जनप्रिय माविमा गणित विषयको ल्याव
हेटौंडा- हेटौंडा–१६, मा अवस्थित जनप्रिय माविमा गणित विषय शिक्षणका लागि अत्याधुनिक ल्याब स्थापना गरिएको छ ।गणित विषय विभागका शिक्षक तथा विद्यार्थी स्वयम्को सक्रियतामा ल्याब निर्माण गरिएको छ । ल्यावको निर्माण र प्रयोगपछि जस्तासुकै अमूर्त विषयलाई पनि गर्दै र सिक्दै पद्दतीबाट एवम् जानेकोबाट नजानेकोतर्फ तथा अभ्यासबाट सुत्रतर्फ लैजान सकिने भएकोले ल्याब स्थापना गरिएको विद्यालयले जनाएको छ ।ल्याबको प्रयोगबाट बालबालिकामा वैज्ञानिक सोचतर्फ उन्मुख गराउन धारणा निर्माण गर्न सकिने जनाइएको छ । नवनिर्मित गणित विषय ल्याबको हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले उद्घाटन गरेका छन् ।
जनप्रिय मावि जिल्लाकै पहिलो नमूना विद्यालय हो । गणित विषय विभाग संयोजक भुपेन्द्र चौलागाईले ल्याबमा अंकगणित, विजगणित तथा ज्यामितीय धारणा बसाउन प्रयोग हुने सामग्री र बालबालिकाका अन्य रचनात्मक सामग्रीसमेत राखिएको छ । ल्याब उद्घाटन कार्यक्रममा कक्षा १० की छात्राद्वय स्नेहा दाहाल र सुरक्षा घिमिरेले गणित विषय सम्वद्ध सामग्रीको नमूना प्रस्तुति देखाएका थिए । विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले ल्याबको विस्तार र आवश्यक सामग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
वडा अध्यक्ष कोइरालाले जनप्रिय मावि नमूना कामकै कारण नमूमा विद्यालय बन्न सफल भएको बताए । उनले गणित विषय ल्याबको कोषमा १० हजार रकम सहयोग गरे । कोषमा व्यवस्थापन समिति सदस्य कृष्ण पनेरुले ५ हजार रकम उपलब्ध गराएका छन् । सदस्य पनेरुको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रोटरी क्लब मकवानपुरका अध्यक्ष रामप्रसाद शर्मा, शिक्षक अभिभावक संघका सदस्य बुद्धप्रसाद दाहाल, हटिया जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विजय नेपाल, प्राविधिक संयोजक मोतिउर रहमानलगायतको उपस्थिति थियो । कक्षा १० मा अध्ययनरत् छात्रा कृतिका बरालले सञ्चालन गरेको कार्यक्रममा छात्र नवीन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।







