मनहरी र पदमपोखरीलाई निकुञ्जबाट हटाउन माग

साझाकुरा
२०७९ फाल्गुन १०, बुधबार १३:०६

हेटौंडा- पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाबासीले निकुञ्जबाट हटाउन माग गरेका छन् । निकुञ्जको जंगली हात्तीको आक्रमणका कारण मनहरीकी एक महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयहरुले निकुञ्ज क्षेत्रबाट हटाउन माग गरेका हुन् । निकुञ्जका जनावारहरुले मनहरी र पदमपोखरीका मानवबस्तीहरुमा निरन्तर आतड्ढ मच्चाइरहेको भन्दै बिरोध जनाइरहेका छन् । मनहरी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२, १३ र १४ लाई मानवबस्तीमा रुपान्तरण गर्न स्थानीयले माग गरेका हुन् । यहाँबाट निकुञ्ज हटाएर मानवबस्तीका रुपमा रुपान्तरण गर्न माग गरिएको हो । जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको जिम्मा कसले लिने भन्दै निकुञ्जको नाममा जनधनको क्षति व्यहोर्नु पर्ने अवस्थाबाट मुक्ति चाहिएको स्थानीयको भनाइ छ ।

निकुञ्जकै कारण मानवीय क्षतिमात्र होइन विकासका कामसमेत रोकिएको स्थानीय कुमार पोखरेलले बताए । राज्यबाट विनियोजित विकास बजेट उपभोक्ता समितिबाट कार्य गर्दासमेत १ प्रतिशत कमिशन दिनुपर्ने र नदिए काम गर्न नदिने अवस्था रहेको पोखरेलले आरोप लगाए । जनप्रतिनिधिहरुले जुनसुकै निकायमा पहल गरेर भएपनि यस क्षेत्रबाट निकुञ्ज हटाई जिल्ला वन क्षेत्रमा समाहित गर्न पोखरेलले आग्रह गरे । हेटौंडा–१२ तल्लो रमन्टारमा खानेपानी आयोजनाको लागि बजेट निकासा भएर काम सुरु गर्न खोज्दा पर्सा वन्यजन्तु आरक्षले काम गर्न अनुमति नदिएको उनको गुनासो छ । जसकारण रमन्टार क्षेत्रका बासिन्दा खानेपानीको सुविधाबाट बञ्चित हुनु परेको उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पोखरेलले दुःखेसो गरे ।

सोमबार हात्तीको आक्रमणबाट महिला घाइते भएपछि आक्रोशित स्थानीयको भीडले निकुञ्जको सेक्टर कार्यालयमै आगजनीसहित तोडफोड गरेका थिए । पर्सा राष्ट्रिय निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयमा तोडफोड भएको थियो । मनहरी गाउँपालिकामा विगत एक हप्तादेखि हात्तीले आतड्ढ मच्चाइरहेपछि स्थानीयले निकुञ्जलाई हात्ती नियन्त्रण गर्न आग्रह गरेपनि कुनै सुनुवाई नभएको भन्दै तोडफोडमा उत्रिएका थिए ।आक्रोशित स्थानीयको भीडले कार्यालयको सवारीसाधनमा तोडफोड गर्नुका साथै प्रतिक्षालयमा आगजनी गरेका थिए ।

स्थानीयसमेत रहेका पत्रकार गणेशदर्पण अधिकारीले मान्छे जन्मिँदा र मर्दा माछा अनिवार्य चाहिने राई जातिले दुईवटा माछा मा¥यो भने लगेर थुन्ने काम गरेको र घर बनाउन एक ट्रिप बालुवा ल्यायो भने १५ दिन लगेर ट्याक्टर थन्काइदिने गरेको बताए ।पर्सा वन्यजस्तु आरक्षलाई सरकारले केही वर्षअघिमात्रै पर्सा राष्ट्रिय निकुन्ज बनाएको थियो । बागमती प्रदेशको चितवन, मकवानपुर र मधेश प्रदेशको बारा र पर्सा जिल्लाका केही भागहरु समेटेर पर्सा राष्ट्रिय निकुन्ज फैलिएको छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, जरायो, घोडगधा, बँदेल, गौरीगाई आदि वन्यजस्तु र वनको संरक्षण गर्ने उद्देश्यले यो राष्ट्रिय निकुन्ज स्थापना गरिएको हो । उता, पर्सा राष्ट्रिय निकुञ्जका काउन्सिल अध्यक्ष सीताराम अर्यालले विकासको काममा निकुञ्जले अवरोध नगरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*