मनहरीमा निकुञ्जले मध्यरातमा भत्कायो घर, ९ परिवारको बिचल्ली

सरला खनाल
२०७९ चैत्र १०, शुक्रबार ११:३७

हेटौंडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित चितवनसँग सीमाना जोडिएको मनहरी गाउँपालिकाको सुनाचुरीमा चितवन राष्ट्रिय निकुञ्जले घर भत्काएपछि ९ परिवार बिचल्लीमा परेका छन् । मनहरी–६, सुनाचुरीस्थित लोथर खोलाको नदी उकास जमिनमा घर बनाइरहेका ९ परिवारको बिचल्ली भएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएको नेपाली सेनाको टोलीले ७ चैत मध्यरातमा आएर घर भत्काएको खुलेको छ । लोथर र मनहरीमा भाडामा बसेर जीविका चलाउँदै आएका ९ जनाको परिवारले निर्माणाधीन घरमा बस्न नपाई क्षति व्यहोर्नु परेको हो ।

२०२५ सालमा तत्कालीन सरकारले नापी गरेको लोथरको नदी उकास जमिनमा काजिमान सुनार, वीरबहादुर सुनार, भीमबहादुर सुनार, सावित्री सुनार, विभकुमारी सुनार, कमला थोकर, सरिता विक, बमबहादुर सुनारको घर निकुञ्जले भत्काएको पीडित स्थानीय गोपी विकले जानकारी दिएका छन् ।पीडित विकका अनुसार लोथर खोलाको नदी उकास जमिनमा १३ विघा क्षेत्रफलमा २२ जनाको नाममा ०२५ सालमै नापी भएको थियो । मालपोत कार्यालय मकवानपुरबाट फिल्डबुकसमेत उतारिएको उक्त जग्गामा निकुञ्जले दादागिरी शैलीमा घर भत्काएको भन्दै पीडितहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् । मनहरीकै जोगितालमा बसोबास गर्दै आइरहेका रत्न घलान, कुलबहादुर थोकर, बीरबहादुर विश्वकर्मा, चन्द्रबहादुर विकलगायत २२ जनाको नाममा नापी भएको विकले जानकारी दिए । विक दुई दिनदेखि तत्कालीन समयमा नापी भएको र जिल्ला अदालतबाट फिल्डबुक समेत उतारिएको कागजपत्र बोकेर न्यायका लागि प्रदेशदेखि स्थानीय सरकारको ढोकामा पुगिरहेका छन् ।

थाहा अभियान्ता तत्कालीन जनप्रतिनिधि रुपचन्द्र विष्टले जोगितालबाट २२ जनालाई लोथरको नदी उकास जमिनमा स्थानान्तरण गराएको विकको दाबी छ । बस्ती स्थानान्तरण हुँदा कम्तीमा २ कठ्ठा र बढीमा १२ कठ्ठासम्म व्यक्तिको नाममा नापी भएको उनले जानकारी दिए । तर, तत्कालीन भूमि आयोगबाट जग्गा नापी भएपनि उनीहरुसँग लालपूर्जा भने छैन । लालपूर्जा लिने तयारीमा रहेका पीडितहरुले घर बनाइनसक्दै निकुञ्जले भत्काएको हो । ‘२०२५ सालमै नापी भएको र अदालतबाट उतारिएको फिल्डबुकसमेत छ । निकुञ्जले बसोबास गर्नु भनेर भनिसकेको ठाउँमा आएर यसरी घर भत्काउनु अन्याय हो,’ विकले भने, ‘जग्गा नापी नै नभएको, फिल्डबुक नै नभएको भए हामी कमजोर हुन्थ्यौं, पहिला स्थानान्तरण गरेर ल्याउने पनि सरकार नै थियो । अहिले आएर घर बनाउन पाउँदैन, बस्न पाउँदैन् भनेर निकुञ्जले अत्याचार गर्दै यसरी बिचल्ली बनाउन पाउँछ ?,’ विकको प्रश्न छ ।
पीडितहरुको घर नजिकै होटलदेखि पेट्रोल पम्पसँग सञ्चालनमा छन् । होटल, पेट्रोल पम्प भएको जग्गासमेत निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्न आउँछ । तर, निकुञ्जले भने होटल र पेट्रोल पम्पलाई निर्वाध छोडेर घर बसालेर सुःखमय जिन्दगीको खोजीमा रहेका ९ जनाको भर्खर बन्न लागेको घर भत्काएको पीडितहरुको गुनासो छ । पीडितहरुले तीन महिना अघिदेखि घर बनाउन सुरु गरेका थिए । ज्याला मजदुरीमा काम गर्नेहरुले कमाएको पैसा जोगाएर घर बनाएको र धेरै दिन बस्न नपाउँदै भत्काएको विकले सुनाए । उनीहरुले ब्लक, रंगिन जस्तापाता लगाएर रेडिमेड घरहरु नदी उकास जमिनमा निर्माण गरेका थिए ।

यता निकुञ्ज भने मध्यवर्ती क्षेत्रको जग्गा अतिक्रमण भएपछि घरहरु भत्काएको बताउँछ । निकुञ्जका चिफ वार्डेन बलभद्र आचार्यले कानुनविपरित घरहरु बनाइएकोले भत्काएको जानकारी दिए । लोथर खोलाको नदी उकास जमिन निकञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उनले बताए । घरवालाहरुसँग पहिलो चरणमा सोधपुछ गरेको र दोस्रो चरणमा भत्काएको आचार्यको भनाई छ । उनले जग्गाको लालपूर्जा भए÷नभएको सोधपुछ गर्दा कसैले देखाउन नसकेको र मध्यवर्ती क्षेत्रमा जग्गा अतिक्रमण गरेर घर बनाउन नपाइने कानुन भएपछि सेनाले भत्काएको आचार्यले बताएका हुन् । ‘जग्गा नापी भएको वा फिल्डबुक उतारेको भनिए पनि लालपूर्जा अनिवार्य हुनुपर्छ । लालपूर्जा नै नभएको जग्गामा घर बनाउन पाईंदैन’, आचार्यले भने ।

उनले मध्यवर्ती क्षेत्रमा घर बनाएर भूमि आयोगमा जग्गा दाबी गर्ने योजनाअनुुसार उनीहरु अघि बढेको बताउँछन् । ‘यहाँ घर बनाएपछि भूमि आयोगमा जग्गा दाबी गर्न खोजेको देखिन्छ । निकुञ्जको जग्गामा यस्तो गर्नु गैरकानुनी हुन्छ,’ उनले भने । निकुञ्जको जग्गा भूमि आयोगले पनि दर्ता गर्न नसक्ने चिफ वार्डेन आचार्य बताउँछन् । आयोगले जग्गाको लालपूर्जा दिने उद्देश्यले दर्ता गरेपनि गैरकानुनी हुने उनको भनाई छ । मनहरी गाउँपालिका दुई वटा राष्ट्रिय निकुञ्जले छोएको स्थानीय तह हो । मनहरीको पूर्बीदक्षिण क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज र पश्चिम दक्षिण क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज पर्छ । पर्सा निकुञ्ज हेटौंडा उपमहानगरपालिकासम्म फैलिएको छ । हेटौंडा र मनहरीमा हरेक वर्ष निकुञ्जका कारण तनाव उत्पन्न हुने गरेको छ ।

करिब एक महिनाको अन्तरालमा मात्रै पर्साबाट आएको जंगली हात्तीको आक्रमणबाट मनहरीकी एक महिला र बकैया गाउँपालिकाको एक पुरुषको मृत्यु भएको थियो । मनहरीमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीयले निकुञ्जको सुरक्षा पोष्टमा तोडफोड र आगजनी गरेका थिए । मनहरी र हेटौंडाको १२, १३, १४ नम्बर वडाबासीले निकुञ्ज क्षेत्रबाट हटाउन माग गरेका थिए । निकुञ्ज क्षेत्रभित्र स्थानीयले घाँस, दाउरा गर्न जाँदासमेत जोखिम मोलेर जानुपर्ने अवस्था आएको गुनासो गर्छन् । निकुञ्जका कारण विकास क्षेत्रमासमेत प्रभावित बनाइरहेको मनहरी गाउँपालिकाले गुनासो गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*