मकवानपुरगढीको स्थिति पत्र जारी, अघिल्लो सरकारको असल कामलाई निरन्तरता दिइने

साझाकुरा
२०७९ श्रावण १, आईतवार ०९:१५

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले आफ्नो स्थिति पत्र जारी गर्दै अघिल्लो कार्यकालमा भएका गतिविधि बारे जानकारी दिएको छ । शनिबार गाउँपालिकाका प्रवक्ता दिपेश दहालले गाउँपालिकाको स्थिति पत्र जारी गरेका छन् । गाउँपालिकाको स्थितिलाई मध्येनगर गर्दै गाउँपालिकाको हित र भलाईका कार्यमा समानुपातिक, समन्यायिक र समुचित तरिकाले गाउँविकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरिएको छ । स्थिति पत्रमा अघिल्लो जनप्रतिनिधिको कार्याकालमा भएका गतिविधिलाई बाहिर ल्याइएको छ । गाउँपालिकाले आव २०७८÷०७९ मा ९२ करोड ६२ लाख ८३ हजार बजेट ल्याएको भन्दै असार मसान्तसम्म ७१ करोड ७५ लाख ६१ हजार मात्रै आम्दानी गरेको उल्लेख गरेको छ ।

आम्दानी भन्दा ठुलो बजेट बनाएको अवस्थामा ठुलो रकम असार मसान्तमा भुक्तानी गर्न नसकिएकोले दायित्वको रुपमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा ७ करोडको दायित्व सरकेको जनाइएको छ । अघिल्लो सरकारले श्रोतको सुनिश्चिता नगरी उपभोक्ताहरुसँग योजना सम्झौता गरिएको, श्रोतले धान्नै नसक्ने गरी दरबन्दी भन्दा बढी करार सेवामा कर्मचारी र दैनिक ज्यालादारीमा कामदार राखिएको स्थिति पत्रमा उल्लेख छ । गाउँपालिकाले यसकारण आर्थिक भार परेको जनाइएको छ । पटकपटक रकम रकमान्तर गरिनुका साथै कार्यपालिकाबाट निर्णय गरि थप योजना गरिएको, बजेटलाई ढिक्कामा राखेर तोक आदेशको आधारमा थुप्रै योजना बाँडफाँड गरिएको उल्लेख गरिएको छ ।

खर्चमा मितव्ययिता अपनाउन नसकेको, बजेट एकिन नगरी कार्यपालिकाबाट खरिद तथा अन्य कार्य गर्न निर्देशन भएको र श्रोत साधन यर्थाथ एकिन नगरी पालिकाले बजेट अनुमान गरिएको जस्ता कार्यले गाउँपालिकामा आर्थिक भार रहेको बताए । प्रवक्ता दाहालले पालिकाको दायित्व रकम भुक्तानी गरिने जनाएका छन् । पालिकामा रहेका अधुरा योजनाहरु रकम विनियोजन गरि पुरा गरिने उनले बताए । अघिल्लो सरकारका असल काम र अभ्यासलाई अनुसरण गरिने स्थिति पत्रमा उल्लेख गरिएको छ । अनावश्यक कर्मचारीलाई कटौती गरी दक्ष कर्मचारीबाट कार्य सम्पादन गरिने जनाइएको छ ।

गाउँपालिकाले शुक्रबार मात्रै करार सेवाका कर्मचारी हटाउने निर्णय गरेको थियो । भ्रष्टचारलाई शुन्य सहनशीलाको नीति अवलम्बन गरिने र बजेट विनियोजन भन्दा बाहेकका योजनाहरु कार्यान्वयनमा नल्याउने प्रतिबद्धता जनाइएको छ । पालिकाभित्रका सबै कार्यालयहरु प्रविधिमैत्री बनाई सेवा प्रदान गरिने प्रवक्ता दहालले बताए । स्थिति पत्र जारी कार्यक्रममा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद बजगाईलगायतको उपस्थिति छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*