निर्माण सामग्री मकवानपुरमा तिमल्सिनाको नेतृत्व
हेटौंडा-निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुदिप तिमल्सिना (सञ्जिव) चयन भएका छन् । हेटौंडामा भएको संघको १५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।संघको उपाध्यक्ष रोशन सापकोटा, महासचिव जीवन ढकाल, कोषाध्यक्ष अमित श्रेष्ठ, सचिव सुवास दाहाल तथा सदस्यमा धर्मराज ढकाल, सतिश अधिकारी, काशीनाथ छ्त्कुली, राजन अधिकारी र सुरेश रिजाल चयन भएका छन् । अध्यक्षमा सर्वसम्मत चयन भएका तिमल्सिनाले संस्थागत एवम् व्यवसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवसायीले आफूलाई गरेको विश्वासलाई सदैव सम्मान गर्नेे बताए । संघका तत्कालीन अध्यक्ष बालकृष्ण बजगाइँको अध्यक्षतामा भएको साधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।
रानाभाटले समग्र व्यवसायी झैं निर्माण सामग्री व्यवसायी पनि पीडामा रहेको बताए । अब स्थिर सरकार आएपछि व्यवसायीलाई राहत पुग्ने उनको विस्वास रहेको थियो । सडक विस्तारको नाममा बजार अस्तब्यस्त हुँदा झन् समस्या भएको भन्दै अध्यक्ष रानाभाटले यस विषयलाई छिटो भन्दा छिटो किनारा लगाउन अनुरोध गरे । निर्माण सामग्री व्यवसायमा आबद्ध सबैलाई उद्योग वाणिज्य संघको सदस्यता लिन पनि उनले आग्रह गरे । निर्माण सामग्री व्यवसायी संघ मकवानपुरमा एकसय ५० भन्दा बढी व्यवसायी आबद्ध रहेका छन् ।
साधारणसभामा मकवानपुर अधिकृत विक्रेता संघका अध्यक्ष राजेन्द्र लामिछाने, निर्माण सामग्री व्यवसायी संघका सल्लाहकार नारायण बर्तौला, मउवा संघका वस्तुगततर्फको उपाध्यक्ष काव्यमणी अधिकारी, शिवम सिमेन्टका नायव महाप्रबन्धक राममणि त्रिपाठी, निर्माण सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने, ओम शिवम् पाइप एन्ड फिटिङका नायवमहाप्रबन्धक विक्रम खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।







