उपकरण ल्याउन जोखिमपूर्ण रोप–वे बेच्दै हेटौंडा सिमेन्ट
हेटौंडा- मानव बस्ती र विद्यालयलाई वर्षौदेखि जोखिम बनाएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको रोप–वे अब इतिहासका रुपमा सीमित हुने भएको छ ।
भीमफेदी गाउँपालिकाको भैंसेस्थित खानी क्षेत्रबाट चुनढुंगा ल्याउन प्रयोग भएको रोप–वेलाई हेटौंडा सिमेन्टले बिक्री गर्ने तयारी गरेको हो । रोप–वेमा करोडौंका फलाम छन् । फलामका पोलदेखि, तार र बकेट (ढुंगा बोकेर तारमा हिँड्ने डिब्बा) सम्म बिक्री गर्ने तयारीमा हेटौंडा सिमेन्ट उद्योग लागेको हो ।विगत चार वर्षदेखि घाटामा चल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले उद्योगमा नयाँ उपकरण खरिद गर्न रातोमाटेस्थित जग्गा र रोप–वे बिक्री गर्न लागेको छ । जग्गा र रोप–वे बिक्रीबाट आएको रकमले उद्योगमा नयाँ प्रविधि भिœयाउने योजना उद्योग प्रशासनको छ ।
हेटौंडा सिमेन्टले उक्त रोप–वेका सामग्री लिलामी गर्न उद्योगका भण्डारण विभाग प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा मूल्याड्ढन समिति बनाएको छ । उद्योगका सूचना अधिकारी अशोक गौतमले समितिले रोप–वेका सामग्रीहरुको मूल्याड्ढन गर्ने र लिलामी प्रक्रियामा लैजाने जानकारी दिए । समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट एक–एक जना र उद्योगबाट २ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ । समितिले कबाडीमा बेच्ने प्रक्रियालाई चाँडो अगाडि बढाउने भएको छ । हेटौंडा सिमेन्ट उद्योगका महाप्रवन्धक वसन्तकुमार पाण्डेले रोप–वे जीर्ण बन्दा यसका बकेटमुनिका बस्तीहरु जोखिममा रहेको कारण चाँडो लिलामी प्रक्रिया सुरु गरिने बताए ।
साझाकुरासँग कुरा गर्दै महाप्रबन्धक पाण्डेले रोप–वे बिक्रीबाट करिब १२ करोड रुपैयाँसम्म रकम प्राप्त हुने आंकलन गरिएको छ । मुल्याड्ढन समितिको रिपोर्टपछि वास्तविक बिक्री मूल्य थाहा हुने उनले बताए । रोप–वेलाई पहिलाको अवस्थामा ल्याएर सञ्चालन गर्ने अवस्था नरहेको उनको भनाइ छ । जोखिम मूल्याड्ढन गरेर चाँडो लिलामी प्रक्रिया अघि बढाउने तयारी गरेको पाण्डेले बताए । भैंसे खानिदेखि लामसुरे उद्योगसम्मका बस्तीलाई नै जोखिम बनाइरहेको रोप–वेलाई बिक्री गरेर बस्तीको सुरक्षा र उद्योगमा नयाँ उपकरण ल्याउन सकिने भएकाले यो कदम उठाउन लागिएको बताए । रोप–वेलाई लिलाम गर्ने प्रयास यसअघि नै उद्योगले गरेको थियो । तर, भनेजति रकम नपाएपछि उद्योग मौन बसेको जनाइएको छ ।
हेटौंडा–९ स्थित भित्रुवन आधारभूत विद्यालयको भवनको माथिल्लो पट्टि बकेट देखिन्छ । त्यहि बकेटमुनि दैनिक विद्यालयका कयौं बालबालिकाहरु खेलिरहेका हुन्छन् । विद्यालयको भवनबाट धेरै माथि दूरीमा नरहेको त्यस्तो बकेट हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैसेखानिसम्मै देख्न सकिन्छ । पूर्वपश्चिम राजमार्गहँुदै हेटौंडा आउनेहरुले पनि हेटौंडा–१० राप्ति किनारनजिकै तारमा झुण्डिरहेको बकेटहरु देख्न सक्छन् । ती बकेटहरु त्यसरी झुण्डिएको ३६ वर्ष भयो । करिब २० वर्षसम्म ती बकेटहरु हेटौंडा सिमेन्ट उद्योगको लागि चुनढुंगा ओसार्न प्रयोग भएपनि ६२ सालदेखि भने पूर्णरुपमा बन्द छ । डेढ दशकदेखि चल्न नसकेको रोप–वे जीर्णमात्रै भएको छैन, आसपास भएको विद्यालय र समुदायको लागि सम्भावित काल बनेको छ । तर, रोप–वे सञ्चालनमा ल्याएर बन्द पनि गरेको हेटौंडा सिमेन्टले त्यसको व्यवस्थापन गर्न सकेको छैन । उद्योगले न त रोप–वे सञ्चालनमा ल्याउन सकेको छ न त त्यसको अन्य व्यवस्थापन नै गर्न सकेको छ । खिया लागेको रोप–वेका बकेट कतिबेला तार चुढिएर झर्ने हो भन्ने त्रासमा त्रिभुवन आधारभूत विद्यालयसहित हेटौंडा–९, १० र १ तथा भीमफेदी गाउँपालिका १ नम्बर वडाका बासिन्दा छन् ।
रोप–वे पुरानो र जीर्ण हँुदै जाँदा जुनसुकै बेला चुढिएर झर्ने र विद्यालय भवनसँगै विद्यार्थीहरुलाई पनि जोखिम हुने चिन्ता रहेको विद्यालयले यसअघि नै बताइसकेको छ । सम्बन्धित सबै वडा कार्यालयले पनि पटकपटक मौखिक तथा लिखितरुपमा यस विषयमा उद्योगलाई जानकारी दिएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।उक्त रोप–वे हटाउन यसअघि नै हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले चासो देखाएको उनले बताए । हेटौंडा–१, हेटौंडा–९, हेटौंडा–१० र भीमफेदी गाउँपालिका वडा नंं. १ ले लिखितरुपमा जीर्ण रोप–वे हटाउन आग्रह गरेको प्रवक्ता न्यौपानेले बताए । तर, उद्योगले रोप–वे हटाउन सकेको छैन । राणा प्रधानमन्त्री चन्द्रशमशेरले विस १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थसम्मको २२ किलोमिटरमा रोप–वे लाइन बनाएका थिए ।
यही रोप–वेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गर्ने गरेका थिए । यसरी सामान ओसार्न बनाइएको रोपवेले सजिलो भएपछि त्यसैलाई पछ्याउदै हेटौंडा सिमेन्टले पनि आफ्नो खानिबाट चुनढुंगा ओसार्न रोपवे सञ्चालनमा ल्याएको थियो । उद्योगले २०४२ सालबाट भैंसेखानिबाट लामसुरेस्थित कारखानासम्म चुनढुंगा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोप–वे २०६२ सालदेखि बन्द छ । २०६० सालमा आएको बाढीपहिरोले भैंसे त्रिखण्डीनजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । दुई दशकसम्म भैंसेखानीबाट चुनढुंगा ढुवानी गरेको रोपवे बाढीले भत्काएपछि सञ्चालन हुन सकेको छैन ।







