प्राधिकरणको केन्द्रीय वर्कसपले ग¥यो नौ सय ट्रान्सफर्मर मर्मत

साझाकुरा
२०८२ चैत्र २, सोमबार ११:४५

हेटौंडा-कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय वर्कसपले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ ।कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठकाअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि हालसम्म वर्कसपमा विभिन्न जिल्लाबाट बिग्रिएर आएका ती ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाइएको हो । गत आर्थिक वर्ष २०८१÷८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको यो वर्कसपले चालु आवमा एक हजार ५०० को हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताए । ‘हामीसँग चाहिने जति जनशक्ति छैन, केही समय ट्रान्सफर्मरमा प्रयोग हुने तेल र तामाको मूल्य बढेर आपूर्तिका लागि टेन्डर हुन नसक्दा मर्मतको काम रोकियो’, उनले भने, ‘पछिल्लो दुई महिनादेखि ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ, लक्ष्य भेटाउने गरी काम गर्छौं ।’

वर्कसपले मधेश प्रदेश, गण्डकीका सबै जिल्ला तथा बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली जिल्लामा जडान भएका ट्रान्सफर्मर मर्मत गर्दै आएको छ । कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन् । प्रमुख श्रेष्ठकाअनुसार कार्यालयमा माथिल्लो तहको जनशक्ति भएपनि हेल्पर, जुनियर हेल्परको अभाव छ । ‘ट्रान्सफर्मर खोल्न र लगाउन हेल्पर र जुनियर हेल्पर आवश्यक हुन्छ, ती कर्मचारी हामीसँग तीनजना मात्रै छन् । त्यसैले काम गर्न समस्या भइरहेको छ ।’

ट्रान्सफर्मर मर्मतको संख्या र दायित्व बढे पनि पुरानै दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन हुँदा सोचेअनुसार काम गर्न समस्या रहेको उनले बताए । जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पटकपटक पत्राचार गरेपनि खासै उपलब्धि नभएको श्रेष्ठको भनाइ छ । उनकाअनसार हाल यहाँ महिनामा एक सय ५० देखि दुई सयसम्म ट्रान्सफर्मर मर्मत भइरहेका छन् । ‘मुलुकमा खाना पकाउने ग्यासको अभाव भइरहेको छ, यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढ्न सक्छ र गर्मी पनि बढ्ने भएकाले अत्यधिक संख्यामा ट्रान्सफर्मर बिग्रिन सक्ने सम्भावना छ’, प्रमुख श्रेष्ठले भने, ‘जनशक्ति नबढाइए समयमा ट्रान्सफर्मर गर्न कठिनाइ हुनसक्छ, यसमा केन्द्रको ध्यानाकर्षण गराइरहेका छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*