बागमती सरकारको सामुहिक खेतीको करोडौं लगानी बालुवामा पानी
हेटौंडा-बागमती प्रदेश सरकारले विगतमा सामुहिक खेतीका लागि उपलब्ध गराएको करोडौं लगानी बालुवामा पानी हाले सरह भएको छ । प्रदेशका विभिन्न जिल्लाहरुमा सामुहिक खेतीका लागि भनेर प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगतमा करोडौं रुपैयाँ लगानी गरेको थियो । अन्नबाली, तरकारी खेती, पशुपालन, माछापालन र कृषि पर्यटनको नाममा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि ज्ञान केन्द्र चितवन, कृषि विकास निर्देशनालय हेटौंडा र माडी नगरपालिकासमेतले रकम उपलब्ध गराएका थिए । चितवनको माडीमा कान्तिपुर सामुहिक खेती गर्ने भन्दै २०७५ सालमा बागमती प्रदेश सरकारसहितको सहयोगमा ५ करोड रुपैया भन्दा बढी लगानी भएको हो । तर अहिले त्यहाँ न कुनै खेती छ, न त करोडौं खर्चेर ल्याईएको कृषि सामग्री समेत
बेवारिशे भएका छन् ।
माछा पालन, ४६ वटा होम स्टे र १ सय विगाहामा सामुहिक खेतीका लागि कान्तिपुर सामुहिक खेती समूहलाई रकम उपलब्ध गराइएको थियो । राज्यको करोडौं रकम बालुवामा पानी खनाए झैं भएको छ । सामुहिक खेती गर्न कम्बाइण्ड हार्बेस्टर, ट्रयाक्टर, मिनि ट्रेलर, कल्टि भेटर, कर्नट्रेलर, थ्रेसरलगायतका कृषि उपकरणहरु दिइएको थियो । ती उपकरणहरु अहिले खिया लागेर नष्ट हुने क्रममा पुगेका छन् । पहिलो वर्ष प्रयोगमा ल्याइएका ती उपकरण त्यसपछि सञ्चालन हुन सकेका छैनन् ।पशुपालन गर्ने भनिएकोमा त्यहाँ अहिले सामुहिक पशुपालन छैन । पहिलो वर्ष सामुहिक पशुपालन गरे झैं गरेर सहकारीले रकम भुक्तानी लिएपछि सबै पशुहरु बेचेर पशुपालन नै बन्द गरिएको छ ।
चक्लाबन्दी गरेर सामुहिक रुपमा अन्नबाली र तरकारी खेती गर्ने भनिएकोमा आधाजसो जग्गा बाँझै छ । चक्लाबन्दी गर्ने भनिएको ठाउँ गौचरणमा परिणत हुँदै गएको देखिन्छ । तरकारी खेतीका लागि बनाइएका टनेलहरु हावाले उडाएर बिजोग अवस्थामा छन् । त्यसको मर्मत गर्ने जिम्मा सहकारीको भए पनि मर्मत गरिएको छैन ।करोडौं लगानी डुब्दा पनि स्थानीय सरकार भने बचाउमा लागेको छ । काठको अभाव र समुदायले लगानी गर्न नसक्दा यस्तो अवस्था आएको नगरपालिकाको भनाई छ । माछापालनका लागि २० वटा पोखरी सबै सुकेका छन् । पोखरीका डिलहरु जंगलमा परिणत भइसकेको छ । अहिले आफैआफै खेती गर्न थालेको किसानहरु बताउँछन् । समुदायका तर्फबाट उठाउनु पर्ने रकम समयमा उठाउन नसक्दा काम भनेअनुसार हुन नसकेको नगरपालिकाले बताएको छ । तर खेती बाँझै रहेका, किसानहरुले आ–आफ्नै तरिकाले खेती गरिरहेको कुरामा नगरपालिकाले स्पष्ट जवाफ दिन सकेन ।
प्रदेश सरकारले करोडौं लगानी गरेको सिन्धुलीमा पनि अवस्था उस्तै छ । सिन्धुलीको दुधौली नगरपालिका २ को सामुहिक खेतिमा पनि किसानले छुट्टाछुटै खेती गरेका छन् । १ सय २१ विगाहामा सामुहिक प्रणालीबाट खेति गर्ने भन्दै विभिन्न शीर्षकमा ५ करोड अनुदान दिइएको थियो । नाम मात्रको सामुहिक खेतीमा अहिले सबैले छुट्टाछुटै खेती गरेका छन् । बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख लगानीमा सामुहिक बेमौसमी तरकारी, धान, मकै, गहुँ, दलहन र तेलहन लगाइने योजना बनाइएको थियो । तर अनुदानको रकमबाट लगानी भएका ट्रेक्टरहरु सबै नगरपालिकालाई समूहले जिम्मा लगाउने भएको छ ।
चितवन र सिन्धुली दुवै जिल्लामा बेग्लाबेग्लै मितिमा तत्कालिन कार्यालय प्रमुख रहेका राजन ढकालले आवश्यकता छनौट र योजना गलत गर्नाले सरकारको रकम डुबेको कृषि ज्ञान केन्द्रले स्वीकार गरेको छ । आफूहरु यसलाई सुधार गर्ने कृषि ज्ञान केन्द्रले घुमाउरो जवाफ दिएको छ । सरकारी संयन्त्रले विना योजना राज्य कोषको रकम कसरी डुबाउँछन् भन्ने गतिलो उदाहरण सिन्धुली र चितवनमा देखिएको छ ।







