चित्लाङ बाख्रा फार्मः उत्पादन भन्दा तेब्बर बढी माग
हेटौंडा- मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाको सीमाना चित्लाङमा रहेको सरकारी बाख्रा फार्मले मागअनुसार बाख्रा पु¥याउन सकेको छैन् ।तत्कालीन राणा शासकले २००१ सालमा स्थापना गरेको भेडा फार्म (हाल बाख्रा विकास फार्म)ले माग अनुसार किसानहरुलाई बाख्रा उपलब्ध गराउन नसकेको हो । फार्ममा उत्पादन भन्दा तेब्बर बढीले किसानबाट बाख्राको माग आएको फार्मले जानकारी दिएको छ ।अत्याधिक माग हुनुमा फार्मप्रतिको विश्वास रहेको छ । सरकारी फार्ममा शुद्ध नश्लको बाख्रा पाइने विश्वासले किसान र व्यवसायिक बाख्रा पालन गर्दै आएकाहरुले माग धेरै गर्ने गरेको फार्म प्रबन्धक विशेश्वर प्रसाद यादवले बताए । उनले मागअनुसार बाख्रा उपलब्ध गराउने नसकिएको बताए ।
फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन थरीको बाख्रा उत्पादन गर्दै आइरहेको हो । फार्ममा गत आर्थिक वर्ष २०७८÷०७९ मा ३ सय ५० वटा मात्रै बाख्रा उपलब्ध रहेको यादव बताउँछन् । तर, माग भने एक हजार बढी बाख्राको आएको उनले जानकारी दिए । ‘बाख्रा मागअनुसार पु¥याउन सकिएको छैन् । गतवर्ष किसान र व्यवसायीबाट १ हजारदेखि १ हजार २ सयसम्म बाख्राको माग आएको थियो । हामीसँग जम्मा साढे ३ सय बाख्रा थिए ।,’ उनले भने । फार्मले प्राथमिकतामा किसान र व्यवसायीलाई राखेर बाख्रा उपलब्ध गराउँदै आएको छ । फार्मको कुल ३ सय ५ रोपनी क्षेत्रफलमा चरिचरण क्षेत्र मात्रै १ सय ८ रोपनी छ । ३ सय रोपनी जग्गाअनुसार ६ सय वटासम्म मात्रै बाख्रा पाल्न सकिने यादवले बताए । प्रतिरोपनी २ वटा बाख्रा पाल्न सकिने उनको भनाई छ । फार्मलाई पर्याप्त जग्गा नहुँदा पनि मागअनुसार बाख्रा पाल्न मुस्किल परेको यादवले बताए ।
सबै क्षमतामा बाख्रा पालन गरेपनि मागअनुसार बाख्रा पु¥याउन नसकिने अवस्थाबाट फार्म गुज्रिएको हो । फार्मले पाल्नका लागि वार्षिक रुपमा ३ सय हाराहारीमा बाख्रा पठाउने गरेको प्रबन्धक यादव बताउँछन् ।बाहिर भन्दा फार्ममा शुद्ध नश्लको बाख्रा खरिद गर्दा सस्तो पर्ने भएकाले पनि माग बढेको उनी बताउँछन् । शुद्ध साननको बाख्रा प्रतिकेजी १ हजारको दरले उपलब्ध गराइने यादवले जानकारी दिए । खरी बाख्रा प्रतिकेजी ५ सयका दरले बिक्री गर्ने गरिएको उनको भनाइ छ । किसानहरुले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्मले बाहिरी जिल्लामा बाख्रा बिक्रीलाई प्राथमिकता दिने गरेको यादव बताउँछन् ।
फार्ममा बाख्रा मात्र हैन, भेडा र मासु खाने प्रयोजनका खरायो पनि पालिएको छ । तर, भेडा र खरायोको माग बाख्राको जस्तो छैन् । हाल फार्ममा बरुवाल जातको भेडा ७५ वटा छ । मासु खाने खरायो ३ थरी जातका १ सय वटा पालिएको प्रबन्धक यादवले जानकारी दिए । खरायो चिनचिला, क्यालिफोर्निया हाइलाइन र न्युजिल्याण्ड ह्वाइट जातको रहेको जनाइएको छ ।फार्मले पाल्नका लागि खरायो बिक्री गर्दा १ हजार रुपैयाँ प्रतिजोडी र ५ सय रुपैयाँ प्रतिगोटा दररेट राखेको छ । मासु खाने खरायो प्रतिकेजी १ हजार रुपैयाँ रहेको यादवले जानकारी दिए । गतवर्ष १ सय ५० वटा खरायो बिक्री भएको थियो । उनका अनुसार भेडा प्रतिकेजी ५ सय रुपैयाँका दरले बिक्री गरिँदै आएको छ ।
भेडाको माग कम रहेको यादव बताउँछन् । गतवर्ष १५ वटा मात्रै भेडा बिक्री भएको छ । फार्मले एक वर्ष अघिदेखि मात्रै भेडा पाल्न सुरु गरेको थियो ।२०५६ साल साउन १६ बाट बाख्रा विकास फार्मको नामले सञ्चालित फार्मलाई सरकारले २०५८ सालमा भेडाहरुलाई विस्थापित गरेर बाख्रा अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको थियो । फार्ममा देशभरबाट भेटेनरी विद्यार्थी अध्ययन, अनुसन्धानका लागि आउने गरेका छन् । त्यसयता फार्मले बाख्रासँगसँगै खरायो पनि पालन गर्दै आइरहेको हो । भेडा पाल्न छोडिएको धेरै वर्षपछि अघिल्लो वर्षबाट भेडा पाल्न थालिएको प्रबन्धक यादवले जानकारी दिए ।
फार्मलाई चरिचरण क्षेत्रमा बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडा पालनमा समस्या हुँदै आएको छ । फार्ममा जग्गा पर्याप्त भएपनि चरिचरण क्षेत्र थोरै भएकाले वर्षको ६ महिना अर्थात बर्खे समयमा मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् ।बाँकी ६ महिना हिउँदको समयमा खडेरी लाग्ने फार्मका प्रबन्धक यादव बताउँछन् । फार्ममा पालिएको भेडा र बाख्राले आवश्यक पोषिलो घाँस हिउँदको समयमा खान नपाएको उनले बताए । भेडा, बाख्राले पोषिलो घाँस खान नपाउनुको कारण फार्ममा पानीको स्रोत नहुनु हो । फार्म खुलेको ७८ वर्षपछि गतवर्ष फार्ममा डिपबोरिङबाट पानी निकालिएको थियो ।वर्षायाममा चिसो कम, घाँसको पर्याप्तता र सिँचाई समस्या नभए पनि हिउँदमा भने तुषारोले भुइँघाँँस मर्ने, सुख्खा भएर डाले घाँसहरुको पात झर्ने, तुषारो नपर्ने फार्मको तल्लो भेगमा पानी अभावका कारण घाँसहरु सुक्ने, चिसोबाट बाख्रा विशेषतः पाठापाठीलाई बचाउन मुस्किल पर्ने जनाइएको छ ।
फार्मले वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदि घाँसलाई साइलेज (घाँसको गुन्द्रुक) बनाएर राख्ने र हिउँदको घाँस अभाव टार्ने गर्दै आएको थियो । चित्लाङ बाख्रा फार्म वार्षिक घाटामा पनि छ । सरकारले फार्म व्यवस्थापनमा उचित ध्यान नदिँदा ‘माल पाएर चाल नपाएको’ उखान यर्थात जस्तै बनेको छ । फार्म पर्यटकीय स्थलका रुपमा पनि चर्चित छ ।







