बागमती सरकारको १९ अर्ब बजेट फ्रिज
हेटौंडा- बागमती प्रदेश सरकारको १९ अर्ब रुपैयाँभन्दा धेरै बजेट फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश सरकारको १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार ६ सय ५० रुपैयाँ बजेट फ्रिज भएको हो ।बजेट खर्च बढाउन असार अन्तिम महिनामा जथाभावी खर्चलाई बढाए पनि प्रदेशको बजेट खर्च भने अघिल्लो आर्थिक वर्षको तुलनामा अझ घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा करिब ६९ प्रतिशत बजेट खर्च गरेको बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ६६ दशमलव १९ प्रतिशतमात्रै बजेट खर्च भएको हो । प्रदेश सरकारले बजेट खर्च बढाउन आर्थिक वर्षको अन्तिम असार एक महिनामा मात्रै १३ अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो । तर, पनि बजेट खर्च भने अघिल्लो आर्थिक वर्षको तुलनामा अझै घटेको हो ।
गत आर्थिक वर्ष २०७८÷०७९ को अन्तिम समय अर्थात असार एक महिनामा मात्रै प्रदेश सरकारले १३ अर्ब ७९ करोड ४५ लाख ८ हजार ८ सय ३५ रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि बागमती प्रदेश सरकारले असार एक महिनामा मात्रै करिब १२ अर्ब रुपैयाँ बजेट खर्च गरेको थियो ।आर्थिक वर्षको ११ महिना अर्थात् जेठसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँमात्रै खर्च गरेको प्रदेश सरकारले असार मसान्तसम्म बजेट खर्च ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रुपैयाँ पु¥याएको छ ।
११ महिनामा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको सरकारले असार एक महिनामै खर्चलाई ६६ दशमलव १९ प्रतिशत पु¥याएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। आर्थिक वर्षको अन्तिम असार महिनाको १९ दिनमा मात्रै तीन अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश सरकारले असारको बाँकीको १३ दिनमा थप ९ अर्ब ७९ करोड ५८ लाख ८ हजार ८ सय ३५ रुपैयाँ बजेट खर्च गरेको छ ।आर्थिक वर्षको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च गरेपनि गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार ६ सय ५० रुपैयाँ बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकोमा असार मसान्तसम्ममा ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए ।
उनको अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत रहेको छ । जसमध्ये चालूतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत र पूँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा बागमती सरकारले चालूतर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ९७ करोड १४ लाख ९८ हजार तीनसय ८० रुपैयाँ खर्च गरेको सूचना अधिकारी रिजालले जानकारी दिए । उनले गत आवमा पूँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेट ल्याएको सरकारले २१ अर्ब एक करोड २८ लाख १० हजार ४ सय ५४ रुपैयाँमात्रै खर्च भएको बताए ।
बागमती प्रदेशमा रहेको मन्त्रालयहरुमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट खर्च गर्न सबैभन्दा अगाडि रहेको पाइएको छ । गत आर्थिक वर्षमा ३५ करोड ६५ लाख ५० हजार रुपैयाँ कूल बजेट रहेको अर्थ मन्त्रालयले बजेटको ७७ दशमलव २४ प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार उक्त मन्त्रालयले गत आर्थिक वर्षमा २७ करोड ५३ लाख ९९ हजार एक सय ८२ रुपैयाँ खर्च गर्न सकेको छ । सरकारको ढुकुटी सम्हाल्ने अर्थ मन्त्रालयको चालूतर्फ ७८ प्रतिशत र पूँजीगततर्फको खर्च ५४ दशमलव ४५ प्रतिशत रहेको छ ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कूल बजेटको ६८ दशमलव ५८ प्रतिशत बजेट खर्च गरेको जनाइएको छ । तीन अर्ब ६४ करोड ८० लाख ६५ हजार कूल बजेट रहेको यस मन्त्रालयले एक वर्षमा दुई अर्ब ५० करोड १८ लाख १३ हजार ६ सय १६ रुपैयाँ खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्षमा मन्त्रालयको कूल बजेटको ६६ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । ४ अर्ब ३९ करोड ४९ लाख ४३ हजार कूल बजेट पाएको उक्त मन्त्रालयले दुई अर्ब ९३ करोड ६७ लाख २५ हजार एकसय ८३ रुपैयाँ बजेट खर्च गरेको हो । उक्त मन्त्रालयको चालूतर्फको खर्च ६७ प्रतिशत र पूँजीगततर्फको बजेट खर्च ६६ प्रतिशत रहेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय बजेट खर्च गर्न चौथो नम्बरमा रहेको छ । गत आर्थिक वर्षमा सरकारबाट २२ अर्ब २७ करोड १२ लाख १६ हजार रुपैयाँ कूल बजेट पाएको भौतिक मन्त्रालयले १४ अर्ब ६१ करोड ९६ लाख ४३ हजार दुईसय १४ रुपैयाँ खर्च गरेको छ । जुन कूल बजेटको ६५ दशमलव ६४ प्रतिशत हो । एक अर्ब ९१ करोड ८४ लाख ४ हजार रुपैयाँ चालू बजेट पाएको भौतिक मन्त्रालयले ७४ दशमलव ६० प्रतिशत अर्थात् ८१ करोड ४४ लाख ७४ हजार पाँचसय २४ रुपैयाँ खर्च गरेको छ ।
पूँजीगततर्फ २१ अर्ब १७ करोड ९३ लाख ७२ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले कूल पूँजीतग बजेटको ६५ दशमलव १८ प्रतिशत अर्थात् १३ अर्ब ८० करोड ५१ लाख ६८ हजार ६ सय ९० रुपैयाँ खर्च गरेको छ । १० अर्ब ४० करोड ६३ लाख ८२ हजार रुपैयाँ कूल बजेट पाएको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा कूल बजेटको ६३ दशमलव ७४ प्रतिशत अर्थात् ६ अर्ब ६३ करोड ३३ लाख २४ हजार पाँचसय ६९ रुपैयाँ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले चालूतर्फ ६५ प्रतिशत र पूँजीगततर्फ ६० प्रतिशत बजेट खर्च गर्न सकेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कूल बजेटको ६३ दशमलव ६२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । ८६ करोड ६० लाख ८८ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले ५ अर्ब ५१ करोड २१ हजार ८ सय ९४ रुपैयाँ बजेट खर्च गरेको छ । उक्त मन्त्रालयले चालूतर्फ ८० र पूँजीगततर्फ ५७ प्रतिशत बजेट खर्च गरेको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बजेट खर्च गर्न सधैं कमजोर देखिँदै आएको छ । अघिल्लो आर्थिक वर्षमा पनि बजेट खर्च गर्न सबैभन्दा पछाडि परेको प्रदेश सरकार गत आर्थिक वर्षमा पनि बजेट खर्चमा पछाडि नै परेको छ । गत आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयले सबैभन्दा कम ५३ दशमलव ५५ प्रतिशतमात्रै बजेट खर्च गर्न सकेको हो ।
तीन अर्ब ९० करोड ६२ लाख ७८ हजार रुपैयाँ कूल बजेट रहेको उक्त मन्त्रालयले जम्मा दुई अर्ब ९१ करोड ६९ लाख एक हजार ९ सय ४ रुपैयाँ मात्रै बजेट खर्च गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बजेट खर्च ३५ प्रतिशतमात्रै थियो । उक्त वर्षमा ७७ करोड ३० लाख ४१ हजार रुपैयाँ कूल बजेट रहेको मुख्यमन्त्री कार्यालयले २७ करोड १८ लाख २५ हजार नौ सय २० रुपैयाँमात्रै खर्च गरेको थियो भने बाँकी ५० करोड १२ लाख १५ हजार ८० रुपैयाँ बजेट फ्रिज भएको थियो ।







