हेटौंडामा बैंकविरुद्धको आन्दोलन सकियो

साझाकुरा
२०७९ चैत्र १, बुधबार १०:४५

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विगत सात दिनदेखि जारी बैंकविरुद्धको आन्दोलन तत्काललाई समापन भएको छ । चर्को बैंक व्याजविरुद्धको विरोध कार्यक्रम मंगलबार समापन भएको हो । २१ फागुनदेखि मउवासंघ, निर्माण व्यवसायी संघ, नारायणी यातायातलगायतका थुप्रै व्यवसायिक संघसंस्थाले आन्दोलन सुरु गरेका थिए । फागुन २४ गते बागमती प्रदेशभरका २८ वटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा हेटौंडामा विरोध ¥यालीसहित बुद्धचोकमा विरोध सभा गरिएको थियो । उक्त सभालाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठले सम्बोधन गर्दै चर्को बैंक व्याजको विरोध गरेका थिए । फागुन २५ गते हेटौंडाका विभिन्न बैंकहरुमा एक घण्टा धर्ना दिइएको थियो ।

फागुन २६ गते पनि हेटौंडाका विभिन्न बैंकहरुमा दुई घण्टा धर्ना दिइएको थियो । आन्दोलनको पाँचौ दिन अर्थात फागुन २८ गते बैंकमा नगद जम्मा नगर्न आह्वान सहित बैंकहरुमा धर्ना दिइएको थियो । फागुन २९ गते बैंकिङ कारोवार नगर्न आह्वान गर्दै विभिन्न बैंकहरुमा धर्ना दिइएको मउवा संघले जनाएको छ । फागुन ३० गते हेटौंडाका बैंकहरु बन्द आह्वान गरी विरोधको सात दिनको कार्यक्रम समापन गरिएको मउवा संघका कार्यबाहक अध्यक्ष अनिल अग्रवालले बताए । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले आन्दोलन कार्यक्रमको संयोजन गरेका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अग्रवालले आन्दोलनले अपेक्षा गरेअनुरुप माग पूरा नभएकाले थप आन्दोलन आवश्यक रहेको बताए । देहत्याग गरेका व्यवसायी झलक विक्रम शाहको चिरशान्तिको कामना गर्दै मंगलबार साझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन तथा मौनधारणसहित चर्को बैंक ब्याजको विरुद्धमा सात दिनको विरोध कार्यक्रम पनि समापन गरिएको थियो ।हेटौंडा–९ घर भएका शाहले बैंकले किस्ता तिर्न दबाब दिएर मानसिक तनाव दिएपछि आत्महत्या गरेको जनाइएको छ । समापन कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल र मकवानपुर उद्योग
वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालले चर्को बैंक व्याज र दबाबको कारण व्यवसायी झलक विक्रम शाहले देहत्याग गर्नुपरेको बताए ।

उनीहरुले चर्को बैंक ब्याज विरुद्धको सात दिने विरोध कार्यक्रम सम्पन्न भए पनि आगामी दिनलाई हेरेर थप विरोधका कार्यक्रमहरु आवश्यक हुनसक्ने र त्यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिए । सात दिने विरोध कार्यक्रमका संयोजक तथा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रानाभाटले नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट नेपाल सरकारसंग चर्को बैंकव्याजको विषयमा संवाद भएको र समस्या समाधानको लागि आश्वासन प्राप्त भएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*