जंकफुडले मासिंदै रैथाने खाजा र पेय पदार्थ
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–४ की अजिता अर्याल ३ वर्षपछि नेपाल आइन् । ५ वर्षपछि नेपाल आएकी उनलाई घर आउने बितिक्कै घरमै पालेको भैसीको मोहि खान मन थियो । तर, उनकी आमाले हत्तपत्त उनलाई एक गिलास चिसो पेय पदार्थ दिइन् । बल्ल बल्ल नेपाल आइपुगेकी उनीले नेपालमा दही, मोही खान पाइने अपेक्षागरेकि थिइन्, तर उनले अपेक्षा विपरीत गाउँमा दही, मोही भन्दा धेरै चिसो पेय पदार्थ पाइन् ।
मनहरी घर भएकी अर्यालले बजारको डेरीमा पाइने दही मोहीले नै चित्त बुझाइन् । ‘पहिले पहिले गाउँघर, मामाघर र आफन्त सबैको घरमा ३–४ वटा दुहुना हुन्थे । दूध, दही, मोही त टन्न खाइन्थ्यो तर अहिले सबैको छोरा छोरी हामजिस्तै केहि बजारमा बस्छन्, केहि विदेशमा छन् । घरमा कोही नहुँदा गाई भैंसी पाल्न छोडेछन्’, उनले भनिन् । उनले पेय पदार्थ मात्रै होइन बिहान बेलुकाको खाना र खाजामा पनि परिवर्तन आएको पाइन् ।
पहिला पहिला गाउँघरमा कोदो, मकैको रोटि, भुटेको मकै र सातु खाजा खाने उनले ५ वर्षपछि नेपाल आउदाँ चाउचाउ, विस्कुट, ममः र चाउमिन जस्ता खाजा मात्रै खान पाइन् ।
‘गाउँघरमा पहिले, पहिले रोटी, पुवा, मकै, भटमास, दही, मोहीको खाजा हुन्थ्यो, तर अहिले चाउचाउ, चाउमिन, रेडिमेट खाजाहरु चलनमा छन्’, उनले भनिन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का बुद्व लामाको अनुभव पनि उस्तै छ । विदेशमा बसेर जंकफुड खाएर वाक्क भएका उनले नेपालमा गाउँकै रैथाने खानेकुरा खान पाइने अपेक्षा गरेका थिए । तर, गाउँमा उनले विदेशमा भन्दा धेरै जंकफुड खाएको सुनाउँछन् । ‘बरु विदेशमा हामी स्वथ खाने भनेर सागपात बढि खान्छौ । तर,गाउँमा त बिहान उठेदेखी बेलुका सुत्ने बेलासम्म प्रायःसबैकुरा बाहिरबाट तयार पारिएको जंकफुड प्रयोग हुने रहेछ’,उनले भने ।
गाउँघरमा चाडपर्वमा त झन कार्टुनका कार्टुन चिसो पेय पदार्थ, चाउचाउ जाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । लामो समयदेखी किराना पसल चलाइरहेका रमेश ढुंगाना भन्छन्, ‘पहिले पहिले सबैभन्दा धेरै बिक्री हुने भनेको चिउरा थियो । दशैं र असारमा चिउराको गोदाम नै रित्तिन्थ्यो । अहिले धेरै जाने भनेको चिसो र चाउचाउ हो । दशैंमा त एउटै परिवारलाई दुई कार्टुनसम्म चिसो बिक्री गरेको छु ।’
अर्को व्यवसायी अजि ढकाल चाडपर्वमा झन् सबैभन्दा बढि चिसो र मादक पदार्थ बिक्र िहुने बताउँछन् । उनले गएको दशैमा पनि बसैभन्दा धेरै बियर बिक्री गरेका थिए । ‘ अहिले घरमा पाउना आउने बित्तिकै चिसो खुवाउने चलन बढेकोले पनि बियर धेरै जान्छ । चाउचाउ पनि उस्तै जाने गरेको छ,’ उनले भने । यस्तो अवस्था अहिले सबैजसो गाउँमा देखिँदै आएको छ । गाउँका साना बजारमा सबैभन्दा धेरै बिक्री हुने पदार्थमा चिसो पेय पदार्थहरु, ‘जंक फुड’हरु नै हुन् । असारको रोपाईंमा होस वा मंसिरको धान भित्र्याउने अवसरमा, कुनै चार्डपर्वमा होसस् वा दैनिक खानपानमा अहिले गाउँदेखि शहरसम्म रैथाने खाजाहराउँदै गएको छ ।
टौंडाको एक अग्रज वृद्वा ईन्द्रमाया नेपाल नेपालीहरुले आफ्नो खाजामा गौरव गर्न नसकेकोमा दुखेसो गर्छिन् । ‘हामीले आफ्नो चिजमा गौरव नै गर्न सकेनौं, त्यसकारण विदेशीको अनुकरण नै हामीलाई ठुलो लाग्ने गरेको छ’, उनले भनिन्, ‘अहिले गाउँमा छ्याङको सट्टा बियर, दहि मोहीको साटो चिसो पेय पदार्थ, रैथाने खाजाको सट्टा चाउचाउ, चाउमिन, प्याकेटका खाजा प्रयोग हुन थालेको छ ।’ उनले बजारमा पाइने यस्ता तयारी खानेकुराले बालबालिका धेरै बिरामी हुने गरेको पनि बताइन् ।
पछिल्लो समय अति प्रशोधित खानेकुराको उपयोग बढ्दा स्वास्थ्य क्षेत्रमा पनि जोखिम बढ्दै गएको पोषणविद् मधु थापा बताउँछिन् । ‘अहिले रैथानै खाजाको सट्टामा अतिप्रशोधित खानेकुराको प्रयोग गर्ने विकृति बढिरहेको छ । यसले फाइदा त गर्दै गर्दैन । स्वास्थ्यको हिसाबले जोखिम पनि बढाउँछ,’ थापा भन्छिन्, ‘अहिले हाम्रा स्थानीय पेय पदार्थ मोही, दही, सर्वतको साटो कोल्ड ड्रिंक्सहरु प्रयोग भइरहेका छन् । यसले मधुमेहका
रोगी बढाइरहेको छ भने पाचन प्रणालीमा गम्भीर असर पारिरहेको छ ।’ थापाको अनुसार अतिप्रशोधित खानेकुराको असरबारे सचेतनाको अभाव नेपाली समाजमा प्रष्ट देखिएको छ । विज्ञापनको प्रभाव शहरदेखि गाउँसम्म पुग्दा पनि अतिप्रशोधित खानेकुराहरुले रैथाने खानेकुरालाई विस्थापित गराइरहेको थापाले बताइन् ।
गाउँघरमा रैथाने खानेकुरा लोप हुँदै गइरहेको बेलामा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालयको दिवा खाजामा स्थानीय रैथाने बालीको परिकार समावेश गर्ने निर्णय गरेको छ । स्थानीय रैथाने बाली प्रबद्र्धनमा लागेको गाउँपालिकाले हप्ताको एक दिन पलिका भित्रका सम्पूर्ण विद्यालयहरुमा दिवा खाजाका रुपमा स्थानीय स्तरमा उब्जने रैथाने वालीको परिकार खुवाउने निर्णय गरेको हो ।
गाउँपालिका भित्र रहेका विद्यालयहरूमा प्रत्येक हप्ता बिहीवार विद्यार्थीहरूलाई स्थानीय एवम् रैथानेबालीका परिकार दिवा खाजाको रूपमा समावेश गर्ने निर्णय गरेको गाउँपलिकाकाले जनाएको छ । गाउँपालिकाले कोदोेको न्यूनतम समर्थन मूल्य प्रति केजी ४५ रुपैयाँ र फापरको प्रति केजी ८० रुपैयाँ निर्धारण गरेको छ ।
गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीलाई निकै महत्व दिएर त्यसको संरक्षण र सम्बद्र्धमा लागेको छ । स्थानीय स्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजनाहरु ल्याएर काम गरिरहेकै कारण हाल स्थानीय स्तरमा रैथाने बालीको उत्पादन समेत वृद्धि भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीको भनाई छ ।







