मनकामना वनको डढेलो नियन्त्रणमा आएन
हेटौंडा- सुख्खा मौसम र हावाहुरी चल्न सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्ने कार्य पनि सुरु भइसकेको छ । जिल्लाको पश्चिमी क्षेत्रस्थित गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाभित्रकै वन क्षेत्रमा डढेलो लाग्न सुरु भइसकेको हो । हिउँदको मौसम सुरु भएसँगै नयाँ विरुपा पलाउने अन्धविश्वासले पनि डढेलो लगाउने गरिन्छ । तर,
सरकारले भने वन क्षेत्रमा डढेलो नलगाउन निरन्तर आग्रह गरिरहेको छ । मनहरी–७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा केही दिनयता निरन्तर डढेलो लागिरहेको छ । छिमेकमै रहेको नमूना सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहबाट फैलँदै आएको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
मनकामना सामुदायिक वन उपभोक्ता समूहले डढेलो नियन्त्रण गर्न अधिकतम प्रयत्न गरिरहे पनि नसकेको हो । डढेलो नियन्त्रणमा आउन नसकेको समूहका अध्यक्ष सुरेश मुक्तानले बताए । ‘हामी तीन दिनदेखि नियमितरुपमै जंगलमै खटिरहेका छौँ,’ अध्यक्ष मुक्तानले भने । ‘सम्भव भएसम्मका क्षेत्रहरुमा फायरलाइन निर्माण गर्ने र आगोको मुस्लोहरुलाई उपलब्ध स्रोत साधन प्रयोग गरी निभाउने प्रयत्न गरिरहेकै छौँ,’ उनले थपे । फागुन २५ गते ११ जना, फागुन २६ गते १७ जना र फागुन २७ गते शनिबार १९ जनाले निरन्तर जंगलमा लागेको आगो निभाउने प्रयास गरेको उनले बताए । सव डिभिजन कार्यालय मनहरीबाट खटिएको ४ जना अग्नि नियन्त्रकहरुले पनि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई सघाउ पु¥याएको थियो ।







