शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मकवानपुर बहुमुखी क्याम्पसको सहकार्य
हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसले मकवानपुरगढी गाउँपालिका–७, सुकौरास्थित जनता माविको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहकार्य गर्ने भएको छ ।क्याम्पसले विद्यालय तहमा नै विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न विद्यालयहरुसँग सहकार्य गर्न सुरु गरेको हो । सोमबार मकवानपुर बहुमुखी क्याम्पसमै क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय र जनता माविका प्रधानध्यापक ज्ञानबहादुर रुम्बाले सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार क्याम्पसले जनता माविका विद्यार्थीका लागि कम्प्युटर तथा विज्ञान प्रयोगशाला र पुस्तकालय सञ्चालनसम्बन्धी तालिमका लागि विज्ञ जनशक्ति उपलब्ध गराउने भएको छ । यस्तै विषयगत शिक्षक तथा कर्मचारी तालिम सञ्चालनका लागि पनि क्याम्पसले विज्ञ जनशक्ति उपलब्ध गराउने जनाइएको छ । तालिम सञ्चालन गर्न आवश्यक स्रोत, सामग्री विद्यालयले नै व्यवस्थापन गर्नुपर्नेछ । विश्वविद्यालय अनुदान आयोगबाट अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको मकवानपुर बहुमुखी क्याम्पसले विद्यालय तहमै गुणस्तरीय विद्यार्थी उत्पादन गर्न यस किसिमको सहकार्यको सुरुवात गरेको जनाएको छ ।
आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा पनि सहकार्यको सुरुवात गरिने क्याम्पस प्रमुख डा. उपाध्यायको भनाइ छ । साझेदारीसम्बन्धी हस्ताक्षर गर्ने कार्यक्रममा जनता मावि व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बालगाएतको सहभागिता रहेको थियो ।







