ओभरलोड बोकेका टिपर नियन्त्रणमा लिन रास्वपाको माग
हेटौंडा- हेटौंडास्थित शिवम् सिमेन्ट र ऋद्धिसिद्धि सिमेन्ट उद्योगमा चुनढुंगा ओसारपसार गर्ने टिपरहरुले आतंक मच्चाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरक्षा निकायलाई सचेत गराएको छ ।जिल्लाका ग्रमिण भेगदेखि हेटौंडा बजारमा ओभरलोड चुनढुंगा बोकेर सडकमा असुरक्षा बढाउने कार्य टिपरहरुले गरिरहेको भन्दै कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयमा रास्वपा जिल्ला समितिले ध्यानाकर्षण गराएको हो । रास्वपाले मंगलबार बिहान हेटौंडा–११ थानाभ¥याङस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि ओभरलोड बोक्ने टिपरहरु रोक्ने कार्यक्रमसँगै प्रहरीलाई कानुनी कारबाही गर्न दबाब दिएको थियो ।
तर, टिपरहरु निर्वाध रुपमा ओभरलोड बोकेर हिँडिरहेको नियमनकारी निकायले चासो नदिएको भन्दै रास्वपाले जिल्ला प्रशासन र ट्राफिक प्रहरी कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कन्तिलोकपथ अन्तर्गतका सडकहरुमा चुनढुंगा बोकेका टिपरहरुले आफ्नो क्षमता भन्दा पनि बढी ओभरलोड बोकेर हिँडिरहेको रास्वपाले जनाएको छ ।
रास्वपाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई टिपरहरु निर्वाध ओभरलोड बोकेर हिँडिरहेको विषयमा मौखिक जानकारी गराइसकेपछि पनि नियमन नभएको पार्टी जिल्ला सहसंयोजक प्रकाश गौतमले जनाएका छन् । ओभरलोड बोकेका गाडिहरु रोकिने सरोकारवालाहरुको प्रतिबद्धतापछि पनि मंगलबार १० बजे टिपर रोकेर १ बजेपछि पुनः निर्वाध चल्न दिएको रास्वपाले ज्ञापन पत्रमा उल्लेख गरेको छ । रास्वपाले ओभरलोड बोक्ने टिपरलाई तत्काल कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।







