हेटौंडा क्षेत्रको अवरोध हटाउन प्राधिकरणको ताकेता
हेटौंडा-महत्वपूर्ण विद्युत निर्माण परियोजना मध्येको एक हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीए डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको अवरोध अझै हटेको छैन ।प्रसारण लाइनको अवरोध विगत ६ वर्षदेखि कायमै रहेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ सवस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थिति इनरुवा सबस्टेसनमा जोडिने प्रसारण लाइन १० जिल्ला पार भएर जान्छ । निर्माणाधीन प्रशारण लाइन आयोजनाअन्तर्गत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध कायमै छ ।
प्रसारण लाइनको अवरोध हटाउन नेपाल विद्युत प्राधिकरणले हेटौंडाका जनप्रतिनिधिहरुसँग छलफल गरेको छ । निरन्तर अवरोध भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादव सम्मिलित उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तान, वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालासँग समस्या समाधानका लागि छलफल गरेको हो ।
टोलीले स्थानीयसँगको छलफल र सहमतिमै प्रसारण लाइन निर्माण अगाडि बढाइने हुँदा यसका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिन आग्रह गरेको वडा अध्यक्ष मोक्तानले जानकारी दिए । उनले प्रशारण लाइन बिस्तारको विषय जटिल रहेकाले प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गरिने बताए । साझाकुरासँग कुराकानी गर्दै वडाध्यक्ष मोक्तानले प्रशारण लाइन विस्तार गर्दा स्थानीयलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिइएको बताए । समस्या समाधान गर्न उपमहानगर सकारात्मक भएको भन्दै स्थानीयको माग पनि सम्बोधन हुनुपर्ने मोक्तान बताउँछन् । छलफलमा कार्यकारी निर्देशक घिसिङले देशभित्रको विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि यस प्रसारण लाइन तत्काल निर्माण सम्पन्न गर्नुपर्ने भएको बताएका थिए ।
प्रसारण लाइन आयोजना र स्थानीय बासिन्दा दुवै पक्ष मर्कामा नपर्ने गरी अवरोध हटाउनका लागि पहल गरिदिन घिसिङको आग्रह छ । प्रसारण लाइन बन्न नसकेको अवस्थामा दैनिक चार सयदेखि पाँच सय मेगावाटसम्म विद्युत् खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था आउने र यसबाट प्राधिकरणलाई मात्र नभएर देशलाई नै ठूलो घाटा हुने घिसिङले बताएका थिए । प्रभावितलाई उचित क्षतिपूर्ति दिएर सहमतिमै प्रसारण लाइन निर्माण अगाडि बढाउन तयार रहेको उनको भनाई छ । नगरप्रमुख लामाले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण पनि अगाडि बढ्ने र प्रभावित पनि मर्कामा नपर्ने गरी समस्या समाधानका लागि सहजीकरण गरिने छलफलमा बताएकी थिइन् ।
हेटौंडाको हटिया क्षेत्रमा १४ वटा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ¥याङमा दुईवटा र जियाजोर क्षेत्रमा आठवटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङस्थित सवस्टेसनमा लाइन छिराउन दुईवटा टावर निर्माण गर्नुपर्नेछ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटा घर प्रभावित हुने देखिएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै आएका छन् । हटिया क्षेत्रमा टावर प्याड निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । केही जग्गाधनीले मुआब्जा पनि बुझिसकेका छन् ।
३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ साल माघमा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण ढिला भएको जनाइएको छ । स्थानीय क्षेत्रमा अवरोध खुलाई निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले गरिरहेको निरन्तरको प्रयास पनि सफल हुन सकिरहेको छैन ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभीए प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा मुख्य रुपमा पश्चिमतर्फ विद्युत् पठाउन नसकिएको आयोजनाले जनाएको छ । हाल ढल्केबरबाट पश्चिमतर्फ १३२ केभी प्रसारण लाइन मात्रै छ । प्रसारण लाइन अभावमा ढल्केबर सबस्टेसनमा पर्याप्त विद्युत् पु¥याउन नसक्दा देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यात गर्न र आवश्यक पर्दा आयात गर्न समस्या छ ।
आयोजनाअन्तर्गत नै हेटौंडामा निर्माणाधीन दुईसय २० केभीको सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । हटौंडामै निर्माणाधीन ४०० केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । कुल १७ करोड अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार परियोजनाअन्तर्गत् सुरु गरिएको हो । आयोजनाबाट विश्व बैंक बाहिरिएको छ ।







