आपूm अब्बल रहेको दाबी गरे ।
अमन मास्के काठमाडौं ६ बाट प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् भने प्रकाश श्रेष्ठ काठमाडौं ७ बाट निर्वाचन लड्ने भएका हुन् । तत्कालीन नेकपा एसबाट निर्वाचित भएका वसन्त मानन्धर पनि नेकपाबाट काठमाडौं ७ कै उम्मेदवार बनेका छन् । यता, सिन्धुपाल्चोकबाट दुईपटक प्रदेश सभामा निर्वाचित भएका युवराज दुलाल नेकपाबाट सिन्धुपाल्चोक २ को उम्मेदवार बनेका छन् ।
fकाठमाडौँबाट निर्वाचित भएका राप्रपाका सांसद सुनिल केसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा होमिने चर्चा छ । यद्यपि, हालसम्म कुन क्षेत्रबाट टिकट पाउने भने निश्चित भैसकेको छैन । दोलखा १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका कुन्दनराज काफ्लेले पनि टिकट पक्का नहुँदै राजीनामा दिएका हुन् । योसँगै ११० सदस्यीय प्रदेशसभामा सांसदको संख्या १०४ भएको छ ।







