’फोहोरबाट बिजुली निकाल्ने मेसिन

‘नपत्याएको की नचाहेको ?’
साझाकुरा
२०७९ श्रावण २, सोमबार ११:५५

हेटौंडा – नेपालका प्रमुख सहरहरुको अहिले मुख्य समस्या भनेको फोहोर व्यवस्थापन बनेको छ । काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायतका ठूला सहर फोहोर व्यवस्थापनको चुनौती सामना गरिरहेका छन् ।सफा सहर निर्माण गर्न जनप्रतिनिधिहरुलाई दबाब बढिरहँदा यसको व्यवस्थापन कसरी गर्ने भन्नेबारे उनीहरुलाई टाउको दुखाई बनिरहेको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र शाहलाई चुनौती छ । बञ्चरेडाँडा र सिसडोलमा फोहोर थुपार्न उनले सुरक्षा निकाय नै लगाउन प¥यो । अहिले काठमाडौंका सहरबाट फोहोर नउठ्दा सडकपेटीमै फोहोरको थुप्रो लागेको छ । नलागोस् पनि किन ? फोहोर व्यवस्थापन गर्न भन्दै यसअघि खरिद गरिएको फोहोरबाट बिजुली निकाल्ने मेसिन बेवारिसे छ । फोहोरबाट बिजुली निकाल्ने भन्दै करोडौं खर्च गरेर २०७३ सालमै किनिएका मेसिनहरु अलपत्र छन् ।

काठमाडौं जतिकै फोहोर व्यवस्थापनको चुनौती वीरगञ्ज महानगरपालिकालाई पनि छ । वीरगञ्जसँगै जनकपुर, धनगढी, पोखरा, इटहरी, विराटनगर, बनेपालगायत थुप्रै सहरमा फोहोर अत्रतत्र फालिएको पाइन्छ । जसमध्ये पोखरा र हेटौंडा उपमहानगरपालिकाले फोहोरको डम्पिङ साइट बनाएर व्यवस्थापन गरिरहेका छन् । हेटौंडामा पनि पछिल्लो समय प्रदेश राजधानी कायम भएपछि जनघनत्व बढेका कारण फोहोरको मात्रा बढ्दैछ । हेटौंडालाई आगामी दिनमा फोहोर व्यवस्थापनको पाटो टाउको दुखाई बन्ने निश्चित छ ।

देशका अधिकांश सहरले फोहोर व्यवस्थापनबारे उचित योजना ल्याउन नसक्दा सहर कुरुप बन्दै गएका छन् । उनीहरुले फोहोरबाट बिजुली र कम्पोष्ट मल उत्पादन गर्न सक्ने उपकरण नेपालमै निर्माण भइरहँदा पनि यसको वेवास्ता गरिरहेको पाइएको छ । फोहोरबाट बिजुली र कम्पोष्ट मल उत्पादन गर्न सक्ने मेसिन हेटौंडा–८ कमानेमा कृष्णप्रसाद खतिवडाले निर्माण गरिरहेका छन् । फोहोरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिंकरसँगै कम्पोष्ट मलसमेत उत्पादन हुने उपकरण खतिवडाले विगतदेखि नै निर्माण गर्दै आइरहेका हुन् । खतिवडाले चार वर्षदेखि जापानी प्रविधिको उपकरण निर्माण गर्दै विदेश निर्यात गर्दै आएका हुन् ।

उनको उपकरण हेर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेदेखि काठमाडौंका मेयर बालेन्द्र शाह, पोखराका मेयर धनराज आचार्यसम्म आइसकेका छन् । यसअघि उनको उपकरण हेर्न काठमाडौंकै एक कर्मचारीको टोली हेटौंडा आएको थियो । तर, उनीहरुले पछि खबर गर्छु भनेर फर्किएपछि कुरा नभएको खतिवडा बताउँछन् । केही समयअघि उपकरणको निरीक्षण गर्न पुगेका मुख्यमन्त्री पाण्डेले फोहोरमैलाको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहेपनि आफूलाई जिम्मा दिएमा यस्ता मेसिन जडान गरेर समस्याको निराकरण गर्न सकिने उल्लेख गरे । तर, उनले भनेजस्तो स्थानीय सरकारले अहिलेसम्म उक्त उपकरण खरिद गरेका छैनन् । कयौंपटक हेर्न आएर मोलमोलाई गरेपछि फर्किएन कुनै निकाय नआएको खतिवडा बताउँछन् ।

मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गर्छ । कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र कम्पोष्ट मललगायत सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुखेसो खतिवडाको छ । नेपालको निर्यातसम्बन्धी कानुनले आफूलाई समस्या बनाइरहेको उनको गुनासो छ ।

नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उनको भनाइ छ । यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको उनले बताए ।
मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ । शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ । सो मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए । उनका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिंकर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनले बताए । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ ।

नेपालभित्र बेच्ने अनुमति भएपनि सरकारले प्रमाणपत्र नदिएको कारण विदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताए । नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग नगरेका कारण आफूलाई दुःख लागेको उनको भनाइ छ । ‘मेशिन हेर्न आउँछन्, हेर्छन्, जान्छन् किन्ने कुरै गर्दैनन्’, उनले भने– ‘मेशिनले काम गर्ने विषयमा उनीहरुले नपत्याएको हो कि किन्नै नचाहेको हो बुझ्न सकिनँ ।’ यो मेशिन जडान गर्न सके जनताले फोहोरको समस्याबाट निश्चिन्त भएर बस्न सक्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*