‘छेलिएका अनुहार चेपाङ, वनकरिया र गाडी बोक्नेहरुको ऐना’
हेटौंडा- सिमान्तकृत चेपाङ, लोपन्मुख वनकरिया समुदाय र गाडि बोक्नेहरुको इतिहास समेटिएको मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टको ‘छेलिएका अनुहार’ कृति विमोचन भएको छ ।शनिवार हेटौंडामा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, पत्रकार चन्द्र किशोर, सन्तोषी वनकरिया, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, वरिष्ठ साहित्यकार तुल्सी थापाले संयुक्त रुपमा कृतिको विमोचन गरेका छन् । कृतिमाथि साहित्यकारहरुले टिप्पणी गरेका थिए । साहित्यकार भूपिन खड्काले कितावमाथि टिप्पणी गर्दै छेलिएका अनुहार पुस्तक चेपाङ, वनकरिया र गाडि बोक्नेहरुको ऐना रहेको बताएका छन् ।
उनले कछाडे चेपाङहरुको कथा समेटिएको पुस्तक इतिहासको दस्तावेज बन्ने बताए । ‘चेपाङ दुई थरी हुन्छन एकथरी कछाड चेपाङ र चितवनमा बस्ने पूर्व राजासमेत भएका चेपाङहरु ।यसमा कछाडे चेपाङका कुरा समेटिएको छ । कृतिमा पर्यावरणसँग समेटिएको चिउरीको बोट दाईजोमा दिने कथा पर्यावरणसँग जोडिएको छ । चिउरीको बोट संरक्षण भए चमेराको पनि संरक्षण हुन्छ ।,’ भूपिनले भने । कृतिले संस्कृति, भुगोल देखाउने भएकाले पुस्तक पर्यटनका क्षेत्रमा काम लाग्ने उनको भनाई छ । चेपाङहरुको धर्म परिवर्तनसँग प्रशंग जोडिएको भन्दै उनीहरु क्रिस्चियन धर्मतर्फ लाग्नुको कारण यहाँ खुलाइएको उनले बताए । पत्रकारिताको शक्तिलाई पुस्तकले देखाएको उनको टिप्पणी छ ।
सन्तोषी वनकरियाले आफूले आमाको कोखबाट जन्म लिएपनि मेरो अभिभावक प्रताप विष्ट रहेको बताइन् । ‘हामी साच्चै छेलिएका अनुहार हौं । हाम्रो पहिला शरिरमा कपडा थिएन, अहिले कपडाले शरिर ढाकिएको छ । हाम्रो अवस्था फेरिनुमा प्रताप विष्टको योगदान छ ।,’ सन्तोषीले भावुक हुँदै भनिन् । कक्षा १ देखि ६ सम्म खेलेर पढेको र ६ देखि १० सम्म डरले पढेको उनले सुनाइन् । ‘पोईल गईस भने घरमा आएर थुतेर स्कुलमा ल्याएर राख्छु भनेर प्रताप सरले भन्नुहुन्थ्यो, त्यसैले डरलेपनि पढेको हुँ । सरले पैसा दिएर जेटिए पढाउनु भयो । अहिले समुदायकै बालबालिकालाई पढाउँछु ।,’ उनले भनिन् । वनकरियाहरुको भाषभेषा लोप हुँदै गएकोप्रति उनको चिन्ता थियो ।
हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले कलमकै कारण मुलुकमा ठूला राजनीतिक परिवर्तन सम्भव भएको बताइन् । देशलाई शान्तिपूर्ण बनाउन कलमले भूमिका खेलेको उनको भनाइ छ । जनप्रतिनिधिका काममाथि कलम खुला हुनुपर्छ भन्दै कलमले जनप्रतिनिधिका कामलाई नजिकबाट नियाल्नु पर्ने लामाको आग्रह थियो । चेपाङ, वनकरियाको विषयमा भएका अनुसन्धान र अध्ययनसहितको पुस्तक अर्थपूर्ण रहेको उनले बताइन् । साहित्यकार तथा चेपाङ समुदायको अनुसन्धानमा संलग्नता रहेका तुलसी थापाले चेपाङ समुदायको विगतदेखि वर्तमानसम्मको जानकारी दिएका थिए । उनले राजा विरेन्द्रले चेपाङ विकास कार्यक्रम लागू गरेको बताए ।
चेपाङलाई हेपे भनेर प्रजा विकास कार्यक्रम सञ्चालन गरिएको उनको स्मरण थियो । १० वर्ष चेपाङको क्षेत्रमा काम गरेको भन्दै थापाले चेपाङका बालबालिकाले एक प्याकेट बिस्कुट सबैलाई बाँडेर खाएको देख्दा मानवीय स्वभाव देखेर आफू आश्चर्य भएको उनले बताए । तत्कालीन सामन्ती व्यवस्थाले चेपाङहरु छेलिएको उनको आरोप थियो । चेपाङहरुसँग भएका राम्रा खेतियोग्य जग्गा सामन्तीहरुले अनेक बहानामा हडपेको उनको दावी छ । ‘ऋण दिएर जग्गा हडप्ने गरेको थियो । चेपाङहरुले खेती गरेर काम गर्थे । चेपाङहरुलाई निरन्तर सहयोग गरेको जस्तो गरेर धर्म परिवर्तन गराईएको थियो । सामन्ती स्वभावले चेपाङहरु छेलिएर बसेका हुन् ।,’ थापाले भने ।
पुस्तकका लेखक प्रताप विष्टले ५२ सालदेखि चेपाङको बारेमा समाचार लेखेपछि पुस्तक निकालेको बताएका छन् । कोरोना कालको फुर्सद समयले पुस्तक जन्माएको बताए । करिब ४ दशकबाट पत्रकारितामा सक्रिय विष्टले लोपन्मुख वनकरिया, चेपाङको विषयमा खोज तथा अनुसन्धनको क्षेत्रमा कलम चलाउँदै आएका थिए । विष्टले २०४९ साल फागुन १३ गतेदेखि निरन्तर कान्तिपुर दैनिकमा चेपाङ समुदायको र २०५२ सालबाट बनरिया जातीको समाचार लेख्दै आएको विमोचन कार्यक्रममा बताए ।
सांग्रिला प्रकाशले प्रकाशन गरेको पुस्तकले नेपालमा चेपाङ, बनकरियाको विषयमा अध्ययन तथा अनुसन्धान गर्नेहरुलाई सहयोग पुग्नेछ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा ‘छेलिएका अनुहार’माथि साहित्यकार भूपिन र लेखक तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारालाल श्रेष्ठले टिप्पणी गरेका थिए ।







