हेटौंडामा प्रदेशस्तरीय सहकारी दिवस मनाउन समिति
हेटौंडा-बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । हेटौंडामा आइतबार भएको सहकारी संघ संस्थाहरुको भेलाले बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको हो । सहकारी दिवस मनाउनको लागि मूल समारोह समितिको प्रमुख सल्लाहकारमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजाल, सल्लाहकारमा बागमती प्रदेश सहकारी माहाशाखाका सहकारी रजिष्ट्रार नारायणप्रसाद ज्ञवाली रहने गरी गठन भएको समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी माहाशाखाका अधिकृत
रोहित पोखरेल रहेका छन् ।
मूल समारोह समितिका सदस्यहरुमा राष्ट्रिय सहकारी माहासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत सहकारी संघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष, सम्पूर्णसञ्चालकहरु, लेखा समिति सदस्यहरु, बागमती प्रदेशका विषयगत सहकारी संघ लिमिटेडका अध्यक्ष र सम्पूर्ण सञ्चालकहरु एवम् बागमती प्रदेशको १२ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष, सञ्चालक, लेखा समिति सदस्यहरु र पूर्वअध्यक्षहरु, बागमती प्रदेशको १३ वटै जिल्लाका विषयगत सहकारी संघका अध्यक्ष, सबै सञ्चालक, लेखा समिति सदस्य तथा व्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा, नेफस्कुन फिल्ड कार्यालय हेटौंडा मूल कार्यक्रममा सहभागी हुने मकवानपुर जिल्लाका स्थानीय पालिका भित्रका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, पालिकास्तरीय समन्वय समितिका संयोजकहरु रहने कार्यालय सचिव गोविन्द दाहालले बताए ।
भेलाले सहकारी दिवसको गतिविधि र कार्यक्रमलाई व्यवस्थित बनाउन समन्वय गर्नका लागि सचिवालयसमेत गठन गरेको छ । सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सहसंयोजक बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण घिमिरे, सदस्य सचिवमा प्रदेश सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, सदस्यहरुमा राष्ट्रिय सहकारी महासंघको बागमती प्रदेश संयोजक डिबि बस्नेत, राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक एवं मकवानपुर जिल्ला सहकारी संघ लिका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध सहकारी संघ लि.का सञ्चालक बिदुर हुमागाई, बागमती प्रदेश सहकारी विकास बोर्डको कार्यालय प्रमुख पुरुषोत्तम मिश्र, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैकंको बागमती प्रदेश संयोजक रामहरि बजगाईलगायत रहेका छन् ।
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत महिनाभर प्रदेशभरका सहकारी संघ संस्थाहरुले विविध कार्यक्रम सहित मनाउने र चैत्र १८ गते बिहान ७ बजे हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम, १९ गते फलफूल बितरण, २० गते भुटनदेवी मावि हेटौंडाको चौरबाट प्रभातफेरी ¥याली गरी प्रवचनसहित सभामा परिणत गरी साँझ दीपावली गरी समापन गरिने संयोजक देवकोटाले बताए । यसवर्ष ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ मूल नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो । नेपालको पहिलो सहकारी चितवनको बखान ऋण सहकारी स्थापना भएको दिन हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइँदै आएको छ ।







