९२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया

साझाकुरा
२०८३ बैशाख १३, आईतवार १२:१८

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकामा तिलगंगा सामुदायिक आँखा उपचार केन्द्र पालुङको आयोजनामा बृहत् आँखा शिविरबाट ग्रामीण तथा दुर्गमक्षेत्रका बिरामीलाई सहज भएको छ ।भिजन हिमालयन फाउन्डेसन, थाहा नगरपालिका तथा कैलाश गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको शिविरमार्फत् ९२ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । केन्द्रका नेत्रसहायक बिबेक राजथलाका अनुसार शल्यक्रिया गरिएका बिरामीमध्ये ४६ जनाको फेको प्रविधिबाट र ४२ जनाको एसआईसीएस विधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । त्यस्तै, ४ जनाको आँखामा मासु पलाउने समस्या सम्बन्धी सल्यक्रिया गरिएको छ । शिविर अवधिभर ६८५ जनाको आँखा परीक्षण गरिएको थियो, जसबाट छनोट गरिएका बिरामीलाई सल्यक्रियाका लागि केन्द्रमा ल्याइएको थियो ।

शिविर बैशाख ७ गतेदेखि १० गतेसम्म थाहा नगरका विभिन्न वडा तथा कैलाश गाउँपालिकाको गोगने क्षेत्रमा सम्पन्न गरिएको हो । शिविरमा हेटौंडास्थित आँखा अस्पतालबाट आएका आँखासौन्दर्य विशेषज्ञ मोहिनी श्रेष्ठसहितको चिकित्सक टोलीले उपचार सेवा प्रदान गरेको थियो ।शल्यक्रियापश्चात् आयोजित पट्टिखोल्ने कार्यक्रममा थाहा नगरप्रमुख विष्णु बिष्टले जनप्रतिनिधिले पाउने भत्ताको सदुपयोग गर्दै स्थापना गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्रले अहिले छिमेकी पालिकाको नागरिकलाई समेत सेवा दिइरहेको उल्लेख गरे ।

उनले केन्द्रको स्तरोन्नतिका लागि नगरपालिका निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए ।कार्यक्रममा थाहा नगरउपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललगायतको उपस्थिति रहेको थियो । शिविरले विशेषगरी कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र थाहा नगरका दृष्टि समस्या भएका नागरिकलाई राहत पु¥याउँदै स्थानीय तहमै गुणस्तरीय आँखाउपचार सेवा उपलब्ध गराउने प्रयासलाई थप मजबुत बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*