मकवानपुरमा निर्वाचन आचारसंहिता उलङ्घन बढ्दै
हेटौंडा- फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरमा निर्वाचन आचारसंहिता उलंघनका घटना बढ्दै जान थालेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा राजनीतिक दलका प्रतिनिधिसहित सर्वपक्षीय बैठक बस्दै आचारसंहिता अनुगमन समितिले उलंघनका घटनाबारे स्पष्ट पारेको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हालसम्म समितिमा २ वटा लिखित उजुरी र सामाजिक सञ्जालमार्फत् ७ वटा उजुरी परेको जानकारी दिएका छन् । आचारसंहिता अनुगमन समितिले २ वटा लिखित उजुरी तथा सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, हवाट्सएपमार्फत् ७ वटा उजुरी परेको जनाएको छ । अधिकांश उजुरी दलका उम्मेदवारको चिन्ह र पोष्टर अंकित भएका भेष्ट, टिसर्ट, क्याप, ब्याग प्रयोग गरेको विषयमा परेको सहायक प्रजिअ जोशीले बताए ।
यस्तै, निर्वाचन आयोगको अनुमति प्राप्त सवारी साधनभन्दा बाहेकका अटोलगायत सवारी साधनमा दल तथा उम्मेदवारको पोष्टर लगाइएको पाइएको उनले बताए । यसबाहेक विद्यालयमा राजनीतिक क्रियाकलाप सञ्चालन गरेको, स्थानीय जनप्रतिनिधि आफ्नो पालिका बाहिरमात्र प्रचारप्रसारमा जान पाउने भएपनि आफ्नै पालिकाभित्र प्रचारप्रसारमा सक्रिय भएको पाइएको, आचारसंहिताले तोकेको स्थानभन्दा अन्यत्र झण्डा तथा पोष्टर राखेको, स्थानीय तहका सरकारी सवारी साधनसमेत दलको पक्ष तथा विपक्षमा माइकिङ गर्दै प्रयोग गरिएकोजस्ता गुनासा तथा उजुरी समितिमा आइपुगेको उनले स्पष्ट पारे ।
उनले यस्ता सामग्री प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको भन्दै निर्वाचनसम्म यस्ता कार्यहरु गरेको पाइएमा निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गरिने चेतावनी दिए । दलको चिन्ह, झण्डा, उम्मेदवारको पोष्टर अंकित टिसर्ट तथा भेष्ट बिक्री गरिरहेका ९ जनालाई शुक्रबार नै हेटौंडाबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचनको अन्तिम तयारी भइसकेको जानकारी दिए । निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी, मतदान सामग्री सबै अन्तिम व्यवस्थापन टुंग्याइएको उनले बताए । प्रजिअ अधिकारीले विकृति नै संस्कृति बन्ने परिपाटीले सच्चिन असहज हुने बताउँदै निर्वाचनमा सबै पक्ष तथा नागरिक सचेत हुनुपर्ने बताए ।
उनले निर्वाचनको मुखमा फागुपूर्णिमा पर्ने भएकोले यो चाडलाई सकारात्मकरुपले व्यवस्थापन गर्नुपर्ने चुनौती आफूहरुलाई थपिएको बताए । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यंक्रममा निर्वाचन अधिकृत देवेन्द्रराज आचार्य, बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जनक पुरी, प्रहरी वरिष्ठउपरीक्षक प्रभुप्रसाद ढकाल, जिल्लास्थित राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिलगायत सञ्चारकर्मीको सहभागिता थियो ।







