उम्मेदवारको बाटो हेर्दै वनकरिया

साझाकुरा
२०७९ कार्तिक ६, आईतवार ०९:५०

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्ति यतिबेला सुनसान छ । गत स्थानीय तहको निर्वाचनमा भोट माग्न जानेहरुले भरिएको वनकरिया बस्ति अहिले सुनसान बनेको हो । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचारको लागि घरदैलो कार्यक्रममा व्यस्त छन् । ६ महिनाअघि भएको स्थानीय तहको चुनावमा मत माग्न आएका उम्मेदवार देखेर वाक्क भएका वनकरियाहरु यतिबेला भोट माग्न कतिबेला नेताहरु आइपुग्छन् भनेर बाटो हेरिरहेका छन् । पर्सा वन्यजन्तु निकुञ्जको जग्गामा बसिरहेका उनीहरु लालपूर्जा पाउने आशले भोट माग्न आउने उम्मेदवारहरुको बाटो हेरिरहेका छन् ।

चुनावमा उनीहरुसँग भोट माग्न आउने नेतालाई उनीहरुले लालपूर्जा माग्न थालेको धेरै भयो । तर, हालसम्म न उनीहरुले लालपूर्जा पाएका छन् न त माग्न नै छोडेका छन् । उसो त उनीहरुलाई लालपूर्जा दिने आश देखाएर भोट माग्न जाने उम्मेदवारहरु पनि घटेका छैनन् । निर्वाचनमा उम्मेदवारहरु फेरिदै गएको भएपनि वनकरियाको समस्या फेरिएको छैन । न त उम्मेदवारहरुले वनकरियालाई दिने आश्वासन नै फेरिएको छ ।तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई २०६९ साल माघ २२ गते यहि वनकरिया बस्तिमा आएर बास बसेका थिए । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा एक दिन जनताको घरमा बास बस्ने अभियान अन्तर्गत यहाँ बास बसेका थिए । त्यतिबेला भट्टराईले वनकरियाहरुले उपभोग गर्दै आएको ६ हेक्टर जग्गा थप ४० वर्ष उपभोग गर्न पाउने गरी सरकारले निर्णय गर्ने आश्वासन दिए । तर उनी नेतृत्वको मन्त्रिपरिषदबाट त्यो निर्णय भएन ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयाबाट करिब ५ किलोमिटर दक्षिणतर्फ लागेपछि वनकरिया बस्ति पुगिन्छ । नेपाल सरकारले लोपोन्मुख जातिको सूचीमा राखेको वनकरिया जाति मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तिमा मात्र बसोबास छ । १८ वर्षअघि बस्तिमा झरेका उनीहरुले लालपूर्जा पाउने सपनामा भोट दिएर धेरैको सपना पुरा गरिदिसके । तर, उनीहरुको सपना भने जस्ताको त्यस्तै छ । स्थानीय सन्तमाया वनकरिया भोट माग्न आउनेहरुको अनुहार फेरिएपनि वनकरियाको समस्या नफेरिएको सुनाउँछिन् । अहिलेसम्म कतिपटक भोट हालियो भन्ने याद नभएपनि भोट माग्न आउनेहरुको आश्वासन भने उनलाई याद छ ।

पटक–पटक फरक आश्वासन लिएर आउने जुनसुकै पार्टीका उम्मेदवारले लालपूर्जा वितरण गर्ने वचन दिन भने छुटाएका छैनन् । तर, ती वचन चुनावसँगै सकिने गरेको उनको गुनासो छ । उनले नेताहरुले आश्वासन दिएर लालपूर्जा वितरण नगरेपछि वनकरियाहरुले फेरि बस्ति छोडेर वन पस्ने कुरा गर्न थालेकोसमेत सुनाइन् । उनको अनुसार हाल वनकरिया बसिरहेको जमिनमा उनीहरुको पुर्खा पनि बसेका थिए । जसले गर्दा उनीहरुको लागि त्यो जमिन प्रिय छ । त्यसैले उनीहरु कुनैपनि हालतमा त्यो जमिन छोडेर अन्यत्र जान चाहदैनन् । तर, सरकारले उनीहरुलाई त्यो जग्गाको लालपूर्जा नदिएर अन्यत्र बसाई सारेमा धेरै वनकरिया बस्ति जीवन त्यागेर पुनः वन फकिर्ने मनस्थितिमा पुगेको उनले बताइन् । ६५ वर्षीया कान्छीमाया वनकरिया भन्छिन्, ‘नेताहरु भोट माग्न आउन बाँकी नै छ होला ।’ पाँच वर्षअघि भएको प्रदेशसभा–प्रतिनिधिसभा चुनावमा नेताहरु भोट माग्न नआएको उनले बताइन् । तर यो वर्ष भोट माग्न कुनै नेता आइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । भोट माग्न आएका नेताहरुलाई आफ्ना समस्या सुनाउन पाए समाधान गर्दिन्थेकी भन्ने आश कान्छीमायालाई छ ।

‘हामीले नेताहरुलाई हाम्रा दुःख र समस्या सुनाउनु छ,’ उनी भन्छिन्, ‘पहिलेभन्दा त अहिले हामीलाई राम्रो छ, तर हाम्रो बासको ठेगान अझै भएन अनि छोराछोरीको लागि जागिर पनि भएन ।’ २० वर्ष पुग्नै लाग्दा ‘अब के हुन्छ ?’ भनेर वनकरिया बस्तिमा अन्यौलता छ । अहिले यो बस्तिमा वनकरियाका २३ घर छन् । उनीहरुको अहिलेको जनसंख्या ८९ मात्र हो । तर उनीहरुमध्ये कसैसँग पनि नम्बरी जग्गा छैन । अर्थात् वनकरियाले पनि जग्गाको लालपूर्जा पाएका छैनन् । त्यसैले यो समुदायको मुख्य माग नै जग्गाको लालपूर्जा हो ।‘सरकारले जग्गा दिएपछि हामीहरु जंगल छोडेर आयौं, स्याउला र केराको पात छापेर बस्यौं,’ सन्तमाया भन्छिन्, ‘२० वर्ष पुग्न लाग्यो, अब हामी यहाँ छोडेर कहाँ जाने, फेरि पनि हामी जंगल नै फर्कनु ?’ अब आफूलाई यो ठाउँ छोडेर जान मन नलागेको कान्छीमाया बताउँछिन् ।

सरकारले वनकरियालाई स्थानान्तरण गर्नुभन्दा पनि अहिले उपभोग गरिरहेको जग्गाकै लालपूर्जा दिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । सरकारले अस्थायी बसोबासको लागि जग्गा उपलब्ध गराउँदा उनीहरु १२ घरपरिवार मात्रै थिए । दुई प्लटमध्ये एउटा प्लटमा घर बनाएर बसेका थिए भने अर्को प्लटमा खेती लगाउने गर्थे । तर अहिले सन्तान बढ्दै गएपछि घरहरु पनि बढेर २३ पुगे । घर बढ्दै गएपछि खेती गर्ने जमिन पनि बाँडियो । खेती गरेर छ महिना पनि खान नपुग्ने राम वनकरिया बताउँछन् । उनले ज्याला मजदुरीको भरमा ५ जनाको परिवार पाल्दै आएका छन् । उनी भन्छन्, ‘सरकारले हामीलाई जागिरको व्यवस्था गरिदिए परिवार पाल्न सजिलो हुन्थ्यो ।’

केन्द्र सरकारमा मन्त्री फेरिएपिच्छे ज्ञापनपत्र बुझाउन जाने गरेको सन्तोषी वनकरिया बताउँछिन् । ‘मन्त्री फेरिने बितिक्कै हामि ज्ञापनपत्र बुझाउन जान्छौ । उहाँहरु हुन्छ गर्छौ भन्नुहुन्छ फेरि केहि समयपछि अर्को मन्त्री आइहाल्नुहुन्छ’, उनले भनिन् ‘लालपुर्जा माग्दै हामिले जाने ठाउँ कुनैपनि बाँकी राखेका छैनौ । ‘उनले वनकरियाको लागि जतिसुकै व्यवस्था फेरिएपनि कुनै प्रभाव नपरेको गुनासो गरिन् ।

चुनावमा उम्मेदवार फेरिएपनि वनकरियाको समस्या फेरिन नसकेको भन्दै वनकरियाले भनिन् ‘कतिबेला निकुञ्जले हाम्रो घर भत्काउने होकि आगो लगाएर लखट्ने हो भन्ने चिन्ताले सबैलाई पिरोलेको छ ।’ चितवनमा निकुञ्जले घर भत्काएको र आगो लगाएको समाचार आफूले सुनेको भन्दै उनले आफूहरुमाथी पनि सोही घटना हुनसक्ने चिन्ता व्यक्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*