पुल निर्माणले दुई वडाबासीमा ल्याएको खुशी
हेटौंडा/ मकवानपुरगढी गाउँपालिकाको २ बाट ६ नम्बर वडा पुग्न सामरी खोलाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।
वर्षातको बेला सामरी खोलामा नदीको बहाव बढ्दा एउटै गाउँपालिकाको यी दुई वडाबाट अर्को वडा पुग्न हेटौंडा उपमहानगरपालिका नआइ सम्भव थिएन् । सामरी खोलामा पुल नबन्दा ६ र २ नम्बर वडाबासीले गाउँपालिका केन्द्र पुग्न पनि हेटौंडाकै बाटो प्रयोग गर्नुपथ्र्यो । ‘सामरी खोलामा बाढी आउँदा हामी २ नम्बर वडा पुग्न र गाउँपालिका केन्द्र जान हेटौंडा पुग्नैपर्छ, खोलाबाट पारी जान कुनै उपाय छैन् । अब पुल निर्माण सुरु भएकोले हामीले सहज हुने भयो ।,’ ६ नम्बर वडाका विष्णु सिलवालले भने ।
गाउँपालिकाअध्यक्ष बिदुर हुमागाईंले पुलनिर्माणको शिलान्यास गरेका छन् । संघीय सरकारको १४ करोडको लागतमा मकवापनुरगढी वडा नम्बर २ र ३ को मीनाको सोल्टिमोडबाट ६ नम्बर वडा डुम्रेकुना जोड्ने एकसय २० मिटर लम्बाइको पक्की पुल निर्माण सुरु भएको हो । सम्झौता अनुसार २०७९ साल जेठसम्म पुल निर्माण गरिसक्नु पर्नेछ । पुलनिर्माणको ठेक्का अनक कन्स्ट्रक्सनले पाएको हो ।
६ नम्बर वडाको डुम्रेकुना र २ नम्बर वडाको लामिडाँडा जोड्ने पुल निर्माणले गाउँबासीमा खुशीयाली छाएको गाउँपालिका अध्यक्ष हुमागाईंले बताए । उक्त पुल निर्माणलाई गाउँपालिकाको विकासको महत्वपुर्ण कोषेढुंगाका रुपमा लिन सकिने उनले बताए । पुल नहुँदा दुःख पाउँदै आएका जनताले अब आनन्दको श्वास फेर्न पाएकोमा आफू पनि खुशी भएको उनी बताउँछन् । पुलनिर्माण समयमै सक्न कम्पनीलाई अध्यक्ष हुमागाईंले निर्देशन दिएका छन् ।
गाउँपालिकाको ६ नम्बर वडा तरकारी उत्पादनका लागि हब हो । यहाँ वर्षेनी करोडौंको तरकारी हेटौंडा निर्यात हुन्छ । पुल नबन्दा तरकारी निर्यातमा पनि समस्याहुँदै आएको स्थानीय राजेश चौलागाईंले बताए । अब पुल निर्माणपछि स्थानीयको आर्थिक उपार्जनमा पनि महत्वपूर्ण प्रभाव पर्ने चौलागाईं बताउँछन् ।
मकवानपुरगढीमा स्थानीय सरकार आएपछि मात्रै सबै खाले एक दर्जन पुल निर्माण भइरहेका छन् । सामरी खोलाले गाउँपालिकालाई दुुई भागमा छुट्याएकाले गाउँपालिका केन्द्र जोड्न पक्कीपुल, झोलुङ्गे पुल, स्टिल ब्रिज, साना सवारीसाधन आवतजावत गर्न मिल्ने फलामको पुल निर्माण भइरहेको गाउँपालिकाका योजना शाखा प्र्रमुख प्रकाश न्यौपानेले जानकारी दिए । यस्तै, गाउँपालिकामा र स्ल्याब र कालोपत्रे सडक निर्माणपनि भएका छन् ।







