नेपाल भारतमैत्री संघद्वारा पाँचजना सम्मानित
हेटौंडा- नेपाल भारतमैत्री संघ, जिल्ला शाखा, मकवानपुरले पाँच जनालाई सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का वडाध्यक्षसहित पाँचजनालाई सम्मान गरेको हो । संघको आजीवन सदस्य र पूर्व अध्यक्ष रही स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको जनाएको छ । हेटौंडा १ का वडा अध्यक्षमा निर्वाचित आजीवन सदस्य सविन न्यौपाने, वडा नं ९ का वडा अध्यक्ष सुकराम के.सी, वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे लामा, वडा नं ४ का वडा सदस्य जनरल श्रेष्ठ, पूर्व अध्यक्ष एवं वडा नं १० का सदस्य ईश्वर प्रसाद मैनालीलाई सम्मान गरिएको संघका अध्यक्ष राजकुमार जोशीले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले कोरोना कहरका कारण नेपाल र भारतबीच बढेको दुरी घटाउन अन्तरक्रिया छलफल, भ्रमणहरू हुनुपर्नेमा जोड दिएका थिए । वरिष्ठ पत्रकार वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमारले नेपाल भारतको सम्बन्ध रोटीबेटीको भन्दा माथि रहेको बताए । उनले विकास निर्माणका काममा सहयोग गर्न सकिने बताउँदै स्कुल सडक बनाउने जस्ता स्थानीय प्रोजेक्ट छ भने दिन आग्रह गरे । ‘त्यसका लागि योजनाको डिपिआर बनाउनुपर्छ । प्रक्रियामा आउनुपर्छ र तीन तहको सरकार मध्ये एक तहले २० प्रतिशत बजेट छुट्याउनुपर्छ,’ उनले भने । संस्थाको पूर्वअध्यक्ष नेपाल भारत विश्वमैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनालीले सामाजिक संघ संस्थामा दोस्रो संस्था संघको ७४ जिल्लामा शाखा रहेको र १५ हजार सदस्य रहेको बताए ।
नेपाल भारतको जनस्तरमा भावानात्मक सम्बन्ध, कला, भाषाको सम्बन्ध उनको भनाइ छ । हेटौंडा उपमहानगरपालिका वडा नं १ अध्यक्ष न्यौपानेले नेपालको पर्यटकीय क्षेत्रको बारेमा भारतमा प्रचार प्रसार गर्न सके ठूलो लाभ लिन सकिने धारणा राखे ।







