१,३६९ उम्मेदवारले खोलेनन् चुनावी बैंकखाता, के हुन्छ कारबाही ?
हेटौंडा- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका ठुलो संख्याका उम्मेदवारले निर्वाचन आयोगको व्यवस्था उल्लंघन गर्दै चुनाव केन्द्रित बैंकखाता सञ्चालन नगरेको पाइएको छ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई चुनावीखर्च बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको थियो । निर्वाचनलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्थागरिएको भएपनि एक हजार बढी उम्मेदवारले त्यसलाई बेवास्ता गरेका छन् । आयोगकाअनुसार निर्वाचनमा ३ हजार ४ सय ६ उम्मेदवार सहभागी भएका थिए । तर, तीमध्ये २ हजार ३७ जनाले मात्र निर्वाचन केन्द्रित बैंकखाता सञ्चालन गरेका छन् ।
बाँकी १ हजार ३ सय ६९ उम्मेदवारले भने आयोगको व्यवस्था पालना नगरी बैंकखाता नै नखोलेको तथ्य सार्वजनिक भएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७५ वटा राजनीतिक दल र समानुपातिक तर्फ ६३ वटा दल सहभागी भएका थिए । तर, निर्वाचन सम्पन्न हुँदासम्म केवल ११ दलले मात्र चुनावीखर्चका लागि बैंकखाता सञ्चालन गरेका थिए । निर्वाचन सम्पन्न भइसके पनि यस विषयमा आयोगले अहिलेसम्म कुनै ठोस निर्णय नगरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसादभट्टराईले यस विषयमा आयोगले छलफल गरेर आवश्यक निर्णय गर्ने बताए ।
उनले बैंकखाता सञ्चालन नगरी जथाभावी खर्च गर्ने उम्मेदवारमाथि खर्चको आधारमा कारबाही हुने जानकारी दिए । आयोगले चुनावी खर्चलाई पारदर्शी बनाउने उद्देश्यले ‘निर्वाचन प्रचार–प्रसार बैंकखाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको थियो । कार्यविधि अनुसार निर्वाचनमा भागलिन आयोगमा दर्ता भएका राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारका लागि प्राप्त हुने आर्थिक सहयोग, चन्दा तथा सबै खर्च विशेष बैंक खातामार्फत् मात्र गर्नुपर्ने व्यवस्था गरिएको थियो । नगद कारोबारलाई निरुत्साहित गर्दै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्ने उद्देश्यले आयोगले यस्तो व्यवस्था गरेपनि धेरै राजनीतिक दल तथा उम्मेदवारले त्यसलाई बेवास्ता
गरेको देखिएको छ ।







